Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयरोगभन्दा भोक ठूलो मानिनु खतरा

रोगभन्दा भोक ठूलो मानिनु खतरा


कोरोनाको महामारी बढिरहेकै बेला भोक त्योभन्दा खतराको विषय भनी प्रस्तुत हुन थालेको छ । खासमा कोरोनाको महामारीले भोकको महामारीलाई माइनस गर्नुपर्ने थियो । तर यतिबेला रोगले भन्दा भोकले मर्न आँटियो भन्दै एउटा ठूलो संख्या प्रत्येक दिन मनकारीहरूले वितरण गरेका खाना पाउने ठाउँ चहारिहेका र त्यसबाट अस्थायी भोक मेटिरहेका अवस्था छ । खुलामञ्चमा मात्रै दिनको हजार÷बाह्र सयको संख्याले त्यसरी आपत्कालीन छाक टारेर जीवन जोगाइरहेका अवस्था देखिन्छन् । खासगरी एउटा वर्ग यस्तो छाक टार्ने ठाउँको खोजीमा नै हिँडिरहेको पाइन्छ दिनभरि नै ।

कतिपय त परिवारसमेत यस्तो एक छाकको खोजीमा छन् । खासगरी लकडाउन सुरु भएदेखि नै कतिपयको जीवन यस्ता मनकारीहरूको छाक टारिदिने यस्तो अभियानमा चलिरहेको छ । यो छाक टार्ने अभियानको जोखिमको पक्ष हो यसमा कोरोनाको । तर प्रश्न उठछ यो किहिलेसम्म कायम रहला । सरकार निषेधप्रति बढी आकर्षित भएको देखिन्छ । एक सय २० दिनको लकडाउनपछि भर्खर मात्र एक महिनाको निषेध क्षेत्र आंशिक मात्र खुलेको छ । त्यो पनि एक हप्ताको लागि मात्र भनिएको छ । त्यसमा जो जहाँ छन् ती त्यहीँ बस्नुपर्ने बाध्यता त छँदै छ ।

नेपालका लागि यो सबैभन्दा दुःखको वियषमा परिणत भएको छ अहिले । बिहानबेलुका छाक टार्न यसरी धाइरहनुपर्ने अवस्थाले एकातिर कोरोनाको विस्तार गराउन सहयोग गर्छ । एउटा त भरपेट खान नपाएको अवस्थामा त्यस्ता व्यक्तिको शरीर कमजोर हुन्छ र त्यसको प्रत्यक्ष प्रभाव कोरोना सर्नमा हुन्छ । यस्तो समूह कुनै व्यक्ति नभएर समुदाय जस्तै भैसको छ । दिनैपिच्छे हजार/बाह्र सयको संख्या एक ठाउँमा भेला हुन्छन् भने र त्यो लामो समयसम्म कायम रहन्छ भने त्यो समुदाय बनिसक्तछ ।

अर्काे, त्यस्ता व्यक्ति संक्रमित भए भने तिनलाई कसले अस्पताल पु-याउने र कसले उपचार गर्ने भन्ने प्रश्न खडा हुन्छ । कोराना संक्रमणको सबैभन्दा दुःखद पक्ष हो हम्मेसी उपचार नपाउनु । यस्ता दुःखलाग्दा विवरणहरू धेरै पटक आइसकेका छन् तर राज्यले त्यसलाई सहज बनाएको छैन । आम नागरिक उकुसमुकुसमा छन् । कोरोना लागिहाल्यो भने कसरी पार पाउने होला भन्ने अन्योल यो रोगभन्दा ठूलो र सोचाइको सामान्य विषय भएको छ भने वास्तवमा नै जीवनको आस समेत गुमाइसकेकाका लागि त खतरानाक हुने नै भयो ।

सरकारले केही पहिले माग्नेमुक्त देश भनी घोषणा गरको थियो । अवस्था कस्तो आयो भने त्यसपछि गरीखानेहरू माग्ने बन्न बाध्य भए । कुनै पनि दैनिक ज्यालादारी कुनै एकजनाले सात आठ महिनासम्म काम पाउँदैन भने अवस्था कस्तो होला अनुमान पनि गर्न गाह्रो पर्छ त्यो कठोरता प्रत्यक्ष भोगेकाहरू बाहिरबाट । दुःखको कुरा के हो भने सरकारले यसको अनुमानसम्म गरेन । नत्र यसको केही व्यवस्था हुने थियो ।

कोरोना नेपालको मात्र समस्या होइन । संसारभरि नै यसको प्रकोप छ । ती देशमा कस्तो व्यवस्थापन गरियो भन्ने हेरिएको भए पनि नागरिकहरूले केही राहत पाउने थिए होलान् । छिमेकी देश भारतमा सरकारले नगद रकम नै त्यस्ता अभावग्रस्तहरूका हातमा हालिदिएको थियो । यस्तै केही विकल्प हुने थियो कि सरकारका तर्फबाट चासो दिइएको भए । यो महामारी बढ्दै छ सरकारले अझै पनि सोचोस् । जोखिमको ठाउँलाई यथावत राखेर गरिने सुरक्षाका अरु सतर्कता र तयारीको कुनै अर्थ नरहन सक्तछ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया