Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअपराधशिरोमणिलाई कसले कारबाही गर्ने ?

अपराधशिरोमणिलाई कसले कारबाही गर्ने ?


दुई तिहाइ बहुमतको बलियो सरकार गठन भएपछि पहिलेका विकृति सच्चाएर मुलुकले नीतिगत निकास र विकास पाउने अपेक्षा गरिएको थियो । तर, दुई तिहाइ बहुमत र बहुमतको दम्भ दुवै स्खलित नहुँदासम्म सरकारले आँखा नै खोलेन । पहिला जे–जस्तो हुन्थ्यो, त्यसलाई निरन्तरता दिनुसिवाय अरु नयाँ केही देखिएन । यति मात्र होइन सरकारले त्यस्ता स्वार्थपरक कर्म बढाउँदै लग्यो । सत्तामा हुनेहरूले मात्र होइन, सत्तामा पहँुच भएका सबैले त्यही गरे र जसरी पनि धन जोड्ने होडबाजी गरे ।

त्यसैको परिमाणस्वरूप नेपालको पवित्र भूमिलाई अपराधीहरूले आश्रय लिने स्वर्ग नै बनाए । पछिल्लो पटक नेपालमा चिनियाँ ह्याकरहरूमाथि आंशिक कारबाही भयो । त्यसलाई पूर्ण कारबाही हुन प्रहरी प्रशासनले नै नदिएको कुरा दोहो-याइरहनु पर्ने होइन । चिनियाँ ह्याकरले कहाँ के ह्याक गरे भन्ने कुरो पनि सार्वजनिक गरिएको छैन । मन परेको केटो जेठाजु नाता परेजस्तो भएको छ । सरकारले त्यो बारेमा सबै कुरा बोल्न चाहेको छैन । त्यही अनाडी समातेर प्रहरी प्रशासनको उच्चतह नै त्यो अपराध कर्ममा लुटुपटिएको यथार्थ पनि कुनै तर्कशास्त्रीले पुष्टि गर्ने अवस्था छैन । पञ्चायतको उत्तरार्धमा त्यतिबेलाका आईजीपी डोबी लामा लागूऔषध गिरोहसँग मिलेर काम गरेको स्पष्ट भएपछि जेल परेका थिए ।

अहिले त मन्त्रीदेखि नातागोता, भाइभारदार सबै संलग्न देखिएका छन् । छानबिन र प्रहरी कारबाही अपराधीकै पक्षमा गएको आरोप पनि लागेका छन् । यो अवास्था सामान्य होइन । यो अपराधभन्दा पनि महाअपराध हो । त्यसमा संलग्न महान व्यक्तिहरू अपराध शिरोमणि हुन् । सत्ताले नै रुन्चेहाँसो गरिरहेका बेला ती अपराधशिरोमणिहरूलाई कसले कारबाही गर्ला भन्ने आस गर्नु ? सचेत नागरिकहरू यो अवस्था देखेर आफैँ अचेत हुने अवस्था छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया