Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयप्रेसबारे राष्ट्रपति र प्रधानमन्त्री

प्रेसबारे राष्ट्रपति र प्रधानमन्त्री


नेपालमा किन हो कुन्नि देशको कार्यकारी र पे्रसबीच लामै समयदेखि आरोप प्रत्यारोप चलिरहेको छ । हुन त कार्यकारी र प्रेस भनेका त्यसै पनि दुई धार हुन् । एकले अर्कोलाई सकेसम्म होच्याउननै खोज्छ । तर, पनि सैद्धातिक र व्यावसायिकरूपले यी दुवै पक्षका आ–आफ्नै विशिष्ठता छन् । कार्यकारी देशको पहिलो अंग हो भने प्रेस आफूलाई चौथो अंग मान्छ । कार्यकारीको प्रकृति लुकाउने हुन्छ भने प्रेसको देखाउने, कार्यकारी राज्यको खर्चबाट चल्छ भने प्रेस आफ्नै खर्चमा । यस्ता दर्जनौँ भन्निता रहे पनि आखिरमा यी दुवैलाई दुवै पक्षको आपसी सहयोग चाहिन्छ नै । कामका प्रकृति भिन्न भए पनि निकाय त राज्यका नै हुन् । तर, विगत केही समयदेखि कार्यकारी प्रेसमाथि धेरै नै असहिष्णु भएको हो कि भन्ने महसुस हुनथालेको छ । यति हुँदा पनि फेरि त्यही कार्यकारीको एउटा अंगले प्रेसलाई उत्साह भर्ने र अर्को अंगले हतोत्साहित गर्ने काम करिव–करिव एकै पटक भएको देखिनुचाहिँ बुझिनसक्नु नै भएको छ ।

यो वर्षको अन्तर्राष्ट्रिय प्रेस दिवसका दिन राष्ट्राध्यक्षबाट प्रेसप्रति एउटा प्रकारको धारणा व्यक्त भयो भने कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट त्यसको अघिल्लो दिन अर्कै प्रकारको । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सबै सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्दै भयरहित पत्रकारिताको चर्चा गरिन । उनको आह्वान पनि त्यसतर्फ नै केन्द्रित थियो । उनको भनाइ थियो, यस दिवसले भय र पक्षधरतामुक्त पत्रकारितालाई आत्मसात गर्दै प्रेस जगतलाई मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाहद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा संकल्प पूरा गर्न प्रेरणा दिनेछ भन्ने आशा गरेको छु ।

राष्ट्रपति भण्डारीको यो भनाइ कुनै विज्ञप्तिभन्दा एक ट्वीटबाट आएको हो । माध्यम जे भए पनि त्यसमा के भन्न खोजिएको हो भन्ने कुराले अर्थ राख्छ । प्रेस जगतलाई मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाह गर्नुपर्ने दायित्व प्रेसको हो । प्रेस जगतलाई मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाह गर्न राज्यले के–कस्तो वातावरण बनाएको छ भन्ने पक्ष अलग छ । मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाह गर्नका लागि पत्रकारले चाहेर मात्र पनि हुँदैन । राज्यका कतिपय तत्वहरूले यसलाई प्रभावित पारेका उदाहरण छन् । तर पनि राज्यको एउटा सर्वोच्च अंगबाट यस्तो कामना हुनुलाई सकारात्मक भन्नुपर्छ ।

तर, यो कामना कार्यकारी तहको होइन । यसको दुई दिनअघि कार्यकारी प्रमुख प्रधानमन्त्रीले त्यस्तै एउटा दिवसका अवसरमा प्रेसमाथि जस्तो आरोप लगाए त्यो आफैँमा यतिबेला नेपाली प्रेसले भोग्नुपरेका अवस्थाको एउटा प्रतीकजस्तै माने पनि हुनेजस्तो रह्यो । यो वर्षको श्रमिक दिवसको अवसरमा प्रधानमन्त्रीले गरेका सम्बोधनको एउटा अंश हेरे धेरै कुरा प्रस्ट होला । त्यो सम्बोधनमा भनियो आज नेपालका केही सञ्चार माध्यमहरू र सामाजिक सञ्जालहरूमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरूको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ ।

एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरू गरिनु दुःखद् कुरा हो । आफ्ना स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु । यो सम्बोधनले भन्न खेजेको अर्थात् दिन खोजेका सन्देशले भने प्रेसका लागि भयरहित हुने अवस्था देखाउँदैन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया