Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोना कहरमा सरकारको दाबी र अवस्था

कोरोना कहरमा सरकारको दाबी र अवस्था


‘कोभिड–१९ को संक्रमण प्रारम्भ भएलगत्तै नेपाल सरकारले अवलम्बन गरेको स्पष्ट रणनीति, समन्वयात्मक कार्यशैली एवं सबै नेपालीको एकता, धैर्य र सहयोगले अहिलेसम्म यस रोगको संक्रमणबाट नेपालभित्र सबैको जीवन रक्षा गर्न हामी सफल भएका छौँ । संक्रमण थप फैलिन नदिन र यस महामारीमाथि विजय प्राप्त गर्न आगामी दिनमा अझ बढी सतर्कता, समन्वय र एकता आवश्यक भएकोले एक ढिक्का भएर दृढताका साथ लाग्न म सबैमा आह्वान गर्दछु ।’ जेठ २ मा राष्ट्रपतिबाट प्रस्तुत भएको सरकारको आउँदो वर्षको नीति तथा कार्यक्रममा मान्छेलाई मर्न नदिएको भन्दै सरकराले गर्वका साथ आफूलाई प्रस्तुत गरेको विवरणको एउटा अंश हो, यो । वास्तवमा नै ‘नेपाल सरकारले अवलम्बन गरेको स्पष्ट रणनीति, समन्वयात्मक कार्यशैली’ले यहाँ भनिएजस्तो यो कोरोना ‘रोगको संक्रमणबाट नेपालभित्र सबैको जीवन रक्षा गन’ सरकार सफल भएको थियो भने यो नेपालका लागि मात्र होइन संसारकै लागि एउटा अद्भूत नमुना हुने थियो ।

सरकारले नेपालभित्र सबैको जीवन रक्षा गर्न हामी सफल भएका छौँ  भनी घोषणा गरको दिन नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्न चार÷पाँच दिन मात्र बाँकी रहेको अवस्था हो । सामान्यरूपले सरकारको यो भाषण सुन्दा सरकारले यो समयमा कुनै नयाँ चामत्कारिक काम गरेछजस्तो लाग्छ । तर, यता वस्तुस्थिति भने भिन्न छ । यो नीति र कार्यक्रम आइरहेको बेला अर्थात् त्यही क्षणमा एक जना महिलाले कोरोना संक्रमणबाट जीवन गुमाइसकेको अवस्था थियो । उनको मृत्यु बिहीबार भएको थियो भने यो कार्यक्रम शुक्रबार घोषणा भएको हो ।

यो कार्यक्रम आएको भोलिपल्ट अर्का एक जनाको पनि मृत्यु भयो । त्यो मृत्यु त झनै डरलाग्दै थियो । संक्रमण प्रमाणित भएर पनि उनलाई उपचारका लागि कतै नलगी विश्रामस्थलजस्तो क्वारेन्टाइनमै उनको मुत्यु भयो । सरकारले दाबी गरेको कोभिड–१९ को संक्रमण प्रारम्भ भएलगत्तै नेपाल सरकारले अवलम्बन गरेको स्पष्ट रणनीति, समन्वयात्मक कार्यशैलीका कारण मान्छे नमरेका थिए भने यो मृत्यु कसरी भयो ? प्रश्न सामान्य छैन । यो पङ्क्ति लेखिरहेको बेला तेस्रो मृत्यु भएको छ । सरकराले जोखिमपूर्ण परिस्थितिमा अग्रपङ्क्तिमा रहेर सेवा गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकलगायत सम्पूर्ण राष्ट्रसेवकको उच्च प्रशंसा र अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन योगदान गर्ने सबै व्यक्ति तथा संघसंस्थालाई धन्यवाद दिन चाहन्छु  भनिरहेकै बेला त्यस्ता सामग्रीको अभावमा जोखिमपूर्ण परिस्थितिमा अग्रपङ्क्तिमा रहेर सेवा गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकलगायत कोही पनि जोगिन सकेनन् ।

यसबेला सरकारको कदम सर्वसाधारणले स्वीकारेको अवस्था छैन । जताततै बल प्रयोग भैरहेको छ । कारण हो देशमा दुई थरी मान्छे देखिनु र त्यसका कारण जनतामा सरकारप्रति आक्रोश प्रकट हुनु । यस्तोमा सरकारले भनेको कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले चालेको कदममा पूर्ण साथ दिई सहयोग गर्नुभएको भन्ने भनाई पनि आफैँमा सन्देहमा पर्छ । कम्तीमा कोरोनाका सन्दर्भमा आम नागरिकमा सरकारप्रति हार्दिकता छैन । अबको आवश्यकता हो सरकारले त्यस्तो हार्दिकता उब्जने काम गरोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया