Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयगरिबका घर मन्त्रीका लागि ‘मचान’

गरिबका घर मन्त्रीका लागि ‘मचान’


वनमन्त्री शक्ति बस्नेतले हालै निकुञ्जका मान्छेले जलाइदिएका गरिब सुकुम्वासीहरूका घरलाई घर नभएर मचान जलेका भनी प्रतिक्रिया दिए । त्यो पनि जननिर्वाचित संस्थाको समितिमा । चितवन माडी–९ कुसुमखोला यतिबेला देशकै ध्यान केन्द्रित भएको ठाउँ हो । एक हप्ताअघि यो ठाउँमा चेपाङ जातिका घरमा हात्ती लगाएर भत्काउने र आगो लगाएर खरानी बनाउने काम भएको थियो । त्यतिले नपुगी बारीमा फलेका अन्नबाली समेत हात्तीको बथानलाई माड्न लगाई ध्वस्त पारिएको थियो ।

अवस्था कतिसम्म भने तिनका घरबाट सामान समेत झिक्न दिइएको थिएन । यसैको वरिपरि निकुञ्जका रक्षकहरूले एक युवकलाई कुटीकुटी मारेका थिए । घुँगी खोज्न गएका किशोरहरूलाई पक्रिएर गरिएको यस्तो ज्यादतीका विरुद्ध यो क्षेत्र र अन्यत्र पनि छानबीनको गरी अत्याचार गर्नेप्रति कानुनी कारबाही गर्न माग भैरहेका बेला संसदीय समितिमा निकुञ्जसँग सम्बन्धित मन्त्रीको यस्तो अनुत्तरदायी जवाफ आएको हो ।

मन्त्रीको यस्तो जवाफले स्थानीय जनप्रतिनिधिलाई पनि आक्रोशित तुल्याएको छ । कुनै पनि विषयको छानबीनले घटनाको विस्तृत अवस्था बुझाउँछ तर यो ठाउँमा त्यस्तो केही नभई मन्त्री नै एउटा पक्षमा लागेपछि स्थिति झनै कठिन बन्नगएको छ । त्यसै पनि सुकुम्वासी जनताको घरलाई उनले मचान भने । मचान र घरमा ठूलो अन्तर हुन्छ । घर भनेको जीवन निर्वाह गर्ने ठाउँ हो भने मचना भनेको थकाइ मार्ने ठाउँ हो । उनले कम्तीमा छानबीन गराउने र त्यसपछि घटनाको सत्यतथ्य आएपछि जे गर्नु पर्ने हो गरिनेछ सम्म भनेका भए उनलाई पनि जनताको प्रतिनिधि भन्न सकिने ठाउँ रहन्थ्यो । तर उनले छनाबीन गराउने र कारबाहीको बारेमा कुरा पनि गरेनन् । बरु सोझै भने, चेपाङका घर होइन, मकै हेर्ने मचान मात्र जलाएको हो ।

यसको अर्थ हो, यो घटनामा उनी कसैमाथि कारबाहीको पक्षमा छैनन् । यो संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकको कुरा हो । यसरी हात्ती लगाएर घर भत्काउने कार्य गैरकानुनी हो । संविधानले प्रदान गरेको सम्मानपूर्वक बाँच्न पाउने हक र बासस्थानको हकविपरीत हो  । विपत्को समयमा वैकल्पिक व्यवस्थाबिना जनताका घरबास नउठाउन वन तथा वातावरण मन्त्रालयलाई यो समिति निर्देशन गर्दछ  भनेर निर्णय त गरेको छ तर यो एउटा औपचारिकतामा मात्र सीमित रहने संकेत मन्त्रीको जवाफले नै दिइसकेको छ ।

स्थानीय जनप्रतिनिधिका अनुसार पनि मन्त्रीले सोझै झूट बोलेका छन् । यो समितिका सभापति हुन्, चितवनका जनप्रतिनिधि । उनका अनुसार पनि त्यो ठाउँका ११ मध्ये आठ घर भत्काएको र दुई घरमा आगो लगाइएको छ । सभापतिले समितिमै भने मन्त्रीज्यूलाई मैले किटान गरेर नै भनेका थिए । ‘मचानमा होइन, चेपाङको घरमा आगजनी भएको हो । उहाँले नै बरु घर होइन रे, कटेरोमा हो रे नि भनेर सोध्नुभएको थियो । तर मैले त्यस्तो होइन मन्त्रीज्यू, निकुञ्जले घर नै जलाएको हो भनेर दोहो-याएको थिएँ । दुई घरमा आगो लगाइएको हो, अरू घर हात्ती लगाएर भत्काइएको हो । मैले मन्त्रीज्यूलाई दिएको विवरण यही हो ।’

जनप्रतिनिधिको यो भनाइलाई पनि मन्त्रीले मानेनन् अर्थात् प्रतिनिधिका आँखाभन्दा मन्त्रीलाई आफ्ना कर्मचारीका काम प्यारो लाग्यो । यसले अवस्था कस्तोसम्म आयो भने निकुञ्जकै नियममा निकुञ्जभित्र आगो लगाउन पाइँदैन । तर यो ठाउँमा त्यो पनि मान्य भयो । यत्रो ठूलो वर्षातपछि पनि यसका अवशेषहरू अझै ती ठाउँमा हेर्न सकिन्छ । त्यसकारण पनि मन्त्रीको जवाफ आपत्तियुक्त मानिएको हुनुपर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया