Techie IT
×
गृहपृष्ठसम्पादकीयजघन्य अपराधमा राज्य उदासीन

जघन्य अपराधमा राज्य उदासीन


काठमाडौं ।
पछिल्लो हप्ता भएको एउटा दुःखद घटनाका कारण दिनहुँ मानिसहरू सडकमा ओइरिइरहेका छन् । बैतडीबाट सुरु भएको यो प्रतिरोध वा भनौँ सुरक्षाको प्रत्याभूति खोज्ने काम साढे दुई वर्षअघिको घटनाजस्तै देशैभरि फैलिन थालेको छ । १७ वर्षीया किसोरी भागरथीको बलात्कार र हत्या भएको डेढ हप्ता भइसक्यो । तर दोषीको अत्तोपत्तो छैन । अस्पतालबाट लाससमेत उठ्न नसकेको अवस्था छ । मानिसहरू झन्झन् चिन्तित हुँदै छन् । सरकारमाथि अविश्वास बढ्दै छ ।

कतै यो घटनामा पनि उच्चास्तरको संलग्नता त छैन भन्ने प्रश्नहरू आम तहमा देखिएका छन् । राजधानी आन्दोलनमय भएको छ । कारण हो सरकार जिम्मेवार भएन भन्ने । कतिपय अवस्थाले त्यस्तो देखाउँछ पनि । स्कुल गएकी बालिका फर्कन पाइनन् । स्कुल जानु असल जीवनको कामना हो । उन्नत जीवन खोज्दा प्राणै निमोठिएको घटनामा राज्य लज्जित हुनुपर्ने हो ।

नेपालमा यस्तो घटना भएकै समयमा छिमेकी देश भारतमा पनि त्यस्तै बलात्कारपछि बालिकाको प्राणै लिने जघन्य अपराध भएको थियो । त्यसबापत त्यहाँका थानेदारको पद नै निलम्बन भयो । यसको अर्थ हो आफ्नो क्षेत्रमा यस्ता जघन्य अपराध हुँदा कम्तीमा राज्यका सम्बन्धित पदाधिकारीमध्ये कोही त दण्डित हुनुपर्थ्यो । तर त्यस्तो केही पनि देखिएन । घटना भएको दिनदेखि हामी दोषीनजिक पुगेका छौँ भन्ने भनाइबाहेक भागरथीको बलात्कार तथा हत्याको कम्तीमा दशौँ दिनसम्म यही कुरा मात्र दोहोरिइरहेको छ । भागरथीको बलात्कारपछि हत्याको घटनापछि घटनास्थलमा सीआईबी, अनुसन्धान विभाग र नेपाल प्रहरीको ठूलो टोली पुगेको छ । तर सवाल टोलीको उपस्थिति होइन पीडित परिवारहरूका लागि चाहिने कुरा छिटोभन्दा छिटो दोषी दण्डित हुनु हो ।

त्यो क्षेत्रका स्कुल/कलेज सबै बन्द छन् हप्ता दिनदेखि नै । त्यसै पनि यो डरलाग्दो घटना हो । अपराधी पत्ता नलाग्दाको प्रत्येक परिवार आफ्ना सन्तान खासगरी छोरीहरूलाई घरबाहिर निस्कन दिने अवस्थामा हुँदैनन् । यो भनेको राज्यप्रतिको विश्वास उठेको अवस्था हो । यो अपराधी नभेटिएको अपवादको घटना होइन । विगतमा पनि यस्तै हुनेगरेको छ । निर्माला पन्तको घटना दुःखद सेलीबे्रटी भइसकेको छ, अपराधीलाई उम्काइएको हो कि फेला नपारिएको भन्ने सन्दर्भमा । त्यो घटनमा अपराधी उम्काइएको भन्ने आम धारणा रहेको छ । त्यसकारण पनि आम मानिसहरू झनै त्रसित बनेका हुन् ।

यतिबेला सबैतिर भागरथी हत्यामा संलग्नलाई कडा कारबाहीको माग सबैको छ । तर यो सन्दर्भमा प्रधानमन्त्रीबाट न निर्देशन आएको छ न आश्वस्त पार्ने बचन नै । यसले हत्यामा संलग्नलाई पत्ता लगाउन नसक्ने गृहमन्त्रीको राजीनामासम्मको कुरा उठ्न थालेको छ । एक पूर्वसांसदको विज्ञप्तिमा त्यस्तै माग भएको छ । त्यसमा भनिएको छ, ‘भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धानको दायरामा नल्याउन्जेल हाम्रो संघर्ष जारी रहनेछ, यस घटनाका बारेमा प्रधानमन्त्रीबाट आम नागरिकको चासो र चिन्तालाई सम्बोधन गरी सम्बन्धित निकायलाई तुरुन्तै कडाभन्दा कडा कारबाहीका लागि निर्देशन गरियोस् ।

यदि तुरुन्तै दोषी पत्ता लगाउन नसक्ने हो भने अविलम्ब गृहमन्त्रीले राजीनामा दिनुपर्दछ ।’  तर यस्ता घटनामा सरकारमा रहेकाहरूसँग कुनै संवेदना नै नरहेको जस्तो देखिएको छ । यस्तो जघन्य अपराध हुँदा र अपराधी पत्ता नलाग्दा पनि कसैको पदमा कतै सामान्य प्रश्न समेत उठेको छैन । सबैभन्दा दुःखद पक्ष यही रहेको छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया