Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसंक्रमण विस्तारको कल्पनातीत अवस्था

संक्रमण विस्तारको कल्पनातीत अवस्था


लकडाउनको दुई महिना पुग्दा नपुग्दै कोरोनाको महामारी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै फैलियो । झापाको एउटा सीमामा रहेको गाउँमा त्यस भेगको सबैभन्दा बढी संक्रमितको संख्या छ । भर्खरै कन्चनपुरबाट अर्को नाका खुल्यो । यसबाट कतिजना आउने हुन् अनुमान गर्न पनि नसकिने अवस्था छ । पहाडभन्दा तारई क्षेत्र यतिबेला सबैभन्दा जोखिममा रहेको पाइयोे । भारततर्फका श्रमिकहरू आफ्नो देश फर्कन खोजे । यो समस्या नेपालको मात्रै होइन । भारतमा पनि एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने क्रम तीव्र नै छ । त्यसलाई कसैले रोक्न सकेको अवस्था छैन । त्यस्तोमा नेपालीहरू आफ्नो देश आए भनेर अन्यथा ठान्ने अवस्था पनि हुँदैन । आफ्ना नागरिकहरू जुनसुकै बेला आफ्नो देशमा आउँछन् नै, खाँचो हो उचित व्यवस्थापनको । सवाल हो, त्यस्तो व्यवस्थापन भयो कि भएन ।

भारतमा रेलमार्गमार्फत श्रमिकहरूलाई आफ्नो घर पठाउने अभियान सुरु भएपछि खासगरी पश्चिमी भागमा त्यस्ता नागरिकको भेल नै आयो । नेपालको व्यवस्थापनलाई यसले अप्ठ्यारो पारेको होला तर यो अस्वाभाविकचाहिँ होइन । भारतकै एउटा प्रदेशको नागरिक अर्को प्रदेशमा टिक्न सकेको नदेखिएको अवस्थामा त्यो ठाउँमा नेपाली कसरी गुजारा गरिरहेको होला भन्ने अनुमान गरेर त्यसको व्यवस्थापन गर्नुपर्ने थियो । त्यसो भएन र यतिबेला भन्न थालिएको छ, सम्हाल्नै कठिन हुने अवस्था आयो । संसारभरीमा नै नेपालमा कोरोना ढिलो गरी आएको थियो । यो भनेको तयारीको मौका हो तर मौका गुमाइएको जस्तो देखियो समग्र मुलुकमै र त्यही कुरा पश्चिमी क्षेत्रमा दोहोरिएको अवस्था छ ।

खासगरी पश्चिममा एक दिनमा दुईदेखि पाँच हजारका दरले मानिसहरू आइरहेका छन् । त्यसलाई सरकराले पहिले बलपूर्वक रोकेर संकट खडा गरको थियो । पहिले नै आएका मान्छेलाई आफ्नो देशमा प्रवेश गराएर देशभित्र नै जे गर्नुपर्ने हो सो गर्नुपर्ने थियो । तर, त्यस्तो भएन । कतिसम्म भने आफैँले बनाएको बनाएको कार्यतालिकाअनुसारको काम नहुँदा पनि वास्ता गरिएन । जस्तो क्वारेन्टाइन व्यवस्थापन गर्न बनाइएको मापदण्डको प्रस्तावनामा शंकास्पद व्यक्तिलाई कम्तीमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा सुरक्षित तथा सुव्यवस्थित तरिकाले राखी समाजलाई सुरक्षित राख्न मापदण्ड तयार गरिएको छ । सरकारसँग नै सोधौं यसको पालना भएको छ त ? अपवादमा त्यस्तो पालना नभएको हुनुपर्नेमा पालना भएको चाहिँ अपवादमा परेको अवस्था छ ।

यतिखेर विभिन्न रिपोर्टमा आइरहेका छन्, समजलाई सुरक्षा दिने भनिएका क्वारेन्टाइन नै संक्रमण विस्तारका प्रमुख कारक बन्दै छ । त्यसको उदाहरण कायम भैसकेको छ । सरकारले पनि यस्ता रिपोर्ट हेरे हुन्छ । समाचारमा भनिएको छ, नेपालमा अहिलेसम्मकै धेरै संक्रमित भएको बाँकेको नरैनापुर गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गर्दै प्रधानमन्त्री कार्यालयलाई बोधार्थ पठायो, स्थिति नियन्त्रणबाहिर जानेजस्तो देखियो । गाउँपालिकाले नै भनेको छ क्वारेन्टाइनबाट समुदायमा संक्रमण फैलिने खतरा देखियो । पत्र लेखिँदा यो गाउँपालिकामा आठ सय जना क्वारेन्टाइनमा थिए । गाउँपालिकाका प्रशासकीय अधिकृत नै स्थिति डरलाग्दो रहेको बताइरहेका छन् । यो विवरण लकडाउनको दुई महिना नाघेको हप्ताको एक दिनको हो । यसले नै बताउँछ कि संक्रमण विस्तारको कुनै अनुमान नै भएन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया