Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोना र प्राकृतिक उपचारको प्रभाव

कोरोना र प्राकृतिक उपचारको प्रभाव


कोरोनाको विश्वव्यापी महामारीको उपचार अझै पत्तो लागेको छैन । यसले मान्छेको शरीरमा कस्तो–कस्तो ठाउँमा के–कसरी प्रभाव पार्छ भन्ने पनि केही हदसम्म खुल्यो तर उपचार पद्धतिचाहिँ फेरि पनि अन्योलमै छ । त्यसकारणले क्षति पनि विश्वव्यापी रूपमा नै बढी व्यहोर्नु परिरहेको अवस्था छ । त्यो नेपाल होस् कि संसारभरि नै ।

संक्रमणबाट मुक्त भएकाहरू कोही भन्छन् यो कोराना केही होइन रहेछ र कोही भन्छन् यसलाई हेप्न हुन्न है । यसको अर्थ हो उपचारका क्रममा पनि भिन्नाभिन्नै अनुभव छन् । यसले झनै कोरोनाको आतङ्कलाई विस्तार गर्छ । अहिलेसम्म कुनै रोग नभएका पनि बितेका छन् भने दीर्घरोगीहरू पनि उपचारबाट निको भएर फर्किएका छन् । यी सबैको अर्थ हो कोरोनाको उपचार अझै परीक्षणमै छ ।

यही क्रममा नेपालका प्राकृतिक उपचार केन्द्र समाचारको केन्द्रमा आएका छन् । चर्चामा आएका दुईवटा त्यस्ता केन्द्रले मानवीय क्षति हुन नदिएको वा त्यस्तो क्षति हुनबाट जोगाउन सकेकोे देखियो । यी केन्द्र हुन्, राजधानीको कीर्तिपुरमा र नवलपुरको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय । यिनलाई स्थानीय तह वा सरकारले अन्यत्रजस्तै कोभिड १९ अस्पताल बनाउने काम ग¥यो र कोरोना संक्रमितहरू त्यहीँ जान थाले । जान थाले मात्र होइन कुनै अरु अस्पतालभन्दा यी केन्द्रमा भिडभाड पनि लाग्न थाल्यो । चार/पाँच सय हुँदै हजारभन्दा बढी संख्या पुग्न थाल्यो । यी दुवै अस्थायी अस्पताल सुरु भएको तीन/चार महिनामै ठूलो संख्याका बिरामी निको भएर घर फर्किएका विवरणहरू आएका पाइयो । नवलपुरको अस्पतालबाट तीन वर्षीय बालकदेखि ७९ वर्षीय वृद्धसम्म निको भएर फर्किएका छन् ।

बताइए अनुसार कोरोनाको लक्षण भएका दीर्घरोगी वृद्धले समेत स्वास्थ्य लाभ गरे । यतिबेला यी केन्द्रमा प्रयोग भएका चिकित्साका अनुसरण गर्दै देशका विभिन्न स्थानमा कोरोना संक्रमितहरूको उपचार योग र प्राकृतिक चिकित्सा पद्धतिबाट गर्न थालिएको बताइएको छ । नवलपुरको तीन सय ५० जनाका लागि तयार पारिएको आइसोलेसनमा एकै पटकमा दुई सय ५६ जनासम्मको उपचार भएको र सबै निको भएर घर फर्किएका भन्ने समाचार राजधानीबाहिरका लागि खुशीको कुरा हो भने कीर्तिपुरले राखेको त्यस्तै कीर्ति पनि अनुकरणीय मानिएको छ ।

यी दुवै अस्पतालका विशेषता के रहेका पाइयो भने यहाँ उपचारमा गएकाहरूले अहिलेसम्म जीवन गुमाएका भन्ने समाचार आएको छैन । यो पनि एउटा नमुना नै हो । संक्रमित भएर उपचारका लागि तोकिएका असपतालमा गएका मध्ये दिनहुँ क्षति भएका भन्ने विवरण आइरहेका छन् । यो सन्दर्भमा यी दुई केन्द्र अपवाद नै रहे । अर्को यी केन्द्रले जनाएअनुसार लक्षण देखिएका संक्रमित पनि एक हप्ताभन्दा बढी उपचारमा बस्नुपरेको छैन भन्ने नै देखियो । यी अस्पतालमा चलाइएका औषधि पनि परम्परागत अर्थात् आयुर्वेदिक नै रहेका देखियो ।

नवलपुरमा नै ७५ सय जनाको संख्या कहिले नटुटेको बताइएको छ भने कीर्तिपुरमा पनि त्यस्तै । दुवै चकित्सालयले संक्रमितलाई योग, ध्यान, प्राणायाममा सहभागी गराउनुका साथै स्वस्थकर खानपान पनि गराउने गरेको बताएका छन् । चिकित्सालयका डाक्टरले कारोना संक्रमणबाट मुक्त हुन नाक र घाँटीको सफाइ महत्वपूर्ण हन्छ । यही कुरा केहीपहिले डा. सुन्दरमणि दीक्षितले पनि गरेर देखाएका थिए । त्यसै पनि यी चिकित्सालयमा मुत्युदर शून्य छ भने र उपचार पनि छिटो भएको हो भने त यसको अनुकरण गरे बेसै होला ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया