Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमहिला हिंसाको डरलाग्दो चित्र

महिला हिंसाको डरलाग्दो चित्र


भर्खरै मात्र तराईको एउटा जिल्ला महोत्तरीमा एउटा डरलाग्दो घटना भयो । प्राविधिकरूपले मात्र महिला र पुरुष भनेर चिनिने एक चार वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको समाचार आयो । यो उमेर भनेको आफू पुरुष हो कि महिला भन्ने उनैलाई पनि पहिचान हुँदैन । तर महिला भएकै कारण उनको यो उमेरमा ज्यान गयो । यस्ता घटना पछिल्ला दिन झन् बढ्दै गएका छन् । यस्तो समाचार नआएको दिन नै नभेटिएला । यसको अर्को दुःखद पक्ष हो– यो ठाउँमा राज्यको उपस्थिति भएन । राज्य छैन भन्ने लागेर नै हो यस्ता घटना दोहोरिइहने । त्यसमाथि गृहमन्त्री आफैँ यस्ता घटना त्यति चिन्ताजनक होइनन्, समाजमा भैरहन्छन् भनी सार्वजनिक मन्तव्य दिन्छन् भने त यस्तो अपराधकर्मलाई राज्यले नै प्रोत्साहन गरिरहेको हो कि भन्नुपर्ने हुन्छ ।

अहिलेका गृहमन्त्रीले काम थालेका बेलादेखि नै बलात्कारका घटनालाई हलुका रूपले प्रस्तुत गर्दै आएका छन् । उनका अनुसार बलात्कारका घटना पुँजीवादी व्यवस्थाका उपज हुन् । यसको अर्थ हो त्यसकारण राज्य यसमा संवेदनशील भइरहनु पर्दैन । ०७५/०७७ सालमा गृहमन्त्रीका जवाफ एउटै छन् खासगरी बलात्कारका घटना चिन्ताजनक छैनन् भन्ने । त्यही गृहमन्त्रालयको तथ्यांक भने डरलादो छ । गृहमन्त्रालय अर्थात् प्रहरी र महान्यायाधिवक्ताको कार्यालयको तथ्यांकअनुसार पछिल्ला दिन दिनमा ६ महिला बलात्कृत हुनेगरेका छन् । त्यसको अझ गम्भीर र दुःखद पक्ष हो यसमा बलात्कृत बालिकाको संख्या धेरै नै ठूलो रहने गरेको छ ।

विवरणअनुसार ०७०/७१ मा पाँच सय ५९ बालिका बलात्कारको सिकार भएका थिए भने गतवर्ष यो संख्या १३ सय ९३ पुगेको छ । यो भनेको करिब दुई तिहाइ बढी संख्या हो । त्यो तथ्यांक भन्छ पछिल्ला सात वर्षमा १४ हजार सात सय ५४ महिला बलात्कारको सिकार भएका थिए भने त्यसमध्ये छ हजार तीन सय ६३ त १८ वर्षमुनिका थिए । वर्तमान गृहमन्त्रीको कालमा बलात्कारका घटना बढेका छन् । उनका भनाइहरूले मात्र होइन विवरणले पनि त्यस्तै देखाइरहेका छन् । यसमा उनको भूमिका नै नै शंकास्पद त होइन भन्ने प्रश्न गरियो भने आश्चर्य नहोला । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०/७१ मा एक हजार तीन सय ५६ महिला बलात्कारको सिकार भएका थिए । तर, आव ०७६/७७ सम्म आइपुग्दा यो संख्या दोब्बरभन्दा धेरैले बढेको छ । यो वर्ष दुई हजार आठ सय ३१ महिला बलात्कृत भएका थिए । चालू आवको असोजसम्म सात सय २२ महिला बलात्कृत भएको याइयो ।

यी विवरणको एउटै निष्कर्ष हुन्छ महिला हिंसाका घटना दिन दुगुनाका दरले बढिरहेका छन् । यो हिंशामा सरकारको दण्डको सन्देश प्रभावी क्षेत्रमा पुगेको देखिएन । बरु शान्ति सुरक्षाको जिम्मा लिएका पदाधिकारीको गैरजिम्मेवारपूर्ण भनाइ भने सर्वत्र फैलिए । शान्तिसुरक्षा भनेको सन्देशक कस्तो हुन्छ भन्नेले पनि काम गर्छ । यो ठाउँमा यस्तो अपराध कर्म गर्दा भोग्नुपर्ने दण्डको सन्देश गएन । यी विवरणहरूले बताउने कुरा त्यही हो । चालू आर्थिक वर्षको असोजसम्मका सात सय २२ घटनामा चार सय ६५ बालिका बलात्कारको सिकार भएका देखियो । यस्तो अपराधकर्म अब बालिकामाथि केन्द्रित हुन थालेका छन् जो अझ बढी दुःखद हो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया