Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयभाइरसभन्दा उपचार नपाउने रोग ठूलो

भाइरसभन्दा उपचार नपाउने रोग ठूलो


कोरोना भाइरसका बारेमा देशमा परेको डरलाग्दो मानसिक अवस्थालाई सरकारले घटाउन सकेन । जसका कारण कोरोनाको संक्रमणले भन्दा त्यसको नामबाट नागरिकको ठूलो संख्या मृत्यु हुनेगरेको अवस्था झन्झन् बढ्दै गएको छ । यो पछिल्लो समयको दुःखद पक्ष हो । यसले खासगरी राज्यमा आफ्नो पहुँच कतै नभएका नागरिकमा डरलाग्दो अवस्था खडा भएको छ । त्यो कोरोनाको कहरभन्दा पनि ठूलो र डरलाग्दो रूपको छ । सत्तामा पहुँच नभएकाहरूले कोरोनाभन्दा बाहिरको रोगमा उपचार समेत नपाएर ज्यान गुमाएकाहरूको संख्या दिनदिनै बढनु, रोक्न सकिने मृत्युलाई खुला गरिनु पनि हो । यो कुनै एक ठाउँमा मात्र नभएर देशैभरिको समस्या हो । कोरोनाको विस्तारजस्तै यसले अर्को महामारीको रूप लिँदा पनि सरकार मौन र यथास्थितिमा बस्नु निन्दनीय काम हो ।

पछिल्लो समय धनुषाको नगराइन नगरपालिका–३ फूलगामाका एक युवाको अस्पतालले भर्ना नलिँदा ज्यान गुम्यो । जनकपुरको प्रादेशिक अस्पतालले भर्ना नलिएपछि एम्बुलेन्समा काठमाडौँ ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो । समाचार विवरणअनुसार सामान्य श्वासप्रश्वासमा समस्या भएपछि उनलार्ई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु-याइएको थियो । उनलार्ई स्वास्थ्यकर्मीले टाढैबाट पीसीआर परीक्षण गराएर आउन सल्लाह दिए ।

बिरामीको सामान्य उपचार गर्न पीसीआर चाहिने र पीसीआर रिपोर्ट आउन तीन/चार दिन लाग्ने भएपछि अनुमान गरौँ अवस्था कस्तो होला । बाँच्नको लागि एक झोक्का साससमेत तान्न नसकेको अवस्थामा चार/पाँच दिन लाग्ने पीसीआर परीक्षण रिपोर्ट नआई चिकित्सिकहरू प्रारम्भिक उपचारका नाममा हेर्न पनि चाहँदैनन् । यस्तो अवस्थामा त्यस्ता बिरामीको हालत के होला अनुमान गर्न सकिन्छ । एउटा त अस्पतालभर्नामै समस्या र भर्ना भएपछि पनि उपचारबिनाको पर्खाइ र परीक्षणको अभाव तथा रिपोर्टको ढिलाइले बिरामीको ज्यान लिएका घटना पटक–पटक दोहोरिरहेका छन् । बिरामीलार्ई सास फेर्न सकस भइरहेको बेला जति प्रयत्न गर्दा पनि डाक्टर उपचारका लागि तयार नभएपछि १० घण्टा बिनाउपचार झुलाइदिएकै कारण उनलार्ई बचाउन नसकिएको गुनासो बिरामीका आफन्तले गरिरहेका छन् ।

यो घटना एउटा प्रतिनिधि मात्र हो । यसअघि वीरगञ्जमा एक युवतीको सातवटा अस्पताल घुमाउँदा पनि भर्ना नलिएको अवस्थामा मृत्यु भएको र मुत्युपछि परीक्षण गर्दा कोराना नभएको देखियो । यही ठाउँमा केही दिनअघि मात्र एक वृद्ध दम्पत्तीले आफ्नो छोरालाई काँधमा बोकेर अस्पताल डुलाएका तस्बिरहरू सार्वजनिक भएका थिए । यस्ता विवरण खासगरी विपन्न वर्गले सधैँ व्यहोरिरहनुपरेको छ । यो अवस्था कोरोनाको प्रकोप सुरुभएदेखि नै हो । त्यो आजसम्म कायम नै छ भने आर्थिक स्थिति कमजोर भएका नागरिकका लागि राज्य कहाँ होला ?


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया