Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयडुबानबारे गृहमन्त्री सूचना अधिकारीजस्ता

डुबानबारे गृहमन्त्री सूचना अधिकारीजस्ता


दुई वर्षअघि प्रधानमन्त्री पदमा आफू नियुक्त हुनासाथ भारत भ्रमण गर्दा केपी शर्मा ओलीले भनेका थिए, अब नेपालमा डुबान हुनेछैन । यसको आसय थियो, अब भारतले त्यस्तो डुबान गराउने गरी बाँध बनाउनेछैन । त्यसबेला प्रधानमन्त्रीको यो भनाइलाई निकै चासोका साथ हेरियो । त्यसबेलासम्म ओलीको बोलीको परीक्षण भैसकेको थिएन ।

विगत लामो समयदेखि नै अधिकांश तराईका क्षेत्रमा पानीको निकास नभएर डुबान हुनेगरेको अवस्था थियो । भारतीय पक्षबाट बनाएका बाटो र त्यसमा पानीको निकास नराखिएको कारण बर्सेनि यस्तो डुबानको कहर व्यहोर्दै आएका थिए यी भेगका जनताले । प्रधानमन्त्रीको त्यो भनाइबाट अबचाहिँ मुक्ति पाउने अपेक्षा थियो तर डुबान त्यो वर्ष पनि भयो र पछिल्लो वर्ष र अहिले पनि निरन्तर छ । कारणचाहिँ फेरि पनि त्यही हो अर्थात् पानीको निकास नदिइनु । जनताले त्यसबेला सरकारले पहल नगरेको भनिरहेका थिए । अब त मन्त्री स्वयम्ले पनि यो कुरा आफैँ भन्न थाले । अर्थात् समस्या सुल्झाउने गरी पहल नै भएन ।

यो वर्ष पनि त्यही कुरा दोहोरियो । तराई जलमग्न भएको र कतै पनि निकास नभएर डुबानमा परेका मानिसहरू छटपटिइरहेको अवस्थामा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा उम्कन मात्र खोजे । उनका अनुसार नेपालमा बाह्य हस्तक्षेपलाई रोक्न नसक्दा हाम्रोमा डुबान भयो । सीमामा समानान्तररूपमा भारतले सडक बनाउँदा तराई क्षेत्रमा डुबान हुनेगरेको छ । नेपालमा हस्तक्षेप नै हो त्यो । नेपाली भूमिलाई डुबानमा पार्नेगरी भएका भारतीय निर्माणबारे पटक–पटक दुई देशबीच छलफल भयो तर त्यसले उचित निकास पाएन ।

यसबारेमा सरकारले पहल नगरेको होइन । उनीहरूले त्यो बाँध र बाटो बनाएका छन्, त्यसमा निकास दिनुप¥यो भनेका हौँ । निकास भएन भने त नेपाल पूरै डुबानमा पर्छ । उनीहरूले आफ्नो रक्षाको निम्ति बाँध, तटबन्ध बनाए तर नेपालमा खतरा आयो । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भयो । गृहमन्त्रीले संसद्को निकायमा यसो भने पनि वास्तवमा देखिने कुरा भनेको सरकारका तर्फबाट ठोसरूपको पहल नहुनु नै हो ।

गृहमन्त्रीले नै सीमासँग समानान्तर सडक निर्माणलगायतका संरचना निर्माण गरेर भारतले नेपालमाथि हस्तक्षेप गरेको भनेपछि त्यसको उपचारमा के गरियो त ? भन्ने प्रश्न उठ्छ नै । जसको उत्तर छैन वा छ भने त्यही डुबान । गृहमन्त्रीले भने, ‘पटक–पटक भएका सन्धि र सम्झौताको उल्लंघन गर्दै भारतले नेपालबाट जाने नदीलाई उचित निकास नदिएर हस्तक्षेप गरेको अवस्था छ ।’ यो ठाउँमा गृहमन्त्री सूचना दिने पात्रका रूपमामा मात्र देखिए । नेपालबाट वा जताबाट होस् नदीको बहाब रोक्ने काम भयो भने नदीले डुबाउँछ नै । यो कुनै नयाँ र गृहमन्त्रीले नै जानकारी दिइरहनुपर्ने विषय होइन ।

सीमामा बाँध र सडकजस्ता कुरा गोप्यरूपले सम्पन्न हुने वस्तु होइनन् । तिनको निर्माणका क्रममा नै उचित तरिकाले पहल गरिएको भए त्यसले एउटा निकास दिनेथियो । त्यसपछि निर्माण गरियो भने त्यो बलपूर्वक गरिएको काममा परिणत हुनेथियो र त्यहीअनुसार उपचार पनि खोजिने थियो । तर यी सबै केही भएनन् । यसका साक्षी डुबान विवरण नै हुन् । त्यसमा गृहमन्त्रीजस्तो पदाधिकारी एउटा सूचना अधिकारीजस्तो मात्र हुन्छन् भने त्यो दुःखद नै हो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया