Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयगभर्नरको निर्लज्जता

गभर्नरको निर्लज्जता


काठमाडौं । एउटा गाउँ वा नगरपालिकाका कार्यकारी अधिकृतले कार्यालय सहयोगी महिलामाथि दुव्र्यवहार गर्दा सम्बन्धित गाउँ वा नगरपालिकाका प्रमुखले ती कार्यकारी अधिकृतमाथि कडा कारबाही गरेका समाचारहरू पत्रपत्रिकामा आइरहेका हुन्छन् । देशमा सात सय त्रिपन्न वटा पालिकाहरू छन् । तीमध्ये कतै न कतै यस्ता घटना भइरहेका हुँदारहेछन् । तर पालिका प्रमुखले त्यस्ता पुरुष कर्मचारीमाथि कारबाही गर्दारहेछन् । समाचार विवरणहरूले त्यसै भन्छन् । अझ महिलामाथि पुरुषबाट हुने अभद्र व्यवहारको त यौन दुव्र्यवहारअन्तर्गत छानविन भएर सम्बन्धित जेल समेत परेका उदाहरण प्रशस्त भेटिन्छन् । यहाँ उल्लेख भएको सन्दर्भ केन्द्रीय बैंकका एक उच्चस्तरीय महिला अधिकृतले पुरुष कर्मचारीबाट उक्त संस्थाले नै आयोजना गरेको सामूहिक भोजको कार्यक्रममा सबैले देख्नेगरी दुव्र्यवहार झेल्नुपरेको घटना र त्यो बितेको दुई महिनादेखि सामसुम भइरहेको अवस्था छ । यता ती महिला अधिकृत भने खुलारूपमा भएको यस्तो दुव्र्यवहारबाट सार्वजनिक ठाउँमा मुख देखाउन समेत नसक्ने गरी मानसिक तनाव झेलिरहेकी भन्ने सामाचारहरू आइरहेका छन् । महिला अधिकृतमाथि पुरुष कर्मचारीको यस्तो दुव्र्यवहार गभर्नरकै उपस्थितिमा भएको भन्ने कुरा आएका छन् । यस्तो दुव्र्यवहारका बारेमा त्यो संस्था अर्थात् राष्ट्र बैंक भने मौन नै छ ।

विवरणअनुसार तनाव व्यवस्थापन गर्न भनी अधिकृत र विभागीय प्रमुखसहितको टोलीलाई तनाव व्यवस्थापन गर्न भनी नगरकोटको एउटा महँगो होटलमा दुई दिने मदिरा महतिको आवासीय भोजभतेरको कार्यक्रम आयोजना गरेको थियो । त्यसमा गभर्नर सपरिवार दुवै दिन सहभागी थिए । कार्यक्रमको अन्तिम दिन राष्ट्र बैंककै एक महिला अधिकारीमाथि उनकै मातहतका एक पुरुष कर्मचारीले अँगालो हाल्न पुगे । अन्यत्र हो भने यसलाई महिलामाथि यौन दुर्व्यवहार भनिन्छ । बोले र वा कुनै ईशाराले यौनजन्य संकेत गरिँदा मात्रै पनि दुर्व्यवहार गरेको मानिन्छ भने यहाँ त अँगालो नै हाल्ने काम भएको छ । यस्तो दुर्व्यवहारको करिब डेढ महिना बितिसक्दा पनि उक्त घटनाको छानबिन र दोषीमाथि कारबाही हुन संकेत समेत देखिएन । घटना विवरण त सार्वजनिक भयो तर छानबिन र कारबाहीको जानकारी भने बाहिर आएको छैन । स्वयम् गभर्नर नै उपस्थित रहेको कार्यक्रममा यस्तो घटना भएको र यतिलामो समयसम्म त्यसको छानबिन समेत नभएकाले यसलाई लुकाउन छिपाउन उनकै भूमिका रहेको भन्ने अड्कल काटिनु स्वाभाविक नै हो । गभर्नरले चाहेका भए त्यसैदिन आफूभन्दा मास्लो तहका, त्यसमाथि महिला कर्मचारीप्रति गरिएको यस्तो लज्जाजनक व्यवहार देखाउने ती पुरुष कर्मचारीलाई त्यसैदिन प्रहरीको जिम्मा लगाउन सक्थे होलान्  । आफू मातहतका कर्मचारीको मानमर्यादाको रक्षा गर्ने दायित्व सम्बन्धित कार्यालयका प्रमुखकै हुन्छ । गभर्नरले कम्तीमा यो घटनामा अहिलेसम्म त्यस्तो दायित्व पूरा गरेका देखिएन ।

केन्द्रीय बैंकका कर्मचारीको जमघटमा पुरुष कर्मचारीले महिला कर्मचारीलाई गलत नियत राखेर अँगालो मारिएको काम सुन्दैमा पनि लाज मान्नुपर्ने हुन्छ । त्यहाँ उपस्थित रहेकाहरूले या घटनालाई कसरी लिए होलान् भन्ने त छँदैछ । त्यसदिन यस्तो दृश्य बैंकका सबै उच्च अधिकारीहरूले पनि हेरे । गभर्नर पनि त्यसैभित्र पर्छन् । गभर्नर नै रमिते भएपछि डेपुटी गभर्नरहरूको त कुरै गर्नुपरेन । यसले नेपाल राष्ट्र बैंकको प्रशासन कस्तो रहेछ भन्ने पनि देखाउँछ । सबैभन्दा बढी अनुशासन हुनुपर्ने अपेक्षा गरिएको संस्था हो, राष्ट्र बैंक । अब यो काण्ड यो बैंकभित्रको मात्रै छानबिनले पुग्दैन । अब राज्यले नै अग्रसर भएर घटना के हो, कसरी भयो र दोषी कोहो भन्ने छुटिनुपर्छ । गभर्नर रमिते भएको यस्तो उच्छृङ्खल र अश्लील घटनाको आन्तरिक छानबिनले सत्यतथ्य ल्याउन सक्तैन ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया