Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोना संक्रमण रोकथाममा सरकार चुक्दै

कोरोना संक्रमण रोकथाममा सरकार चुक्दै


सरकारले दिनैपिच्छे नेपालमा कोरोनाको संक्रमण समूहमा प्रवेश गरेको छैन भनी जोडदारका साथ कुरा गरिरहेको छ । तर विभिन्न सामाचार विवरणहरूले भने त्यसको उल्टो नतिजा देखाइरहेको छ । पछिल्ला केही दिन कल्पनासमेत नगरिएका ठाउँ र व्यक्तिमा कोरोना संक्रमण धमाधम खेखिइरहेका छन् । यता तिनको सम्पर्क हेरियो भने त्यस्तो कुनै अस्वाभाविक लाग्दैन ।

कहीँकतै शंकास्पद ठाउँमा नगएका उनीहरूमा संक्रमण देखिएको छ । यो पनि कुनै एक ठाउँमा नभएर पहाड र तराई सबैतिर यही अवस्था छ । वीरगञ्जमा भर्खर त्यस्तो देखियो भने यसअघि दैलेखको ठाडी गाउँपालिकामा पनि त्यस्तै भएको थियो । ७० जनामा परीक्षण गरिएकोमा १७ जनालाई संक्रमण भेटिनु र तिनीहरू बाहिर कतै गएको नपाइनु डरलाग्दो विषय हो ।

पछिल्लो समय त विश्व स्वास्थ्य संगठनले पनि नेपालमा कोभिड १९ रोग संक्रमण समूहमा गएको बताएको छ । उसले जे–जे बताएको छ उसकै अनुसार यो भनेको समुदायमा संक्रमण फैलिनुअघिको अवस्था हो । तर सरकार भने त्यसलाई मान्न तयार छैन । सरकार संक्रमण फैलिएको किन मानिरहेको छैन भन्ने आम तहमा नै प्रश्न खडा भएको छ । विज्ञहरूले पनि यो विषयलाई गम्भीरतापूर्वक लिएको पाइन्छ । यतिबेला सरकार र समुदायले सकारात्मक भूमिका खेलेन भने भारतजस्तो अवस्थामा जानेछौं । अहिले हामीकहाँ कम्युनिटी ट्रान्समिसन छैन भनेर ठोकुवा गर्ने आधार छैन ।

हालका घटनाहरूले समुदायमा संक्रमणतर्फ संकेत गरिरहेकाले थप सतर्कतासँगै अध्ययन अनुसन्धान आवश्यक छ । यसमा सरकारचाहिँ किन त्यस्तो सत्य मानिरहेको छैन भन्ने प्रश्नमा पूर्वतयारीबिना गरेका निर्णयले हच्किएका हुन भन्ने विज्ञहरूले बताइरहेको अवस्था छ । सरकार यस्तो अवस्थामा पनि एसियाका देशभन्दा आफू नियन्त्रणका सन्दर्भमा सबैभन्दा उच्च ठाउँमा रहेकोमा भाषण छाँटिरहेको छ । त्यसै भएर होला समुदाय प्रवेशलाई उसले मान्न नसकिरहेको अवस्था । संक्रमणको अवस्था अन्य देशको भन्दा कम हुनु राम्रो हो तर त्यो यथार्थपरक हुनुपर्छ ।

सरकारले लिएको यस्तो ढिपीले अन्त्यतः नागरिकका लागि झनै घातक बन्नसक्छ । फैलिएको र रोकिएको भन्ने सानो जानकारीले मात्रै पनि सतर्कतामा ठूलो अन्तर ल्याउँछ । सरकारले अहिलेसम्म मुलुकमा कोरोना संक्रमणको स्तर र समुदायमा अवस्था हेर्ने ‘सेरो प्रिभिलेन्स सर्भे’ गरेको छैन भन्ने आरोप छ । यो पनि अवस्था लुकाउन खोजेको जस्तो देखिन्छ । यो भनेको पनि सत्यलाई स्वीकार्न नखोज्नु हो ।

जब सरकार नै सत्यलाई स्वीकार्दैन भने त्यसपछिको अवस्था भयावह हुने अन्तर्राट्रिय अभ्यासले बुझाउँछ । यतिबेला दक्षिण र पूर्वी एसियामा नेपालजस्तै समूहमा संक्रमण भएका मुलुकमा भारत, थाइल्यान्ड, मालदिभ्स, श्रीलङ्का र म्यानमार रहेका छन् । तर नेपाल यी देशमध्ये कम संक्रमित रहेको देशमा पर्छ । तर सवाल हो, वस्तुस्थिति पनि जस्ताको तस्तै आउनुपर्छ । सरकार व्यवस्थापनमा धेरै ठाउँमा चुकेको छ । त्यही चुकाइका कारण आफू बदनामी हुने डरबाट प्रधावित भएर सूचना यताउता गर्न खोजेको हो भने त्यसले गम्भीर असर पार्नेछ । यसतर्फ पनि ध्यान जान आवश्यक छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया