Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसरकारका लहडी निर्णयको असर

सरकारका लहडी निर्णयको असर


देश विश्वव्यापी महामारीको चपेटामा छ । यो व्याधिले सबैलार्ई समानरूपले आक्रान्त पारेको छ । तर पनि कतिपय अवस्थामा सम्बन्धित देशको व्यवस्थापनले यसलाई घटाउने र बढाउने गरेका छन् । त्यही अवस्थामा सम्बन्धित देशका नागरिकहरूको जीवन कष्टपूर्ण र सहज बन्ने गरेका हुन्छन् । त्यस्तो बेला नेपालको सरकार अर्थात् यहाँको व्यवस्थापन कस्तो छ भन्ने प्रश्न उठ्छ र त्यसको उत्तर हुन्छ केटाकेटी जस्तो छ भन्ने । त्यही व्यवस्थापनले महामारीमा आफ्ना नागरिकलार्ई कष्ट दियो कि उपलब्ध भएसम्म सुविधा दियो भन्ने चर्चा भइरहेका विषय भएका छन् ।

नागरिकका सेवासुविधाका पक्षमा हतपत निर्णय नहुनु, भएका निर्णयले कष्ट मात्र दिनु तथा आफ्नै नागरिकबीचमा पक्षपातपूर्ण व्यवहार हुनु आदि सरकारी कामकारबाहीका आलोच्य पक्ष हुन् । पछिल्लो समय एउटा विषयमा सरकारले दुई दिनको अन्तरमा दुई थरी निर्णय गरेको देखियो, जसबाट नागरिक पीडित र अनिश्चयमा परे । यो विषय हो दुबईमा रहेका नेपाली नागरिकको उद्धारको सन्दर्भ । यसका बारे अघिल्लो दुई/तीन दिनअघि एउटा निर्णय भयो तिनलार्ई ल्याउने भनेर ।

सोअनुसार सबै व्यवस्थापन पनि भयो टिकेटिङदेखिका उनीहरू नोपल आउन चाहिने सबै प्रकारका कागजपत्रहरूका सन्दर्भमा । तिनलाई लिन भनी विमान पनि त्यसतर्फ गयो । विमानै गएपछि उनीहरू आउने निश्चित भयो । विमान गयो मात्र होइन त्यहाँ अवतरण पनि भयो । त्यसपछि यता सरकारले ती नागरिकलाई नल्याउने भन्ने निर्णय ग-यो । कारण यता सरकारले नै व्यवस्था नगरेको अवस्था थियो ।

सरकारको आफ्नो कमजोरीका कारण त्यो विमानबाट आफ्नो देश आउन तयार भएका करिब अढाइ सय नागरिक अलपत्र परे । विमानस्थलमा अवतरण भइसकेको विमान रित्तै फर्कियो । नेपाल वायु सेवा निगमले त्यो विमानस्थलमा यसरी मंगलबार दुबईमा छाडेका ती दुई सय ३५ यात्रुलार्ई बिहीबारको सरकारकै अर्को निर्णयबाट फेरि नेपाल ल्याउने निर्णय भयो र दुई दिनअघि खाली आएको विमान फेरि तिनै नागरिकलाई लिन भनी त्यता पठाइने कार्यतालिका बन्यो ।

पहिले निगमले दुई दिनअघि दुबईबाट फर्किँदा ल्याउनुपर्ने यात्रुका लागि काठमाडौंमा क्वारेन्टाइन व्यवस्थापन नभएको भनी विमानस्थल आइसकेका यात्रुलार्ई त्यहीँ छोडेर जहाज रित्तै फर्काउन निर्देशन दिइएको थियो । यो सरकारको केटाकेटी खेलेजस्तो काम थियो । त्यसपछि फेरि दुई दिनमा तिनलाई ल्याउने भनियो ।

पहिले निगमले सूचना निकालेर भनेका थियोे, मिति १८ अगस्ट २०२० मा दुबई–काठमाडौंका लागि तय गरिएको उडानबाट ल्याउनुपर्ने यात्रुहरूलार्ई काठमाडौंमा क्वारेन्टाइन व्यवस्थापनको कारण ल्यान नसकिएको प्रति निगम व्यवस्थापन दुःख व्यक्त गर्दछ, । तर यो दुःख त निगमले होइन सरकारका सम्बन्धित अधिकारीले गर्नुेपर्ने हो । क्वारेन्टाइनको व्यवस्थापन नभएको कारण थियो भने दुई दिनमा नै फेरि अर्को व्यवस्था हुने अवस्था रहँदैन । करिब अढाइ सय व्यक्तिको व्यवस्थापन दुई दिनमै हुने कुरा पत्याउँदो होइन । यसले बुझाउँछ यो निर्णय लहडी नै हो । सरकारले अनुसन्धान गर्नुपर्छ । यस्तो लहडी निर्णयले नागरिकले बारम्बार दुष्प्रभाव झेल्नुपर्ने हुन्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया