Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमहामारीको बेला विभूषणको खेती

महामारीको बेला विभूषणको खेती


देश कोरोना महामारीबाट आक्रान्त छ । यही महामारीका कारण जनजीवन ठप्प भएको सात महिना भइसकेको छ । सरकारकै एउटा मन्त्रालयले दिनहुँ प्रेस सम्मेलन गरेर महामारीबाट मृत्यु भएका मान्छेहरूको विवरण सुनाइरहेको छ, दिनको १०/१५ का दरले । त्यस्तै संक्रमितको संख्या ६० हजार नाघिसकेको छ । सरकार आफैंले संक्रमितलाई उपचार दिन नसक्ने भनी घोषणा गरिसक्यो । अब त परीक्षणको शुल्क पनि आफैँले तिर्नुपर्ने भएको छ ।

एउटा आइसोलेसनको व्यवस्था गर्न नसकेर सरकारले प्रत्येक दिन नागरिकलाई संक्रमित भए पनि घरमै बस भनिरहेको छ । अर्कातिर त्यही सरकार करोडौँ रकम खर्चेर आफ्ना आसेपासेलाई विभूषण बाडिँरहेको छ । हात थापेर बसेका भोका जनतालाई लत्याएर केही व्यक्तिलाई हेलिकोप्टरबाट फूल बर्साइरहेको छ । के यो समय कसैलाई पुरस्कार बाँड्ने बेला हो ? सरकारले यो महामारीका बारेमा अलिकति पनि दुःखको अनुभूति गरेको छैन र उसले महामारीबाट ज्यान गुमेकाहरूका आफन्तलाई दिएको सहानुभूति र संक्रमितहरूको शीघ्र स्वास्थ्यलाभको कामना केवल देखावटी मात्र हो ।

महामारीका सन्दर्भमा आफ्नो जिउज्यानलाई बाजीमा राखेर दिनरात नभनी काम गरेकाहरूलाई पुरस्कृत गर्नुपर्छ । यो सन्दर्भमा कोरोनाको उपचार र अन्य व्यवस्थापनमा अग्रपंक्तिमा रहेर काम गर्ने केही चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिले पदक पाएका छन्  । उनले पाएका पदक दिन पनि यो के–कति सही समय थियो भन्ने चर्चा चलिरहेको बेला तिनका निहुँमा आफ्ना चाकरीबाजहरूलाई पदक लगाइदिने काम भयो ।

यस वर्ष विभूषित भएका पाँच सय ९४ जनामा केही अपवादमा मात्र त्यस्ता व्यक्ति परे बाँकी सबैको अवस्था विभूषणकै अपमान हुनेखालको रहेको देखियो । यो छ सयवटा विभूषण बनाउन सरकारको १० देखि १५ करोड रुपैयाँ खर्च गरेको अनुमान छ । यतिबेला बिल आइपुगेको छैन ।

यतिबेला मान्छेहरू चर्चा गरिरहेका छन्, यो रकमले दुर्गममा आइसोलेसन भवन बनाइएको भए कतिजनाले राहत पाउँथे होला । देशमा महामारीको सङ्कट आयो भनेर सरकारले गएको चैतदेखि समाजलाई पूराका पूरा बन्द राखेको छ । उपत्यकाको निषेधाज्ञा एक हप्ताअघि मात्र खुलेको हो । आजकै दिन पनि ४२ वटा जिल्लामा यस्तो निषेधाज्ञा जारी छ । यता सरकार भने चाकरीदारहरू खोज्दै पुरस्कृत गर्दैमा समय बिताउँछ भने यस्तो सरकारलाई के भन्ने ?

जानकारीमा आएका विवरणअनुसार विभूषित भनिएका पाँच सय ९४ मध्ये पाँच सय जनाको ख्यातिको कुनै अभिलेख छैन । केही दिनअघि मात्रै सरकारको जयकार गाएका लेखकले अग्रस्थानको पदक पाए ।

यो पदक वितरण हुँदा एकजना महिला बितेको आठ महिनादेखि खुलामञ्चमा भोका मान्छेलाई भात खुवाइरहेकी थिइन् । उनलाई त्यसदिन त्यहाँबाट हटाइयो । हो, तिनै हटाउनेले जनसेवा गरेका भनी सोही प्रकारको पद पाउनेमा दर्ज भए । एकादुईबाहेक सबै पदक पाउनका लागि योग्य थिएनन् भन्ने चर्चा यतिबेला चारैतिर चर्चा छ । चाकरीवाज बढिरहेका त प्रस्ट भयो नै त्यो चाकरीको पनि औचित्य नदेखिएको अवस्थामा समेत उच्चस्तरको पदकबाट विभूषित भए । देशको महामारीको कुनै प्रव्राह नगरी पद र प्रतिष्ठाको ब्रह्मलुट चलिरहेको छ । अब त भन्नै पर्ने भयो, हे सरकार देशमा यदि महामारी छ भने कम्तीमा त्यसको त इज्जत राखिदेऊ !


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया