Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकारबाही गरिनुपर्ने नै पुरस्कृत

कारबाही गरिनुपर्ने नै पुरस्कृत


गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्रनाथ खनाललाई नगद १० हजार रूपैयाँ पुरस्कार प्रदान गरेका छन् । गत १७ गते एक कार्यक्रमका बीच मन्त्री थापाले महानिरीक्षक खनाललाई बेरुज फर्छ्यौटमा सफलता प्राप्त गरेको भनी पुरस्कार प्रदान गरेका हुन् । प्रहरीको काम विधिसम्मत तरिकाले अर्थात् मानव अधिकार उल्लङ्घन नहुने गरी समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नु हो । प्रहरीको मूल काममा महानिरीक्षक खनाल पूर्णरूपमा असफल भएका छन् । पछिल्लो घटनाक्रमअनुसार उनको चिनियाँ आपराधिक गिरोहसँग संलग्नता रहेको तस्बिरसहितका विवरण सार्वजनिक भएका छन् र उक्त गिरोहमाथिको कारबाहीलाई फितलो बनाएको र उनीहरूलाई भगाएको आरोप पनि उनीमाथि लागेको छ । उनीमाथि लागेको यो आरोप हो ।

यसअघि उनीमाथि निहत्था कुमार पौडेललाई नियन्त्रणमा लिएर इन्काउन्टरको नाममा हत्या गरेकोले उनलाई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलार्ई सिफारिस गरिसकेको छ । त्यसअघि उनले फेक इन्काउन्टर गरी ‘घैँटे’ भनिने कुमार श्रेष्ठलाई काठमाडाँैको सामाखुसीमा हत्या गरेको आरोप लागेको छ । उनले आपराधिक गिरोहसँग साँठगाँठ गरेको र नमिल्ने ठाउँमा प्रहरी लगाउने गुण्डालाई परिचालन गरेर आफूसँग असहमत हुने व्याक्तिहरूलाई तर्साउने धक्याउने, आक्रमण गराउने र तेजोबध गर्ने काम पनि गर्दै आएका छन् ।

आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रबिन्दु बनाएर उनले प्रहरी महानिरीक्षक पदको चरम दुरूपयोग गर्दै आएको कुरा नकार्न सकिँदैन । पदीय दुरूपयोग गर्ने यस्ता व्यक्तिलाई कारबाहीको गर्नुपर्नेमा पुरस्कृत गर्दा देश, विदेश, जनता, समाज, प्रशासनयन्त्र र त्यही प्रहरीको तल्ला निकायमा कस्तो सन्देश जान्छ भन्ने पनि सरकारले ख्याल गर्नुपर्ने हो । तर, त्यसतर्फ सरकारको ध्यान गएको देखिएन । बर्दीको आडमा इन्काउन्टरको काउन्टर खोलेर निहत्था नागरिक मार्नु कुनै पुरुषार्थ होइन, फेरि त्यही व्याक्तिलाई कारबाही गर्नुको बदला पुरस्कृत गर्नु कसरी न्यायसम्मत हुन सक्छ र ?


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया