Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोना भाइरस खोज्ने अभियान बढाऊँ

कोरोना भाइरस खोज्ने अभियान बढाऊँ


सरोकारवालाले देशमा कोरोनाको महामारी थामिनसक्नुको हुन्छ, त्यसकारण बेलैमा सतर्कता अपनाउन भनी बारम्बार सुझाव दिइरहे पनि सरकारले टेरेन । सरकारले गर्नुपर्ने काम गरेन भन्दा उल्टो तिनका आँखा फुटेका भनी नागरिक र विज्ञमाथि सार्वजनिक आरोप लगाउन थालियो । तिनलाई सरकारले गरेका काम देखाउन भगवनले आँखा र बुद्धि दिऊन् भनी प्रार्थना समेत गरियो । यो कुरा पत्याउन नसकिएला तर स्वास्थ्यमन्त्रीले सार्वजनिक भाषणमा नै भनेका सत्य कुरा हुन् ।

कोरोना संसारभरि फैलिएको महामारी हो । त्यसकारण यसको रोकथामका सन्दर्भमा पनि संसारभरिबाट नै शिक्षा लिन सकिने विषय थियो । त्यस्तो पनि गरिएन । देशभित्रकै विज्ञले भनेका कुरा पनि सुनिएन । परीक्षणको दायरा बढाइयोस् भन्ने संसारभर र नेपालका विज्ञहरूको पनि एउटै आवज थियो । नेपालमा त अनसन पनि बसियो यस्तो दायरा बढाइयोस् भनेर । तर त्यो काम सोचेजस्तो गरिएन । यसकै परिणामले कोरोना विस्तार झनै भयावह हुँदै गएको छ ।

एउटा उदाहरणः जेलमा त कोरोना प्रवेश हुन नपाउनु पर्ने हो । तर प्रवेश भयो र दुई जनाको त ज्यानै गयो । जेलमा पचास जना रहेका ठाउँमा २५ जनाको परीक्षण भयो । तिनमा आधाभन्दा बढी पोजेटिभ देखिए । अब अरु बाँकी २५ जनाको भने परीक्षण नै नगरी त्यसै छाडियो । अनुमान गरौँ बाँकीको हालत के होला । यो जोकजस्तो लाग्छ तर सरकारको व्यवस्थापनको यो यथार्थ नमुना हो । संसारभरि यसको रोकथामको एउटा उपाय थियो लकडाउन, निषेधाज्ञा तथा सामाजिक दूरी पालना, नियमित हात धुनुपर्नेलगायतका कुरा । यी सामान्य भए पनि रोकथामलाई मदत पुग्ने कुरा हुन् । तर फेरि पनि घुमिफिरी परीक्षणकै कुरा आउँछ, जो पर्याप्त भएन मात्र होइन क्षमताको पनि प्रयोग गरिएन भन्ने छ । सरकारसँग प्रतिदिन २२ हजारको परीक्षण क्षमता छ तर ११ हजारको मात्र परीक्षण भैरहेको छ । यसको अर्थ हो बाँकी ११ हजारको क्षमता प्रत्येक दिन खेर गइरहेको छ ।

संसारमा भिन्न रूप देखिँदै छन् । विभिन्न समाचारमा आइरहेका छन्ः जर्मनीको बर्लिन, बेलायतको लण्डनलगायतका सहरहरूमा धेरै मान्छे भेला हुन नपाइने, मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने मान्यताको उल्लंघन हुनथालको छ, सरकारविरुद्ध जनप्रर्दशन हुन थालेको छन् । ती ठाउँमा लकडाउन भए त झनै विरोध हुने रहेछ । नेपालमा त्यस्तो भएको छैन । चैतदेखि यो भदौसम्म देश निरन्तर बन्दमा छ तर नागरिकले साथ दिइरहेका छन् । बरु सरकारले नियमको उल्लंघन गरिरहेको अवस्था छ । लकडाउन र निषेधका बेला सरकारी पक्षका खुलेआम भेला बैठक आदि चलिरहेका पाइयो । यो सरकारले नै लकडाउन र निषेधलाई नमानेको अवस्था हो ।

यति गर्दागर्दै पनि अझै पनि सरकारसँग समय छ, परीक्षणलाई सहज बनाउन । यतिखेर परीक्षण शुल्क साढे पाँच हजारबाट साढे चार हजारमा झारिएको छ । यो पनि महंगो भयो । कोरोनाको परीक्षण निःशुल्क नै हुनुपर्छ भन्ने माग भइरहेका बेला चार हजार भनेको यस्तो बन्दाबन्दीले लखतरान भएको अवस्थामा सानो रकम होइन । यो महंगो भयो भने भाइरस लुक्छ र त्यसलाई पत्ता लाउन एक जनाबराबर एक लाख खर्च हुने कुरा त सरकारले नै भनिसकेको छ । यसमा ध्यान जाओस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया