Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअसंलग्न विदेश नीति उत्तर नढल्काऊ

असंलग्न विदेश नीति उत्तर नढल्काऊ


नेपालले आफ्नो स्थापनाकालदेखि नै असंलग्न पराराष्ट्र नीति अपनाउँदै आएको छ र कुनै पनि देशका विवादमा एक पक्षको पक्षपोषण गर्दैन । नेपालले अहिलेसम्म कुनै पनि राष्ट्रको नीतिमा नलाग्ने नीति अख्तियार गर्दै आएको थियो तर पछिल्लो समय नेकपाको सरकार बनेपछि नेपालको विदेश नीति उत्तरतर्फ ढल्केको जस्तो देखिन थालेको छ ।

विश्व परिदृश्यमा महाशक्ति राष्ट्र अमेरिका र चीनबीच विवाद बढ्दै गएको छ । सोभियत संघको पतनपछि दुई ध्रुवीय विश्व राजनीति अमेरिकाकेन्द्रित भएको थियो । त्यतिबेला पनि नेपालले कुनै पक्ष लिएको थिएन । सोभियत संघमा कम्युनिष्ट शासन थियो र अमेरिकामा पुँजीवादी व्यवस्था थियो । त्यतिबेला विश्वका साना–ठूला सबै राष्ट्र तानातानमा परेका थिए । त्यही तानातानको पीडाले असंलग्न पराष्ट्र नीतिको उदय भएको थियो । त्यसमा नेपाल पनि थियो ।

सोभियत संघको पतनपछि एकछत्र राज चल्यो । चीनको चुनौतीलाई अमेरिकाले असफल बनाउन चीनलाई घेर्ने नीति लिएको छ र त्यसलाई तोड्न चीनले पनि अमेरिका समर्थक राष्ट्रहरूलाई तनाव दिन थालेको छ । यही खिचातानीमा नेपाल अहिले उत्तरतर्फ ढल्किन थालेको दखिएको छ । चीनमा साम्यवादी शासन रहेको र नेपालमा पनि साम्यवादी दलले सरकार सञ्चालन गरेकोले पनि दुई राष्ट्रबीच समानता ल्याउन खोजिएको होला । तर, त्यसो गर्दा नेपालजस्तो दुई विशाल छिमेकीका बीचमा रहेको सानो र अविकसित राष्ट्र चेपुवामा परेर अप्ठ्यारोमा पर्न सक्छ । यसअघि दुई महाशक्ति राष्ट्रको चेपुवामा परेर जोगिएको नेपाल अहिले दुई छिमेकीको बीचको विवादको चेपुवामा पर्नसक्ने खतरा बढ्दै गएको छ ।

अहिले चीन र भारतबीच सीमामा घम्साघम्सी भइरहेको छ । अन्तर्राष्ट्रिय समुदायले चासो दिइसकेकाले युद्ध नै त नहोला कि भन्ने आसा छ । तर, हुनै नपर्ने घम्साघम्सीमा सैनिक मारिइसकेकाले यसै भन्न सकिने अवस्था छैन । दुई छिमेकीबीच युद्ध भए पनि र नभए पनि नेपाल त्यसको बीचमा पर्नु हुँदैन । अलग्गै हुनु पर्दछ । ती दुईमध्ये अहिले नेपाल चीनतर्फ ढल्किएको आरोप भारततर्फबाट लागिसकेको छ ।

यस्तो अवस्था रहिरह्यो भने नेपालले दोहोरो आक्रमणको मार खेप्नुपर्ने छ । त्यस्तो अवस्थामा हाम्रो स्वतन्त्र अस्तित्वमाथि संकट आउन सक्दछ । क्षणिक सत्ता स्वार्थका लागि सरकार एकातिर ढल्किँदा त्यस्तो समस्या आउनसक्ने सम्भावनालाई बेलैमा मनन गरिनु पर्दछ । काम बिग्रिएपछि पछुताउनुबाहेक अरु कुनै विकल्प रहने छैन । किनकी हाम्रो राष्ट्रसँग लडाइँको सामथ्र्य छैन । अर्को कसैको पुच्छर बनेर कुनै लडाइँ जित्न सकिँदैन । यस्तो अवस्थामा आफ्ना छिमेकीहरूसँग रहेका विवाद र मतभेदलाई वार्ताद्वारा समाधान गरेर आफूलाई तटस्थ राख्नु नै उचित हुनेछ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया