Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयभौतिक पूर्वाधारमा नयाँ अभ्यास

भौतिक पूर्वाधारमा नयाँ अभ्यास


लामो समयदेखि अन्यौलमा रहेका देशको विकास निर्माणको कामसँग सम्बन्धित कानुनहरूले एउटा निकास पाउने अवस्था देखियो । जसलाई यो क्षेत्रका व्यवसायीहरूले सकारात्क रूपमा लिएका छन् । देशमा कोरोनाको कहरले ठप्प भएको विकास निर्माणको कामले यो कहर सकिएपछि नयाँ गतिबाट प्रगति हुन जरुरी हुन्छ । त्यसका लागि यतिबेला कार्यस्थलमा भौतिकरूपले ढुक्क भएर काम गर्ने अवस्था छैन । तर जुनबेला त्यो अवस्था आउँछ त्यस्तो बेला यता नियम कानुन नै बाधक भए भने त्यसले सरकारले अपेक्षा गरको वा आफ्नो मूल लक्ष बनाएको ‘समृद्ध नेपाल’को यात्रामा नै अवरोध पु-याउने हुन्छ ।

यसैकारण होला भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले निर्माण व्यवसाय ऐन र सार्वजनिक खरिद ऐनकाबारे नेपाल निर्माण व्यवसायी महासंघले माग गरेअनुसार नै हुनेगरी सँगसँगै संसोधनका लागि पहल गर्नेतर्फ आफू लागिपरेको जानकारी दिएका छन् । यो भनेको वास्तवमा नै लकडाउनका बेला नीतिगत रूपले भौतिक कामका लागि तयार भएर बस्नेतर्फको एउटा प्रयास हुनुपर्छ । जसले पछि स्थलमा काम गर्दा आइपरेका व्यवधान हटाउन सहज होस् ।

काम गर्नेबेला कानुनले बाधा नपारुन् भन्दै नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधि मण्डलले सरकरको ध्यान आकृष्ट गर्दै आएको थियो । त्यही क्रममा मन्त्रीले यी दुई ऐन एकसाथ संशोधनका लागि पहल गर्ने बताएका हुन् मन्त्रीका अनुसार व्यवसायीहरूका जायज मागप्रति सरकार तत्परताका साथ लागिपरेको अवस्था छ र यसबीचमा अरु व्यवधान आए भने पनि तत्कालै हटाउन सरकार तयार भएर बसेको छ । यो प्रयासलाई सकारात्मक मान्नुपर्छ । कोरोना महामारीका कारण देश लकडाउनमा रहेको र त्यसका कारण आवागमन अवरुद्ध भएको आवस्थामा भौतिक पूर्वाधारका कामले स्थलगतरूपमा अपेक्षाकृत गतिपाउँदैन । यद्यपि यो बीचमा लकडाउन भए पनि निर्माणका काम चलिरहेका विवरणहरू आइरहकै थिए । तर ती काम जुन गतिमा हुनुपर्ने हो त्यसमा कठिनाइ परे नै । यी स्थलगत कामका कुरा हुन् । नीति निर्माणमा चाहिँ यो लकडाउनले असर पार्दैन नै ।

यस्तोबेला जुन काम गर्न उपयुक्त हुन्छ त्यो काम सम्पन्न गर्न लागिएको भन्ने जानकारी आफैँमा अनुकरणीय हो । जो सबै निकायका लागि यसले एउटा शिक्षा दिन्छ । महासंघको प्रतिनिधिमण्डलले कोभिड–१९ ले निर्माण उद्योगमा पारेको असर र त्यसको समाधानको उपायसहित आर्थिक वर्ष २०७७–०७८ को बजेटले सम्बोधन गर्न नसकेका व्यवसायीहरूको मागका बारेमा जानकारी गराएको बताइएको छ अर्थात् सरकार र सम्बन्धित क्षेत्र यो परिस्थितिको समन्वयात्मकरूपले समाधान गर्न चाहन्छन् ।

आर्थिक वर्ष २०७७/७८ को बजेटले भौतिक पूर्वाधारका निर्माणाधीन र अधुरा आयोजनाहरूलाई निरन्तरता दिएको अवस्था छ जसलाई निर्माण व्यवसायीहरूले आफ्नो संस्था महासंघबाट नै सकारात्मक रूपमा लिएको अवस्था प्रकट भैसकेको छ । बजेटको आकार नै घटेका कारण चालू आर्थिक वर्षको तुलनामा आगामी वर्ष पूर्वाधारको क्षेत्रमा बजेट विनियोज केही कम भएको अवस्था हो । यी सबैका बावजूद पनि बजेटमा उल्लेख भएबमोजिम सार्वजनिक खरिद ऐनमा समसामयिक संशोधन गरियो भने यसले विकास निर्माणमा सकारात्मक प्रभाव पार्छ र कानुन निर्माणमा सरोकारवालाहरूको सहभागिता जनाइयो भने त्यसले सम्वन्धित काममा अपनत्व ल्याउँछ । सार्वजनिक निर्माणमा सबैभन्दा समस्याको विषय हो समयमा काम सम्पन्न नहुनु । यसमा विगतदेखि नै एकले अर्कोलाई आरोप लगाउँदै आइरहेका पाइन्छ । नियमकानुन समेत सरोकारवालासँग एक–अर्काप्रति सद्भावका साथ निर्माण भयो भने यसले एक–अर्कालाई दोष दिएर उम्कन खोज्ने प्रवृत्तिको अन्त्य गराउन वातावरण निर्माण गर्नेछ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया