Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसांसद अपहरणको कुरा संसद्मा प्रवेश

सांसद अपहरणको कुरा संसद्मा प्रवेश


लकडाउनका बेला सांसदले सांसादलाई अपहरण गरेका भनिएको एउटा विवादास्पद विषयले चालू छैटौँ अधिवेशनको प्रारम्भमै संसद्मा प्रवेश पायो । विपक्षीले त उठाउने नै भए तर यो दिन सत्तापक्षले पनि कुरा के हो भनी सरकारलाई छिटोभन्दा छिटो प्रस्ट पार्न एकप्रकारले निर्देशनजस्तै दिए । यस्तो निर्देशन दिने वा आग्रह गर्ने व्यक्ति थिए सत्तारुढ दलका उपनेता अर्थात् संसद्मा प्रधानमन्त्रीपछिका पहिला व्यक्ति, पदाधिकारी सत्तारुढ दलका संसदीय दलका उपनेता सुवास नेम्वाङ । उनले सांसद अपहरणको बारेमा यथार्थ जानकारी आउनुपर्ने भनी बताएका थिए । त्यसो भन्दै गर्दा उनले जे भने त्यसले यो अपहरण भएको भन्ने नै बुझायो । सांसद अपहरणको कुरा के हो त्यो अब यथार्थ बाहिर आउनै पर्दछ, विश्वास छ, संसद् चल्दाचल्दैको अवस्थामा यथार्थ कुरा आउँछ नै । यथार्थ कुरा आएपछि स्वाभाविकरूपमा नै यो घटनाले एउटा मोड लिनेछ ।

सत्तापक्षले समेत पूरै इङ्कार गर्न नसकेको घटनामा विपक्षले गरेको प्रस्तुति आफैँ प्रस्ट हुन्छ, उसले के भन्यो होला । त्यसै पनि यो घटनामा संसद्अघि पनि विपक्षीहरू एक भएका थिए । त्यसमा सत्तापक्ष जोडजुलुमका साथ यो घटनाको बचाउमा लाग्दालाग्दै पनि छानबिनको तहमा पुग्यो नै । प्रहरीमा उजुरी दर्ता हुनु त्यसको उदाहरण हो । संसद्मा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यो घटनाको आलोचना गरेपछि संसद्मा त्यसदिन अरु सबै विपक्षले त्यसैलाई अनुशरण गरेका थिए । देउवाले सरकारले महामारीसँग लड्न गरेका प्रयासमा साथ दिएको प्रसङ्ग उल्लेख गर्दै त्यसको आडमा आपराधिक काम गरेको भन्ने आरोप लगाए ।

विपक्षीलगायत राजनीतिक दल, सञ्चार माध्यम र समस्त नागरिकसहित सबैले कोरोनाविरुद्धको लडाइँमा एक भएर साथ दिइरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत रहेको भन्ने उनको भनाइलार्ई वास्तवमा नै सरकारी पक्षबाट प्रतिवाद भएको पाइएन । उनका अनुसार एक सांसदको अपहरण र त्यसमा पनि कुनै न कुनै रूपले सरकारको संलग्नता देखिनु अर्को दुर्भाग्यपूर्ण कार्य थियो । यही कुरालार्ई अरु प्रतिपक्षीले पनि उठाए । सांसदको अपहरणमा सत्तारुढ दलका सांसद नै लागेका भन्ने आरोप छ । त्यसमाथि निवर्तमान प्रहरी प्रमुखले पनि यसमा साथ दिएका भन्ने कुराले त यसको योजनाको तहलार्ई थप प्रस्ट बनाउँछ ।

संसद्मा यो विषय प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने तहसम्ममा प्रकट भयो । अपहरण भएका भनिएका सांसदका दलका तर्फबाट बोल्दै डा. बाबुराम भट्टराईले सरकरा दल विभाजन गर्ने र संसद् अपहरण गर्ने काममा रहेकोमा गम्भीर आपत्ति प्रकट गरे । यो एकप्रकारले स्वाभाविक पनि हो । यो अपहरणमा कतै न कतै प्रधानमन्त्रीको संलग्नता जोडिएको छ र त्यसमा प्रधानमन्त्रीबाट जवाफ आएको छैन । त्यसैकारण होला उनले रोगले जीर्ण भएको शरीरलार्ई आराम दिन पनि र यो लोकतन्त्र र प्रधानमन्त्रीको आफ्नै छवि बचाउनका लागि पनि उनले राजीनामा दिनुपर्ने सुझाएका छन् । यो बैठकको वातावरण नै त्यस्तै बन्यो । पहिलो दिनको यो बैठकको संकेत कस्तो देखियो भने सरकारका लागि यो अपहरणको मुद्दा धेरै महंगो पर्नेछ । यदि यसलार्ई सरकारले आत्मसात गरेर सहजरूपमा सुल्टाउनेतिर लागेन भने समस्याको रूपमा बल्झिने निश्चित छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया