Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयप्रधानमन्त्री र मन्त्रीले झुट बोल्दाको खतरा

प्रधानमन्त्री र मन्त्रीले झुट बोल्दाको खतरा


पछिल्लो समयमा एकपछि अर्को गर्दै प्रधानमन्त्रीका पत्याई नसक्नुका भनाइहरु आइरहेका छन् । उनले बोलेका कुरा कसैले हम्मेसी पत्याउन सक्ने अवस्था रहँदैन । त्यो क्रम बढ्दै गएको बेला मन्त्रीहरुले समेत त्यसको सिको गर्न थालेका छन् । प्रधानमन्त्रीलाई त आफूले बेलेका कुरा नागरिकले पत्याउन छाडेका भन्ने आभास हुनथालेको जस्तो देखिन्छ । त्यस्तो भएर नै होला उनी अचेल एकप्रकारले ‘कसम’ नै खाएर बोल्छन् । विद्यालयका बालबालिकालाई गएको असार १ मा सम्बोधन गर्दा उनले भने, ‘यो कुरा गफ हानेको होइन, त्यस्तो नठान्नू ।’

प्रधानमन्त्रीले बोलेको कुरालाई उनैले गफ हो कि होइन भनी व्याख्या गर्नुपर्ने थिएन । त्यो बोली कति सत्य हो भन्ने त्यसमा प्रस्तुत विषयले नै बुझाउँछ । तर प्रधानमन्त्रीलाई लाग्यो, नागरिकले पत्याउन छाडे । यो ठाउँमा त नागरिक मात्र होइन स्कुले बालबालिकाको कुरा थियो । उनका अगाडि गफ हानेको होइन भन्नुपर्ने थिएन । तर, प्रधानमन्त्रीका कुरा पत्याउनको लागि पनि दबाब दिनुपर्ने स्थिति देखियो ।

अहिले आएर मन्त्रीले पनि प्रधानमन्त्रीकै सिको गर्न थालेका देखिनु आपत्तियुक्त कुरा हो । झुटले कुनै पनि कुरालाई धेरै दिन थाम्न सक्तैन । त्यसको पछिल्लो उदाहरण भएका छन्, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल । स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले संसद्मा आफैँले बोलेको कुरा अहिले आएर झुटमा परिणत भएको छ । उनले २२–२५ दिनअघि असार १५ गतेबाट दैनिक १० हजार जनाको पीसीआर विधिबाट परीक्षण गर्ने प्रतिबद्धता जनाएका थिए ।

महामारीको यस्तो समयमा सम्बन्धित पदाधिकारीले बोलेको कुरा यतिलामो समयसम्म झुट साबित हुन्छ र त्यो झुटकै कारण मानिसको जीवनमरणको सवाल बन्दछ भने त्यो कुरा कुनै पनि प्रकारले क्षम्य हँुदैन र हुनु पनि हुँदैन । देशमा कोरोनाको संक्रमित संख्या बढ्दै गएको भन्दै त्यसबेला मन्त्री ढकालले असार १५ देखि दैनिक १० हजार जनाको पीसीआर परीक्षण गर्ने प्रतिबद्धता जनाएका थिए । तर, असार १३÷१४ का दुई दिनको परीक्षण संख्या हेर्दा मन्त्रीले भनेको भन्दा आधा पनि पुगेको देखिँदैन । यी दिनमा दैनिक चार हजार जनाको परीक्षण हुँदै आएको पाइयो ।

मन्त्रालयले प्रत्येक दिन बताउने गरेको तथ्यांकअनुसार मन्त्रीले भनेको १० हजारको परीक्षण संख्या पु¥याउन करिब छ हजारको संख्या थप्नुपर्छ । यो १५ गते परीक्षण भएको संख्या चार हजार छ सय छ थियो । त्यसबेला देशमा भएका प्रयोगशालाहरूको क्षमता वृद्धि गर्ने, त्यसले नपुगेका अवस्थामा निजी प्रयोगशालाहरूलाई पनि प्रयोग गर्ने भनिएको थियो । तर, न सरकारीतर्फ क्षमता थपियो न निजी क्षेत्रलाई पनि परीक्षण गर्न दिइयो । यसले स्थिति जहाँको त्यही छ भन्ने कुरालाई स्पष्ट पार्छ ।

यता परीक्षणको अभावमा महामारी नियन्त्रणभन्दा बाहिर पुगिसेको अनुमान गर्न थालिएको छ । परीक्षणबिना नै मानिसलाई क्वारेन्टाइन र आसोलेसनबाट घर पठाइएको भनेर यतिबेला सुदूरपश्चिमका गाउँ नै आतङ्कित भइरहेका छन् । यो सामान्य कुरा होइन । त्यसैले मन्त्रीले बोलेको कुराको पालना होस् । यसबाट नै सबैको भलाइ हुनेछ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया