Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीय‘लकडाउन’मा सही व्यवस्थापनको अपेक्षा

‘लकडाउन’मा सही व्यवस्थापनको अपेक्षा


देशमा लकडाउन कायम भएको एक महिना एक हप्ता बढी भएको छ । पछिल्लो समय यो दश दिनको लागि थपियो । त्यसअनुसार हुँदा आउँदो २५ गतेसम्मका लागि त कायमै भयो । यतिबेला नै प्रश्न उठ्छ त्यसपछि के होला ? निश्चय नै लकडाउनको घोषणा गरेर सरकारले कोरोनाको विस्तार हुने अवसरलाई रोकेको हो नै । यसका लागि सरकारले जनताबाट चाहिनेजति समर्थन र सद्भव पनि पायो र पाइरहेको नै छ । नागरिकले यस्तो समर्थन दिइरहेका बेला सरकारचाहिँ उनका प्रति के–कति सहयोगी भयो, यस्तो लामो बन्दका बेला नागरिकमा आइपरेका पीरमर्का फुकाउन सेकेको छ कि छैन वा झन् रुखो भएर प्रकट भैरहेको छ भन्ने प्रश्नहरू जन्मिरहेका छन् । विवरणहरू बताउँछन् सरकारका व्यवहार सकारात्मक भएनन् । पछिल्लो समयको अनुभव हो लकडाउनको म्याद थपिदिएर सरकार त्यसपछिका चुनौतीहरूमा बेखबरजस्तै रह्यो । केही गरिरहेको छजस्तो देखाउन नागरिकमाथि ज्यादती थपिए । कतियप अवस्थामा उनीमाथि अन्याय पनि भएको पाइयो ।

प्रधानमन्त्रीले पछिल्लो समय पत्रकारहरूसँगको विशेष कुराकानीमा भनेका थिए, सरकार आवश्यक जनशक्ति तयार गरेर बसेको छ । यी तयारी तमासा देखाउनका लागि होइन । तर, सरकारले केही गर्न सकेन, तयारी केही भएन, असफल भयो जस्ता प्रचार सही छैन । यो नकरात्मकताको बिम्ब हो । यथार्थ होइन । वास्तवमा विचारहीन र आग्रहपूर्ण ढंगले जेमा पनि विरोध र दूष्प्रचार झूठ र अमर्यादित प्रस्तुति गरिनु एकाध मान्छेको कर्कश धुन हो । यसरी आलोचना गर्नु त्यो उनीहरूको प्रवृत्ति हो । अमर्यादित शैलीमा गरिने आरोपले आरोपकर्ताहरूको सांस्कृतिक स्तर देखाउँछ तर जनताको जीवनरक्षा गर्ने आफ्नो जिम्मेवारीमा सरकार पछि पर्दैन । यसमा सबैको साथ र समर्थन छ । बिजोग दृश्यमा रमाइलो मान्नेभन्दा पनि यसलाई रचनात्मकरूपमा समाधान गर्न लाग्न सकिन्छ । प्रहरीलाई थाहा नदिई एकाएक धादिङको सडकमा केही यात्रु कसरी देखिए ? अनि प्रहरी र सीडीओलाई थाहा नभएको घटनामा त्यहाँ पहिल्यै काठमाडौँदेखि पत्रकार कसरी पुगे ? के यो रहस्यपूर्ण छैन र ?

प्रधानमन्त्रीको यो भनाइ आग्रहीजस्तो देखियो । प्रधानमन्त्री एकातिर भन्ने, सञ्चारमाध्यमले पनि यस्तो स्थितिमा अघिल्लो दिन लिइएको भिडियो भोलिपल्ट देखाउनुभन्दा तत्कालै सूचना दिएर सहयोग गर्न सक्छ । यो भनाइबाट प्रधानमन्त्रीले जानकारीका लागि सहयोगामागेको बुझाउँछ तर अर्कातिरचाहिँ यस्तो चिहिराइदो लाग्ने भाषामा सूचना बटुल्ने व्यक्ति र प्रसारण गर्ने सस्थाहरूलाई गाली गर्ने र अनावश्यक शंका गर्ने काम सँगसँगै भैरहेको छ । यसबाट परिणणम के आयो भने पत्रकारहरू पास देखाएर पनि हिँड्न नपाउने भए । कतिपय ठाउँबट यस्ता विवरणहरू आइरहेका छन् ।

अवस्था यस्तोा छ है भनिँदा प्रधानमन्त्रीबाट नै त्यस्तो शंकास्पद र नकारात्मक कुरा मात्रै देखाएको भनेर आरोप लाग्छ भने वास्तविक अवस्थाका बारेमा नागरिकले कहाँ उजुरी गर्ने भन्ने पश्न उठछ नै । लकडाउनको सबैभन्दा चुनौतीको विषय हो यसको व्यवस्थापन । सबै कुरा बन्द छ र खुल्ने निश्चत समय पनि छैन भने यो अत्यासलाग्दो समयलाई सरकारको सही व्यवस्थापनले मात्र केही हदसम्म सहारा दिन्छ । सरकारले सोच्नुपर्ने र नागरिकलाई मदत गनुपर्ने ठाउँ पनि यही हो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया