Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोना रोकथाममा अव्यवस्था झन्झन् बढ्दै

कोरोना रोकथाममा अव्यवस्था झन्झन् बढ्दै


झन्झन् पछिल्ला दिन कोरोनाका सन्दर्भमा नयाँ–नयाँ उल्झनहरू देखिन थालेका छन् । एउटा त महामारी झनै बढ्दै छ र अर्को सर्वसाधारणका लागि उपचार झनै जटिल बन्दै छ । तेस्रोमा पर्छ नक्कली कारोबारहरू । जे कुराले कोरोनाको संक्रमणलाई फैलिन दिँदैन भनिएको छ तिनै कुरा नक्कली देखापर्न थाले । यहीबीचमा एउटा अर्को समस्या थपिएको छ उपचार र परीक्षण निःशुल्क हो कि सशुल्क भन्ने ।

एउटै अस्पतालमा समान अवस्थाको र एउटै लाइनमा बसेको एउटा व्यक्तिले निःशुल्क पाउँछ र अर्कोले महँगो शुल्क तिर्नु परिरहेको छ भने यो अव्यवस्थाको चरम अवस्था हो । यो भनेको राज्यको साधनस्रोतमा पक्षपात पनि हो । यो ठाउँमा उल्लेख भएको विवरण सरकारी अस्पतालको हो, जसलाई निःशुल्क गरिएको भनी धेरै प्रचार भएको थियो र भइरहेको पनि छ । यहीबीचमा देशभित्र कोभिड–१९ नेगेटिभ रिपोर्ट आउनेहरू विदेशमा पोजिटिभ बनिरहेका छन् । जब यति संवेदनशील विषयमा नै अनुमतिप्राप्त प्रयोगशालाका प्रतिवेदन शंकाको घेरामा पर्छन् भने अनुमान गरौं स्थिति के होला ।

कोरोना भाइरसको परीक्षण र उपचारमा यतिबेला सरकारी अस्पतालको मापदण्ड के हो भन्ने नै खुल्न सकेन । खासगरी सरकारले सबैलाई सःशुल्क गराएपछि र अदालतले निःशुल्क गराउन आदेश दिएको थियो । तर अहिले उपचारमा नै यस्तो दोहोरो अवस्था देखिन थालेको छ । यसले के गरायो भने कोरोनाका नाममा सरकारी अस्पताल पनि खुलेआम नाफाकारी निकायमा परिणत हुनथाले । यस्तो मापदण्ड निर्धारण गर्दा नै सरकारको अदूरदर्शीता देखियो । लक्षण प्रकट भएका र नभएका भनी दुई थरीका अवस्थालाई दुई थरीकै व्यवहार गर्न भनिएको स्थितिले शुल्क असुल्ने बाटो खोलिदिएको बुझ्न सकिन्छ । जस्तोसुकै अवस्थामा होस् परीक्षण त निःशुल्क नै गर्नुपर्ने हो । यसले सरकारको रोकथामको प्रयासमा धेरै नै ठूलो मदत गर्छ । संसारभरि नै यस्तै भइरहेको छ ।

नेगेटिभ आएका अवस्थामा त टाउको दुखाउने कुरा नै भएन । तर परीक्षणमा पनि लक्षण भएका र नभएका भनी भेद गर्न थालेका अवस्थामा शंका लागेका भरमा मान्छेहरू हम्मेसी जाँच गर्न आउँदैनन् । यसले नोक्सानी सरकारको अभियानमा नै पुग्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथामका बारेमा आफ्नो धारणा र रणनीति के हो भन्ने नै भेउ पाउन सकिएन । यस्तो बेला अनुगमन संयन्त्र प्रभावकारी होस् भनी सुझाव दिनुको पनि अर्थ नरहला । कतिसम्म भने उपचारका लागि अस्पताल आएको मान्छेलाई हिँडेर आएको भनी त्यसमा लक्षण नभएको ठहर गरेका समेत रिपोर्ट आएका छन्, जो सरासर गलत हुन् ।

पीसीआर रिपोर्टमा गलत देखिनु त योभन्दा पनि आपत्तिको विषय हो । पछिल्लो समय यहाँको परीक्षणले नेगेटिभ देखाएका यात्रुहरू गन्तव्य देशमा पोजेटिभ देखिए । यो बिरामीभन्दा पनि यात्राको बन्दोबस्ती थियो जसले उनीहरूलाई पनि संकटमा पार्छ । यो यात्राको सन्दर्भ हो । उपचारका क्रममा यस्ता विपरीत रिपोर्ट आए भने त्यसको परिणाम कल्पना पनि गर्न नसक्ने खालको होला । यो भनेको कोरोना सार्न सहयोग गरिरहिएको अवस्था हो । संक्रमित व्यक्ति यो रिपोर्टको आधारमा संक्रमण नभएको भनेपछि त्यसले समाजमा कति संक्रमण फैलाउला अनुमान गर्न सकिन्छ । यस्तो कुरालाई सामान्य नठानियोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया