Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयतीन वर्षमा सरकारको अलमल मात्र

तीन वर्षमा सरकारको अलमल मात्र


काठमाडौं ।
प्रधानमन्त्रीले यसै हप्ता आफ्नो कार्यकालको तीन वर्षका उपलब्धिहरूको फेहरिस्त प्रस्तुत ग¥यो । त्यसको निचोडमा यी तीन वर्ष कसरी बिते भन्ने प्रधानमन्त्रीकै भनाइले अलमल भएको बुझाउँछ । प्रधानमन्त्रीले नै भने, ‘जुन आर्थिक वर्षलाई मैले समृद्धिको आरम्भ वर्षको रूपमा प्रस्तुत गरेँ, त्यसै वर्ष म बिरामी परेँ, जुन वर्ष विकासका कामलाई हामीले तीव्रताका साथ अघि बढाउनु थियो, त्यसै वर्ष कोभिड १९ को महामारीले हामीलाई अत्यायो, जतिखेर राष्ट्र एक भएर महामारीका विरुद्ध जुध्नुपर्ने थियो, त्यही समय मेरा सहकर्मीहरू सरकार कसरी ढाल्ने भन्ने उद्यममा ज्यानै फालेर लाग्नुभयो, यसले निश्चय नै हाम्रा सफलता र सपनामाथि प्रहार भएको छ ।’ प्रधानमन्त्रीको यो भनाइले विगतका यी तीन वर्षमा देश अलमलमा परेको नै बुझाउँछ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था व्यक्तिगत कुरा हो भने महामारी सामूहिक हो । त्यसमाथि आयो सत्तारुढ दलको विवाद । तीन वर्ष कसरी बिते भन्ने प्रधानमन्त्रीका स्वीकारोक्ति इमान्दारिताको कुरा हो । वास्तवमा नै बितेका यी तीन वर्षमा विकास निर्माणका कामहरू जुन गतिमा सम्पन्न हुनुपर्ने हो त्यो भएन भन्ने नै छ सबैतिर । त्यसमाथि प्रधानमन्त्रीबाट नै यस्तो स्वीकारोक्ति आएपछि अवस्था के हो भन्ने धेरै उल्लेख गरिरहनु पर्दैन । यसमा पनि प्रधानमन्त्रीको दाबी आयो– ‘नकारात्मक प्रचारबाजीका बाबजुद यी तीन वर्षमा जे–जति आधार बनेका छन्, जति काम भएका छन्, मुलुकले निराश हुनुपर्ने अवस्था छैन भन्ने म ठान्दछु ।’ वास्तवमा सुरुदेखि नै सरकार बढी प्रचारमुखी भएको थियो ।

विकास नहुनुमा अहिले पनि प्रधानमन्त्रीले पूरै एक वर्ष आफ्नो स्वास्थ्य अवस्थालाई कारण बनाए । जुन वर्ष विकासका कामलाई तीव्रताका साथ अघि बढाउनु थियो त्यसै वर्ष कोभिड १९ को महामारी आएको र जतिखेर राष्ट्र एक भएर महामारीका विरुद्ध जुध्नुपर्ने थियो त्यही समय दलभित्र किचलो सुरु भएको र त्यसले अपेक्षाकृत काम हुन नसेको भनिसकेपछि प्रधानमन्त्रीको मुखबाट काम नभएको भन्ने नकारात्मक प्रचारबाजी भएको भनी आरोप लगाउनु आफैंमा सरकार कामभन्दा बढी प्रचार चाहन्थ्यो भन्ने बुझाउँछ ।

सत्तारुढ दलभित्रको किचलोले निश्चय नै प्रभाव पार्छ नै । जे–जति काम भए त्यसमा नागरिकले अनुभूति गर्न पाएका भए सरकारले प्रचार खोज्नै पर्दैन थियो । कोभिडविरुद्ध सरकारले समयमा नै खोप ल्यायो त्यो आफैँ प्रचार भइरहेको छ । तर यी तीन वर्षमा किसानले मल पाए त ? प्रधानमन्त्रीले अनुदानको रकमको अंक भनेका छन् तर चाहिएको त मल थियो नि ।

विकास निर्माणमा जब बहाना चल्न थाल्छ वा त्यसले ठाउँ पाउँछ त्यसपछि यथास्थितिमै घुमिरहन्छ । यो सरकार स्थिरताको नाराबाट गठन भएको हो । स्थिर सरकार भनेको सरकार चल्नका लागि मात्रै होइन । त्यसले केही परिवर्तन ल्याउनुपर्छ । तीन वर्षको समयमा प्रधानमन्त्री आफैँले कोसीनदीमा जलयात्रा चलिरहेको बताए । यो आफैँमा प्रधानमन्त्रीका बोली र कामबीच आम नागरिकले देखेका र भोगेका भिन्नता हुन् । सरकारले यो शैली बदल्नुपर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया