Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसरकारका भाषणले दिक्क

सरकारका भाषणले दिक्क


काठमाडौं ।
खासगरी जनताको सार्वभौमसत्ताको प्रतिनिधित्व हुने थलो संसद् विघटन भएको दिनदेखि यता प्रधानमन्त्री, मन्त्री र राजनेताहरू यथार्थ बुझाउन भन्दै विभिन्न कार्यक्रममा सक्रिय भएका छन् । यथार्थ बोध गराइएको हो कि भ्रम पारिएको हो भन्नेचाहिँ अन्योल छ  । पुस ५ यता सरकारका सबै सदस्यको सक्रियता धेरै नै बढ्यो । सरकारमा प्रधानमन्त्रीसहित २५ जना सदस्य छन् । तीमध्ये केही अपवादबाहेक सबै एकैमुख भएर बोलिरहेका छन् । गएको तीन दिन प्रधानमन्त्रीको व्यस्तता र उनका भाषण हेरियो÷सुनियो भने पनि धेरै कुरा आफैँ प्रस्ट हुन्छ ।

शुक्रबार सुदूरपश्चिमको धनगढीमा आमसभा भाषण, शनिबार राजधानीमा आफ्नो खेमाका कार्यकर्ताको सम्मेलन, आइतबार राष्ट्रियसभाको समापन अधिवेशनलाई सम्बोधन । यी सबै ठाउँमा प्रधानमन्त्रीको भाषणको समय डेढ÷दुई घण्टाकै रह्यो । यता विषयचाहिँ एउटै थियो– काम गर्न दिइएन र ताजा जनादेशमा गएको । यसबीचमा थपिएको विषय हो पूर्वप्रधानन्यायाधीशहरूले निकालेको
वक्तव्यमा प्रहार ।

यो प्रधानमन्त्रीमा मात्र सीमित रहेको विषय होइन । सबै मन्त्रीहरू देश दौडाहामा छन् । एक जना मन्त्रीले भनेअनुसार एक दिनमा ८÷१० ठाउँमा समेत सार्वजनिक कार्यक्रम भए र भइरहेका छन् । एउटा अध्ययनले देखाएको विवरणअनुसार यो हप्ताको प्रारम्भको एक दिनको मन्त्रिपरिषद् बैठकमा त एक तिहाइ मन्त्रीको पनि उपस्थिति रहेन । कारण थियो उनीहरू राजधानीमा नहुनु । सबै भाषणमै व्यस्त थिए ।

ताजा जनादेश, जनताको सम्मान गर्न जनादेश, निर्वाचनको विकल्प नरहेको, जनताप्रति इतिहासमै सबभन्दा बढी जिम्मेवार रहेको सरकार, आफ्नै पार्टीका नेताहरूले काम गर्न दिएनन् र सभा विघटन गर्नुपरेको, अबको निर्वाचन जितेर देश समृद्ध बनाउने– यी दौडाहाका एकपक्षीय र निरन्तर दोहोरिरहने भाषण हुन् भने अर्कोतर्फ केही अघिसम्म सँगै रहेका नेताहरूलाई गाली गर्ने काम यी भाषणका विशेषता रहँदै आएका छन् । यस्ता भाषणमा न विकासका कुरा छन् न सर्वसाधारणले भोग्नुपरेका कठिनाइहरूका सन्दर्भ जोडिन्छन् । मन्त्रीहरूको काम भाषण सुनाउने मात्र भएजस्तो देखिन्छ । यसले यतिबेलाको राष्ट्रिय समाचार आफैँ दिक्क लगाउने खालको हुँदै गएको छ । यसले सवाल उठाएको छ, के यो जनताको अपमान वा अवमूल्यन होइन ?

कोरोनाको कहर जस्ताको तस्तै छ । जति परीक्षण घट्छ त्यति नै संक्रमितको दर पनि घट्छ नै । तर सरकार त्यसमै दङ्ग छ । एक हजारको परीक्षण हुँदा सवा सयको दर अहिले पनि कायम छ । तर सरकार ठूला–ठूला जनभेला र प्रदर्शनीको होडबाजीमा लागेको छ । धेरैभन्दा धेरै जनाता भेला पार्ने र देखाउने काम त अब सामान्य भयो । कुनै एक ठाउँमा जनता भेला पार्ने मात्र होइन यस्तो सन्देश देशभरि पुगोस् भन्ने चाहना सरकारको देखियो । धेरै मान्छे भेला भएको फोटो नछापिदिएको भनेर प्रधानमन्त्रीले प्रेसलाई नै गालि गरिरहेका छन् ।

राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले प्रेसमाथि जे–जस्ता शब्दले आक्रमण गरे त्यो आफैँमा यो कुराको एउटा उदाहरण हो । प्रधानमन्त्रीले त कोरोनाबाट बच्न आपिल गर्नुपर्ने थियो तर उनी नै यतिबेला त्यसको विस्तारलाई पर्खिरहेका जस्तो पात्रका रूपमा देखिएका छन् । यस्ता अनेक विडम्बना दिनैपिच्छे प्रकट भइरहेका छन्, जसलाई रमिताका रूपमा जनताले हेरिरहनुपरेको छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया