Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयजन्तरे मानसिकता

जन्तरे मानसिकता


रोगव्याधिबाट पार पाउन जन्तर लगाउने नेपालको पुरानो चलन हो । जतिबेला औषधिको व्यवस्था थिएन । त्यति बेलादेखि नै जन्तर लगाउने चलन थियो । औषधिमूलोको व्यवस्था हुुनथाले पनि जन्तर लगाउने चलन समाजबाट हटेन । तन्त्र शास्त्रको विधिअनुसार रोग वा निवारण मन्त्र, मूर्ति अंक आदि कागज वा भोजपत्रमा लेखेर मन्त्रको उच्चारण साथ धूप, दीप र पूजा आदि गरी सन्बन्धित व्यक्तिको घाँटी, पाखुुरा आदि अंंगमा बाँधिने वस्तुु जन्तर हो र त्यसलाई बुुटी पनि भनिन्छ ।

सत्तारुढ नेकपाको अड्डाजस्तो गरेर प्रधानमन्त्री निवास बालुुवाटारमा चलिरहेको स्थायी समितिको बैठकमा सहभागीहरुलाई पूर्वप्रधानमन्त्री माधव नेपालले कोरोना जन्तर घाँटीमा लगाइदिएपछि त्यसको काफी मात्रामा चर्चा भएको छ । समाजका सबै क्षेत्रमा भएका राम्रा नराम्रा सबै काम कुराको छाप परेको हुन्छ । झण्डै दुुई तिहाइ बहुुमतका साथ सत्ता सञ्चालन गरिरहेको नेकपा पनि त्यही समाजको एउटा अंश हो । समाजमा भएका कामको यसमा छाप नपर्ने कुरै भएन । कम्युनिष्टहरु सबैले आफूलाई प्रगतिशील ठान्छन् र ठान्नुु एउटा कुरा रहेछ र मान्नुु अर्को कुरा रहेछ भन्ने यो घटनाले स्पष्ट पारेको छ ।

विश्वका एक करोडभन्दा बढी मानिसमा कोरोना भाइरस संक्रमण भएको छ । त्यो मानवजातिको अदृश्य दुश्मन हो । अहिलेसम्म त्यसलाई रोक्ने कुुनै औषधि पत्तो लागेको छैन । तर त्यो भाइरसको संक्रमणबाट जोगिन सबैलाई मन लागेको छ । स्वभावैले मानिस पहिला आफू बाँच्न चाहन्छ र अनिमात्र अरुको बारेमा सोच्दछ । बालुवाटारको बैठकमा आफू कोरोना जन्तर भिरेर पुुगेका नेपालले जन्तर बाँड्न थालेपछि सबैले हात लम्काउनुु पनि अनौठो होइन ।

सत्तारुढ पार्टीको बैठकमा सहभागी ४८ जनाको लागि कोरोना जन्तर बाँडिनुुले जनताप्रतिको जिम्मेवारी दोस्रो प्राथमिकतामा रहेको देखिन्छ । आफूलाई जतिसुकै प्रगतिशील भने पनि आफू बाँच्नको लागि जन्तर लगाउन पछि पर्दा रहेनछन् भन्ने पनि देखिन्छ । सत्तारुढ दलमा भएको आन्तरिक विवादमा बहुुमत जुटाउन जन्तर प्रयोग भएको पनि मान्न सकिन्छ । समाजमा भएको जन्तरे मानसिकता उनको चेतनाबाट अझै नहटेको पनि देखिन्छ । त्यो घटनाले आफूलाई सर्वज्ञ देखाउन पनि खोजेको छ । तर यस्तो जन्तरे मानसिकता रुढीवादी परम्पराको उपज हो, पछौटेपनको परिचायक पनि हो ।

यस्तो सोचाइ त्याग्न प्रेरित गरेर समाजलाई सुधार गर्नुुपर्दछ । एक जना नेताले केही वर्षअघि संकटमोचनका लागि भैंसी पूजा गरेका थिए । त्यो यस्तै लाजमर्दो घटना हो । यस्तै हर्कत गर्ने मान्छेले नै जनताको नेतृत्व गर्ने भएपछि समाज कसरी सुधारिएला भन्ने अहिलेको प्रश्न हो ।

जन्तर लगाएर कोरोना हट्छ भन्नुु र बाँड्दै हिँड्नुुलाई प्रगतिशील मानसिकता भन्न सकिँदैन । किनभने मानिसले अरु सबै विधि अपनाउँदा पनि आफूलाई सुरक्षित महसुुस गर्न नसकेपछि दबेको हीन मानसिकताका कारण जन्तरमन्तरको सहारा लिने गर्दछन् र अहिले यस प्रसंगमा यस्तै भएको देखिएको छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया