उत्तरपुस्तिका जाँचकीको जाँच कसले गर्ने ?
काठमाडौँ । यस पटक एसईईका कुल परीक्षार्थीमध्ये साढे ५२ प्रतिशत अर्थात् साढे दुई लाखको संख्याले त्यसभन्दामाथि जानै नपाउने परिणाम देखिएपछि यो देशव्यापी बहसको विषय बन्यो । ती विद्यार्थी र उनका अभिभावकको १०÷१२ वर्षको लगानी खेर मात्रै गएन । यसभन्दामाथि पढ्नै नपाइने अवस्थाले दुई÷तीन लाख विद्यार्थीको जीवन नै बर्बाद भएको अवस्था थियो यो । हद पनि कतिसम्म भने पहिले सरकारले तीनमध्येका ठूलो संख्यालाई मौका परीक्षाबाट समेत बञ्चित गराउन खोजेको थियो तर पछि त्यसमा भने सच्याइयो । शिक्षाको प्रारम्भिक तहमा नै यति ठूलो दुर्घटना आइपर्दा शिक्षाका व्यवस्थापकहरू भनिएका कुनै तहका कसैले पनि जिम्मेवारी लिइएको देखिएन भने त्यस्तो जिम्मेवारी दिलाउने अभ्यास भएको पनि पाइएन । यही क्रममा पछिल्लो पटक सम्बन्धित निकायबाट एउटा अर्को ठूलो लापरबाही भएको देखियो । त्यो हो उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गर्दा विद्यार्थीलाई फेल गराइको अवस्था । उत्तरपुस्तिका रहेको अंक उचितरूपले नजोडिदिँदा ठूलो संख्याका विद्यार्थी फेल भएका रहेछन् । भर्खर हुँदैरहेको यस्तो माध्यमिक शिक्षा परीक्षाको उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण र कम्युटरमा नम्बर राख्दा त्रुटि भएका कारण ठूलो संख्याका विद्यार्थी पास हुनुपर्नेमा फेल भएको देखियो ।
सम्बन्धित निकायको यस्तो त्रुटि सामान्य होइन । एउटा उत्तरपुस्तिकामा एउटा विद्यार्थीको मात्र होइन उसको परिवारको समेत जीवन जोडिएको हुन्छ । यो परीक्षामा असफल भएको परिणाम आउँदा विद्यार्थीले प्रत्येक वर्ष आत्महत्या गरेको उदाहरण छन् । यो वर्ष पनि तीनजना विद्यार्थीले असफल भएको भन्दै जीवननै समाप्त गरे । यस्तो संवेदनशील विषयमा खेलवाड सामान्य विषय होइन । एसईई राष्ट्रिय परीक्षा बोर्डमा पुनर्योगका लागि योपटक पुनर्योगका लागि १९ हजारको आवेदन परेको थियो । यसको अर्थ हो यो संख्याका विद्यार्थीहरूले सम्बन्धित सरकारी निकायबाटै आफूलाई असफल गराइएको महसुस गरेका रहेछन् । यीमध्ये अहिलेसम्म चार हजार दुई सय ९७ को मात्र पुनर्योग नतिजा आयो । १४ हजार सात सय तीनजनाको पुनर्योग हुन बाँकी नै छ । पुनर्योगको नतिजा प्रकाशित भएका चार हजार दुई सय ९७ जनामध्ये दुई सय ७५ को नतिजा फेरियो अर्थात् उनीहरूले प्राप्तगरेको अंक सहीरूपले नजोडिँदा उनीहरू फेल भएका रहेछन् । फेल भएका भनिएकामध्येबाट अहिलेसम्मको नतिजामा छ दशमलव ३९ प्रतिशत विद्यार्थीले उच्चग्रेड पाएको पाइयो भने अब कतै पनि पढ्न नपाउने भनी थन्क्याइएकामध्ये सयको हाराहारी संख्या पास भएका पाइयो । सम्बन्धित निकायबाट भएको यस्तो गलत जोड घटाउले नतिजा नै फरक पार्ने काम सामान्य त्रुटि होइन । यस्तो जोडमा एउटा उत्तरपुस्तिकामा पनि हुनुहुन्न थियो ।
एक जना राष्ट्रिय परीक्षा बोर्डका पूर्वसदस्य अनुसार शिक्षकले उत्तरपुस्तिका परीक्षणमा लापरबाही गर्दा विद्यार्थी मारमा परेको अवस्था हो यो । नतिजामा यति धेरै त्रुटि देखिनुले शिक्षक, परीक्षा बोर्डका कर्मचारी र पदाधिकारी विद्यार्थीको भविष्यप्रति संवेदनशील भएनन् । एसईई नतिजा प्रकाशन अगावै चारवटा चरण पार गर्नुपर्छ । पहिला परीक्षकले उत्तरपुस्तिका जाँच गरी नम्बर दिन्छन् । त्यसपछि प्रधान परीक्षक वा सम्परीक्षकले उत्तरपुस्तिका जाँच गर्छन् । त्यसपछि बोर्डका कर्मचारीले मार्क स्लिपबाट कम्प्युटरमा नम्बर इन्ट्री गर्छन् । अन्तिममा बोर्डका सदस्यले हस्ताक्षर गरी नतिजा प्रकाशित हुन्छ । तर नतिजामा देखिएको त्रुटि हेर्दा विद्यार्थीको भविष्यमाथि कोही पनि संवेदनशील भएको पाइएन । पास हुने विद्यार्थी फेल हुन गए । मुख्य पक्ष बोर्ड हो । नतिजा तयार भएपछि त्रुटि केलाएर मात्रै प्रकाशित गर्नुपर्नेमा छिटो नतिजा प्रकाशनको होडबाजीले बिगरयो ।
यस्तो गलत काम भएको अवस्थामा कोही पनि जवाफदेही नहुनु अर्थात् दण्डित नहुनु गम्भीर विषय हो । विगतमा सधैँ यस्तै रहेका छन् । आउँदा दिन यस्तो गल्ती नहुनका लागि उत्तरपुस्तिकाको नम्बरमाथि खेलबाड गर्नेविरुद्ध कडा कारबाही हुनुपर्छ । निकायहरूको ध्यान जाओस् ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान
- मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु
- बजार परिसुचक २६ सय ३७ बिन्दुमा
- उद्योगको विरोधबीच अमेरिकाले चिनियाँ वस्तुमा बढायो कर
- जापानमा गर्मी
- बंगलादेशमा नियमित विद्युत् आपूर्तिमा समस्या
- पाकिस्तानलाई एडीबीको ऋण सहयोग
- रूस र युक्रेनबीच २०६ युद्धबन्दी आदानप्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया