
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा दिएको शुभकामना सन्देशमा पत्याउनै नसकिने खालका कुरा गरेका छन् । प्रधानमन्त्रीजस्तो गरिमामय पदबाट व्यक्त विचार वा सन्देशमाथि सन्देह उठ्नु दुर्भाग्य नै हो । ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने प्रधानमन्त्रीको पुरानै नारा हो ।
विघटित संसद्को निर्वाचनको क्रममा यो नारा अत्यन्त लोकप्रिय भएको थियो । त्यसकै परिणाम वाम गठबन्धन र अहिलेको नेकपाले दुई तिहाइको हाराहारीमा मत पायो । कुनै एउटा राजनीतिक पक्षले यति धेरै मत पाएको इतिहास कालखण्डको यो एउटा ठूलो अवसर थियो । यो अवसरले वास्तवमा नै समृद्ध नेपाल, सुखी नेपाली भन्ने नाराले सार्थकता पाउन सक्ने अवस्था पनि हो यो । तर त्यसको सदुपयोग भएको अवस्था रहेन । निर्वाचनको तेस्रो वर्ष पूरा गरेका भोलिपल्टै संसद् विघटनमा प-यो ।
स्थिर सरकारबाट धेरै ठूला अपेक्षा गरिरहेको अवस्थामा सरकारले अस्थिरताको जग बसाल्ने काम ग-यो । यसले जनतामा झन् निराशा छाएको छ । यो बेला सरकार स्वयम् आफ्नो त्यति ठूलो हैसियत गुमाएर कामचलाउमा परिणत भयो भने धेरैले शंका गरेका अवस्थामा चुनाव नै सम्पन्न भए पनि देशमा अब फेरि पहिलेको जस्तो स्थिर सरकारको सम्भावना देखिँदैन । यस्तो बेला यो नयाँ वर्ष सन् २०२१ को अवसरमा प्रधानमन्त्रीले त्यही समृद्ध नेपाल, सुखी नेपाली भन्ने राष्ट्रिय आकाङ्क्षाको चर्चा गर्दै पूरा गर्न स्थिर राजनीति अपरिहार्य भएको बताए ।
यो ठाउँमा भनाइ र गराइ मिल्दैन । समृद्ध नेपाल, सुखी नेपाली भन्ने राष्ट्रिय आकाङ्क्षा हो भने र त्यसलाई पूरा गर्न स्थिर राजनीति अपरिहार्य छ भने प्रधानमन्त्रीबाट चालिएका पछिल्ला कदम त्यसतर्फ उद्यत हुन् त ? प्रधानमन्त्रीले भनेका छन्– ‘मुलुक निर्माणको प्राथमिकताबाट विमुख व्यक्तिहरूका निजी आकाङ्क्षाहरूले सिर्जना गरेका अवरोधहरूलाई छिचोल्दै राष्ट्रको साझा आकाङ्क्षा पूरा गर्ने बाटोमा हामी अविचलित निष्ठासाथ अघि बढिरहेका र आगामी दिनमा हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यावहारिकरूपमा सबलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामहरूलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढिनेछ ।’
प्रधानमन्त्रीले भाषणमा यस्ता दृढता व्यक्त गरिरहँदा काममा भने भने ठीक उल्टो भइरहेको छ । उनले करिब दुई तिहाइको संसद्ले आफ्नो अवधि पूरा गर्न नपाइकनै संसद् भंग गरेका छन् । यस्तो बेला प्रधानमन्त्रीले भनेको समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य तय गरी अघि बढिरहेका र यसका लागि स्थिर राजनीति अपरिहार्य रहेको भन्ने कुरालाई कसरी पत्याउने ? प्रधानमन्त्रीले नै कुनै बेला यसको उत्तर दिने होलान् तर नागरिकले भने प्रधानमन्त्रीका भनाइलाई सहजरूपले पत्याउने अवस्था अहिले देखिएको छैन ।
वर्षभरि यस्ता राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने र स्थिर राजनीति स्थापित गर्नेभन्दा आपसी झगडामै बितेका दृश्यहरू सबैका आँखामा ताजा छन् । त्यसैले अहिलेसम्मका काम र कुरा हेर्दा पनि प्रधानमन्त्री झुटको खेती गरेर जनतालाई झुक्याउने काममा सिपालु देखिएका छन् । यसमा सच्चिनु आवश्यक छ ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया