Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयदहीचिउरे प्रवृत्ति बढ्न नदेऊ

दहीचिउरे प्रवृत्ति बढ्न नदेऊ


सयुक्त राष्ट्र संघको आह्वानअनुसार नेपालले पनि सन् २००४ अर्थात् विसं २०६१ देखि १५ असारलाई धान दिवस मनाउन लागेको हो । राष्ट्र संघको आह्वानमा धान दिवस मनाउन थाल्नुअघि नै नेपालमा असार १५ मा दही चिउरा खाने परम्परा चल्दै आएको छ । हिउँदमा रुखोसुुखो खाएर बिताएपछिको वर्षायाममा धान रोपाइँ सुरु गरेपछि १५ असारमा दही चिउरा खाएर मनाइने नेपालको मौलिक पर्र्व हो ।

धान रोपाइँ सुरु गर्ने दिनको रूपमा धान दिवस मनाउन थालेपछि यसले झन् चर्चा पाएको हो । तर, यसअघि नै पनि दही चिउरा खाने दिनका रूपमा असार १५ प्रख्यात रहेको थियो । अहिले असार १५ नेपालमा दोहोरो महत्वको दिन बनेको छ । नेपालमा धान दिवसलाई सत्तामा रहेका व्यक्तिहरूले धान रोपाइँ गर्नेभन्दा पनि मनोरञ्जन गर्ने दिनको रूपमा विकृत बनाएका छन् । केही वर्षअघि कृषि मन्त्रीले धान दिवस मनाउँदा हिलो मात्र छ्यापेनन् कि सहभागी एक महिलालालाई संवेदनशील अंगमा समाते । धान दिवस सोख पूरा गर्ने वा मनोरञ्जन लिने अवसर होइन, यो त कर्म गर्ने प्रतिबद्धताको प्रतीक हो ।

धान दिवसलाई आफ्नो विकृत मानसिकता प्रदर्शन गर्ने थलो बनाउने र होस खुुलेपछि आफूअनुुकूल हुुनेगरी व्याख्या गर्ने प्रचलन बढ्दो रहेको छ । कतिपयले चर्चामा आउनकै लागि वक्षस्थलमा धानको बीउ राखेको देखाउने र केहीले त गुप्तांगमा धानको बीउले छोपेको देखाएर प्रचारबाजी गरेका छन् । त्यस्तो प्रचारबाजीले के सन्देश दिएको छ, त्यो त नीति निर्माण गर्ने तहमा हालीमुुहाली गरेर बसेका दिग्गज विज्ञहरूले विश्लेषण गरेकै होलान् । तर, मुलुकको शासन प्रशासन हाँकेर बसेको सरकारले त्यस्तो विकृतिलाई यथासिघ्र रोक्नुुपर्ने हो र विकृतिबहाकहरूमाथि अविलम्ब कारबाही थाल्नु पर्ने हो । तर, सरकार यसमा मुकदर्शक बनेर बसेको छ ।

अहिले असार १५ को दही चिउरा खाने परम्परा र धान दिवसलाई विकृत बनाएर दहीचिउरे संस्कृतिलाई विकास गर्न खोजिएको छ । दही चिउरा खाने परम्परा र दहीचिउरे प्रवृत्ति एउटै होइन । यो दहीचिउरे प्रवृत्तिलाई बेलैमा रोक्नुु पर्छ र यसलाई मर्यादित बनाउन सक्नुपर्छ । अन्यथा यसले समाजमा जे गरे पनि हुन्छ भन्ने विकृत संस्कार बढाउने निश्चित छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया