Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसंक्रमणमा खेलवाड दण्डनीय काम

संक्रमणमा खेलवाड दण्डनीय काम


कोरोनाको संक्रमण विस्तारमा सरकारको जति लापरबाही देखियो त्योभन्दा कम छैन समुदाय र नागरिकहरूको हेलचेक्रयाइँ पनि । सरकारलाई औषधि उपचार, क्वारेन्टाइन र आइसोलेसनको समुचित व्यवस्था नगरेको र बाहिरबाट आउनेहरूको प्रवाहलाई नियन्त्रणमा लिएर उचित परीक्षण गर्न नसकेको वा नगरेको भन्ने आरोप छ । यो सरकारी पक्षको कुरा भयो ।

समुदायमा आफैँ लुकीलुकी हिँड्ने, अरुले पनि यस्तो कुरा नभनिदिने र कतिपय संगठित संस्थाहरूले समेत पालना गर्नेुपर्ने सामान्य मापदण्ड र शंका लागेकोमा सम्बन्धित निकायसँग परामर्श गरेर सुरक्षाको उचित व्यवस्थापन गरेको देखिएन । जसले संक्रमण विस्तार भएर आखिरमा समाजलाई नै संक्रमित पार्ने खतरा रहन्छ । कतिपय स्थानमा त यस्तो प्रकारले उब्जिएको संक्रमणले प्रकापको रूप नै लिएको अवस्था पनि छ ।

पछिल्लो समय सीमामा कडाइ गर्ने भन्ने सुझाव आइरहेका बेला सीमाभित्र पसिसकेकाहरूलाई उनीहरूको स्वास्थ्यस्थितिको परीक्षण नगराई काममा लगाइँदा एउटा ठूलो सङ्कट आइपर्ने संकेत प्रकट हुनथालेका छन् । खासगरी भारत र नेपालमा लकडाउन खुलेपछि निर्माणकार्यमा काम गर्ने श्रमिकहरूको अवस्था निकै भयावह रहेको पाउन थालिएको छ । निर्माणकार्यमा विशेषगरी भारतीय श्रमिकहरूको अन्त्यधिक प्रयोग हुन्छ । त्यो संगठित होस् कि घरेलु सबैतिरको अवस्था त्यस्तै हो ।

घरेलुमा संक्रमण फैलियो भने त्यसको संख्या थोरै होला र संगठितरूपमा फैलियो भने ठूलो होला तर संक्रमण त आफ्नो कमजोरीकैैैैै कारण विस्तार हुनलागेको भन्नुपर्ने हुन्छ त्यो जुन संख्यामा फैलिएको होस् । पछिल्लो समय राजधानीको एउटा निर्माण कम्पनी चर्चामा आएको छ । ठूलो संख्यामा सामूहिकरूपले काम गर्ने त्यो कम्पनीमा दुईजना व्यक्ति संक्रमित पाइए । तिनीहरू तराईतिरबाट आएका थिए ।

तराइको २ नं प्रदेश धेरै संक्रमित भएकामा पर्छ । त्यहाँ पनि भारतबाट आएकाहरूबाट संक्रमण फैलिएको भन्ने भनाइ छ । त्यस्तो बेला परीक्षण नगरी काममा लगाइँदा त्यो एउटा काममा मात्रै ठूलो संख्या जोखिममा परको अवस्था छ । बताइएअनुसार त्यो निर्माण कम्पनीले तराईबाट काठमाडौं लुकिछिपी छिरेका दुई जना कामदारलाई पीसीआर परीक्षण नगराई काममा लगाउँदा स्थिति भयावह देखिएको हो । स्वाभाविक छ, यस्तो संक्रमण देखिएपछि उनीहरूसँगै काम गरिरहेकाहरूमा पनि फैलिएको हुनुपर्छ । तर अहिलेसम्म पनि बाँकी श्रमिकहरूको परीक्षण हुनसकेको अवस्था देखिएन ।

यो काम एउटा मानवीय हेलचेक्र्याइँ मात्र नभएर गम्भीर अपराध नै हो । यस्तै अपराध गर्नेलाई किमार्थ छुट हुनुहुँदैन । यो भनेको रोगसँग निहुँ खोजेको अवस्था पनि हो । यही एउटा ठाउँमा सँगै काम गर्नेलाई कोरोना भएपछि आफूहरूलाई पनि सर्ने भन्दै क्वारेन्टाइनमा बस्ने र पीसीआर परीक्षण गराइदिनुपर्छ भन्दा समेत कम्पनीले नमानेको भन्ने कुरा बाहिर आएको छ । यो संक्रमण आजभोलि भनेर टार्ने विषय होइन । संसारकै अनुभव छ कि कुनै समुदाय आफैं सतर्क हुँदैन भने यो महामारी फैलनबाट रोक्न कुनै तागतले पनि सक्तैन । त्यस कारण यसमा खेलवाड नगरौं । त्यसको प्रभाव अरु निर्दोषमा पनि पर्ने भएको हुँदा यसलाई दण्डनीय मानिएको हो । सरकार यसमा कडा हुनैपर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया