Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयप्रधानमन्त्रीका अभिव्यक्तिको अध्ययन होस्

प्रधानमन्त्रीका अभिव्यक्तिको अध्ययन होस्


कुनै पनि गम्भीर विषयमा हलुका टिप्पणी भयो भने त्यसले विषयलाई नै अन्यथा हुनेगरी प्रभाव पार्छ । बाघ आएको कुरालाई रमाइलोका लागि प्रस्तुत हुँदा र वास्तवमा नै बाघ आउँदा के हुन्छ भन्ने कुरा जगजाहेर नै छ । यसरी देशका महत्वपूर्ण पदाधिकारीले सर्वसाधारणमा अन्यथा बुझ्ने गरी अभिव्यक्तिहरू दिइरहे भने त्यो उखानमा मात्रै सीमित हुनजाने खतरा हुन्छ । त्यसका थुपै उदाहरण छन् । देशका लागि वास्तवमा नै राम्रो काम गरेका प्रधानमन्त्रीको आफूलाई हटाउन लागिएको भन्ने चेतावनीयुक्त जानकारी र त्यसका वरिपरिबाट आइपर्ने प्रभावहरू त्यस्तै उदाहरण नबनोस् ।

यो विषय राजनीतिसँग जोडिएको भए पनि देशको स्थिरता र वर्तमानको समस्याको अवस्थामा सरकारी कामकाजसँग पनि जोडिन्छ जो डरलाग्दो महामारीको व्यवस्थापनमा चुकेका कुराहरू बाहिर आइरहेका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा आयोजित एउटा कार्यक्रममा प्रधानमन्त्रीले जस्तो सम्बोधन गरे, यदि त्यो वास्तविक हो भने आपत्तियुक्त छ । त्यही ठाउँमा सत्तारुढ दल नेकपाको उच्चस्तरीय बैठक चलिरहेको छ । त्यसको समापन भएको छैन । पाँच दिनअघि सुरु भएको बैठक फेरि बस्तै छ । यो तय नै भएको कार्यक्रम हो । त्यस्तो बेला प्रधानमन्त्रीबाट राष्ट्रहितका लागि काम गरेबापत कसैले आफूलाई पदबाट हटाउन खोजेको भन्ने जानकारी दिए । प्रधानमन्त्रीबाट नै यसको जानकारी प्राप्त भयो ।

विदेशी माध्यम र विदेशका बुद्धिजीवी पनि यो अभ्यासमा लागेका भन्ने प्रधानमन्त्रीबाट सूचना आयो । प्रधानमन्त्रीले भनेको देशभित्रबाट यस्तो अभ्यास चलेको हो भने त्यस देशका नेपाली राजदूतला यस्तो कुराको जानकारी किन भएन भन्ने पश्न उठ्छ । यो जानकारी सार्वजनिक गरिँदाको क्षणसम्म ती राजदूतलाई यो विषयमा जानकारी गराउन सरकारले कुनै अभ्यास गरेका भन्ने कतै जानकारी आएको छैन । कुन होटेलमा कुन दिन के भयो, यसका बारे भन्ने पनि खुलाइएको छैन । यदि त्यस्तो भरपर्दो सूचना थिएन भने प्रधानमन्त्रीबाट यस्तो कुरा कसरी आयो र थियो भने नोपालको राष्ट्रिय हितका विरुद्ध हुनेगरी यस्तो षड्यन्त्रमूलक काम गर्न ती होटललाई कसले अधिकार दियो भन्ने प्रश्न उठ्छ नै ।

प्रधानमनत्रीकै अनुसार पनि राष्ट्रको हितमा काम गर्न लाग्दा यस्तो षड्यन्त्र भएको हो । दूतावासभित्रको कुरा सरकारको पहुँचमा नहोला । त्यो पनि जासुसी पक्रिया ठीक ढङ्गले चलेको हो भने लुक्न पाउँदैन । यो षड्यन्त्र त राष्ट्रका विरुद्ध हो नि त । त्यस्तो षड्यन्त्रको जानकारी चाहिएका बेला नपाउने हो भने त्यस्तो संयन्त्रको के काम ? जो प्रधानमन्त्री मातहत नै छ । देशमा यतिबेला प्रधानमन्त्रीको कार्यशैली र सरकारको काम कारबाहीप्रति आम तहमा नै सन्तुष्टि छैन । गम्भीर विषयमा प्रधानमन्त्री हलुकारूपले प्रस्तुत हुनेगरेका छन् । असारको पहिलो हप्ता प्रधानमन्त्रीले संसद्मा लिएको समय र बोलेका कुरा तथा देशको तत्कालको भयावह अवस्था आदि पक्षहरूमा व्यापक चर्चा भैरहेको छ ।

ती दिनमा प्रधानमन्त्रीले संसद्मा करिब छ घण्टा लगातार बोलेका भन्ने विवरणहरू बाहिर आएका छन् । त्यसमा देशले सम्झने विषय व्यङ्ग्यजस्तो छ । हाच्छिउँ गरेन कोरोना भगाउने, बेसारपानी खाएर कोरोना हराउने आदि कुरा लामो समयमा प्रधानमन्त्रीले देशवासीका नाममा दिएका सन्देश हुन् । यो कतै प्रधानमन्त्रीले कुनै विषय र प्रसङ्गमा उठाएका र अरुले व्यङ्ग्य गरेका मान्ने हो भने प्रधानमन्त्री आफैँले आफ्ना कुरा नपत्याएर उडाइएको भनी बारम्बार भनिरहेको अवस्था छ । यतिबेलको आपत्तिको विषय के हो भने वास्तवमा नै प्रधानमन्त्रीले दिएको जानकारी के–कति सही हो भनेर त्यसको अध्ययन गर्न आवश्यक छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया