Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअधिवेशनको हठात् विघटन सरकारको रत्यौली

अधिवेशनको हठात् विघटन सरकारको रत्यौली


वैशाखको अन्त्यतिर सुरु भएको संसद्को छैटौँ अधिवेशन असारको मध्यतिर नै अन्त्य भयो । विगतमा दशैँ लाग्दा समेत यस्तो अधिवेशन चलिरहेको हुने गर्दथ्यो । तर यो पटक बजेट अधिवेशन नयाँ आर्थिक वर्ष नलाग्दै समाप्त गरियो । यसको पृष्ठभूमिमा सत्तारुढ दलभित्रको अन्तरकलह रहेको र त्यसमा कसले कसका विरुद्ध कस्तो बाजी मार्ने भन्ने रहेको भन्ने बुझ्न सकिन्छ । यसले जनताको थलोसमेत कुनै दलविशेष र त्यसको पनि कुनै गुटविशेषको प्रभावमा परको अवस्था देखायो । अधिवेशनसामु महत्वपूर्ण कामकाज हुँदाहुँदै काम पाइएन भनी कारण बताइनु र त्यस्तो कारण बताइँदा मन्त्रीले प्रयोग गरेको शब्द रत्यौली खेल्ने कुरा हुनु त्योभन्दा आपत्तिको कुरा हो । गएको हप्ता संघीय संसद्को चालू अधिवेशन अन्त्य गरियो र त्यसबारे व्यापक प्रतिक्रिया आइरहेका बेला संसदीय मामिलाभन्दा अर्कै भूमिसम्बन्धी मन्त्रीले जवाफ दिइन् । बजेट ल्याउनुपर्ने थियो, यस्तो महामारीमा पनि अधिवेशन बोलाउनु प-यो, बोलायौँ । बजेट पास भयो । त्यसपछि रत्यौली खेल्न संसद् चाहिएन, बिजनेस थिएन ।

जुन संसद् अधिवेशनका बारे मन्त्रीले यस्तो दाबी गरिन्, त्यसकै एक जना सांसदले बिजनेस नभएको भन्ने कुरालाई झुटो साबित गरिदिए । उनका अनुसार मानव सभ्यतामाथि नै संकट आइपरेको कोभिड १९ लाई कसरी व्यवस्थापन गर्ने भन्नेमा सर्वदलीय, सर्वपक्षीय बहस गर्ने थलो थियो, संसद् । त्यो अवसरबाट चुकियो । अहिले सलहले कृषिलाई ध्वस्त गर्न सक्छ । यसबारेमा सरकारबाट के तयारी हुँदै छ भन्नेबारेमा सरकारसँग जवाफ मागिन्थ्यो वा सरकारले संसद्बाट खोजेको सहयोग जुट्ने थियो । संसद्मा अत्यावश्यक विधेयक छन् । केही कानुनले गर्दा नेपाली जनजीविकामै कठिनाइ आइपरेको छ । हाउसको बिजनेस त्यहाँ छँदै छ । सत्ताधारी पार्टी नेकपाको आन्तरिक किचलोले गर्दा सरकारको कामकारबाही अव्यवस्थित भएको छ । यो निराशाजनक छ । उदेकलाग्दो र देश र जनताको हितमा छैन ।

मन्त्रीको भन्दा सांसदको यो दाबी बढी सही देखिन्छ । संसद् भनेको जनताको आवाज मुखरित गर्ने थलो हो । यसमा ५२ वटा कानुनहरू संसद्ले पारित गर्नुपर्ने थियो भने एक दर्जन जति सार्वजनिक महत्वका प्रस्ताव थिए । सांसद्ले नै भने जस्तो कोभिड १९ लाई कसरी व्यवस्थापन गर्ने भन्नेमा बैठकमा दिनहुँ सर्वदलीय, सर्वपक्षीय बहस चलिरहेको थियो, जसले यसको व्यवस्थापनप्रति सरकारी उदासिनतालाई अन्त्य गर्दै निरन्तररूपमा खबरदारी गर्ने थियो । संसद्मा रहेका विषय हेर्दा मन्त्रीले दाबी गरेको आफैँ सफेद झुठ ठहर्छ ।

यो अधिवेशन अन्त्य भएको क्षणअघि ४० भन्दा बढी विधेयक प्रक्रियामा एउटा सदनमा मात्रै १९ वटा विधेयक विचाराधीन थिए । यही अधिवेशनमा पारित हुनेगरी समितिहरूमा मात्रै २० वटा विधेयक संसद्का एजेण्डाका रूपमा विद्यमान थिए । संसद्मा रहेको यो रेकर्डलाई मन्त्रीको त्यस्तो प्रतिक्रियाले मेट्न सक्तैन । । सचिवालयले दिएको जानकारीअनुसार नौवटा संकल्प प्रस्ताव, दुईवटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव, दुईवटा ध्यानाकर्षण प्रस्ताव दर्ता भएका थिए । भर्खरै नीति र कार्यक्रम तथा बजेटमा छलफल गर्नुपरेका कारण यी सबै विषय त्यसै थिए । अधिवेशनकै अन्त्य भएपछि यी विषय आफैँ ओझेलमा परे । समान्यतया अधिवेशनको अन्त्य गर्दा सभाका प्रमुखहरूलाई के–कस्तो अवस्था छ भनी परामर्श गर्ने परम्परा थियो । त्यो पनि यो पटक तोडियो । यी सबै कुराहरू हेर्दा जनताको थलोमा सरकारले रत्यौली खेलेको अवस्था स्पष्ट देखिन्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया