Techie
सम्पादकीय

सरकारी अव्यवस्थाले उब्जाएका प्रश्नहरू

यतिबेला कोरोनासँग सम्बन्धित क्वारेन्टाइन र आइसोलेशन शब्द धेरै चर्चामा आएका विषयमा हुन् । सामान्यतया यी भनेका धेरै सम्मानित ठाउँ हुन् । त्यसैकारण होला यी अंगे्रजी नामका यी ठाउँहरू दुर्गम क्षेत्रमा पनि सजिलै उच्चारण हुन थालेका छन् । तर, यसको अर्थ भने गलत लाग्न थालेको छ । क्वारेन्टाइन भनेको कडाखालको हिरासत र आइसोलेशन भनेको त्यहाँ पुगेपछि मान्छे फर्किएर नआउने ठाउँजस्तोमा परिणत हुँदै छन् । जब कि यी दुवै ठाउँ जीवनसँग जोडिएका छन् । क्वारेन्टाइन पनि एकप्रकारको उपचार कक्ष नै हो भने आइसोलेशन त आईसीयूजस्तै । तर, त्यसलाई स्वीकार्न नागरिक तयार भएका छैनन् । यो यहीरूपमा रह्यो भने डरलाग्दो अवस्था आउनेछ । त्यसका संकेतहरू प्रकट भैरहेका छन्, पूर्व–पश्चिम सबैतिर । यो बेला यी संस्था अपवादमा यस्तो चर्चामा आउनुपर्नेमा उल्टो दूरावस्थामा नरहेका भनिएका संस्थाहरू अपवादमै होलान् ।

पछिल्लो पटक नेपालगञ्ज देशभरिकै एउटा उदाहरण भएको छ । यहाँको क्वारेन्टाइनमा एकजना युवकको मृत्यु भयो । आइएसोलेशनमा यस्तो मृत्यु भएको भए त्यति डरलाग्दो हुने थिएन होला । आइसोलेशन बिरामी पुग्ने अन्तिम ठाउँ हो । तर, क्वारेन्टाइन त त्यस्तो होइन । यी युवकको मुत्युकाबारे विपक्षी दलले केही प्रश्न खडा गरेका छन् । त्यसको जवाफ सरकारले छिटोभन्दा छिटो दिन पर्छ । त्यो प्रश्नमा ती युवकले अघिल्लो दिनदेखि नै पटक–पटक बान्ता गरेको, सास फेर्न कठिनाइ भएको, ज्वरो आएको विवरण थाहा हुँदाहुँदै क्वारेन्टाइनमा नियमित निगरानी राख्नुपर्ने राज्यले तिनलाई अघिल्लो दिन नै अस्पताल पु-याउनुपर्ने सामान्य दायित्व पनि किन निर्वाह गरेन ?

क्वारेन्टाइनको कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, तर उनी शनिबार राति एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स किन उपलब्ध भएन ? एम्बुलेन्स उपलब्ध नहुनुमा चालकको असुरक्षित मनोविज्ञानको भूमिका हो भने अत्यावश्यक सुरक्षा सामग्री र जरुरी मानवीय प्रशिक्षण साथ एम्बुलेन्स चालकहरूलाई किन सजग र सतर्क अवस्थामा राख्न सकिएन ? देशभर नै यो समस्या किन निरन्तर देखिएको छ ? आइतबार बिहान ७ बज्नुअघि उनको मृत्यु भएपछि उनको लास क्वारेन्टाइन बनाइएको विद्यालयको चौरमा अलपत्र स्थितिमा किन दिनभर राखियो ? अमानवीय ढंगले ती युवाको लास दिनभर घाममा सुकाएर राख्नुभन्दा सुरक्षित व्यवस्थापनका साथ उठाएर उपयुक्त ठाउँमा राख्ने मानवीय र जिम्मेवार सोच नदेखिनुको दोषी को हुन् ?

नेपालगञ्जमा प्रकटभएको लापरबाहीको यो नमुना देशैभरि फैलिएको अवस्था छ । विपक्षले सरकारसामु राखेको यो प्रश्न– नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्दासम्म पनि क्वारेन्टाइनको यस्तो अव्यवस्थित स्थितिदेखि परिक्षण ढिलाइसम्म र स्वास्थ सामग्री अभावदेखि फिल्डमा चुस्त कार्यसम्पादन गर्ने टिम संयोजनसम्ममा प्राय धेरै ठाउँमा गम्भीर लापरबाही रहेकोे बिचित्रताले आगामी दिनको कस्तो चित्रको संकेत गर्दै छ भन्ने प्रश्न सामान्य होइन । यो ठाउँमा उदाहरणका लागि प्रस्तुत गरिएका यी प्रश्न विपक्षका मात्र होइनन् । यतिबेला आम जनतामा नै व्यक्त–अव्यक्तरूपमा यी नै प्रश्न खडा भएका छन्, जसको उत्तर सरकारले दिनैपर्छ । मानिसको जीवनसँग जोडिएको हुँदा अपेक्षा हो यसको उत्तर छिटो आओस् ।

तपाइको प्रतिकृया

यो पनि पढनुहोस