Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयउद्योगमा लगानी घट्नु चिन्ताजनक

उद्योगमा लगानी घट्नु चिन्ताजनक


काठमाडौं ।
प्रधानमन्त्रीले देशमा यतिबेला जे भइरहेका छन् ती सन्तोषजनक छन्, निराशाको अवस्था छैन भनी आश्वस्त पारेकै समयमा एउटा निराशाजनक अवस्थाको खुलासा भएको छ । त्यो हो उद्योग क्षेत्रमा लगानी घटेको विवरण । उद्योग क्षेत्रमा लगानी घट्नु भनेको चौतर्फी प्रभाव पर्ने कुरा हो । यसले नेपालको गन्तव्यमा तगारो हाल्छ । देश आत्मनिर्भरतामा लाग्नुपर्ने देखि रोजगार र राजस्वको अवस्था समेतमा असर पर्ने हुन्छ ।

सरकारको तीन वर्षको अवधिको उपलब्धिका बारेमा प्रधानमन्त्रीले लामो विवरण दिएका केही दिनपछि नै उद्योग क्षेत्रको यस्तो दृश्य सार्वजनिक भएको हो । फागुन ३ मा प्रधानमन्त्रीले उपलब्धिका फेहरिस्त बताउँदा यो क्षेत्रको चित्र भिन्नै थियो अर्थात् लगानी बढेको भन्ने थियो तर पछिल्लो समय उद्योग मन्त्रालयको विवरण भने भिन्न आयो । यसले सूचनामा पनि एकअर्काबीच तालमेल नभएको बुझाउँछ । यस्तो कुरा निश्चय नै सकारात्मक होइन ।

उद्योग विभागले दिएको जानकारीअनुसार चलिरहेको यो वर्ष उद्योग क्षेत्रमा विगतको तुलाना भएको लगानी हेर्दा २७ अर्ब ३९ करोड ९० लाख रुपैयाँले कमी आएको देखियो । थपिनुपर्ने ठाउँमा विगतको लगानी जति पनि कायम नरहनु र अझ घट्ने काम वास्तवमा नै यो क्षेत्रमा नकारात्मकतर्फको यात्रा सुरु भएको हो कि भन्ने शंका नगर्ने ठाउँ बन्छ । यो चित्र बितेको सात महिनाको अवधिको हो । यो समय कोरोनाको महामारी भए पनि लकडाउन नै भएको अवस्थाचाहिँ होइन ।

यस वर्षको यो अवधिमा स्वदेशी तथा विदेशी उद्योगी लगानीको अंक ८२ अर्ब ३३ करोड ७९ लाख रुपैयाँ अनुमान गरिएको थियो । यो रकम लगानी स्वीकृत गराएको अवस्थाका हुन् । यही काम गत वर्षको यही समयमा एक खर्ब नौ अर्ब ७३ करोड ६५ लाख लगानी स्वीकृत गराएको वा भएको थियो । यो भनेको लगानीमा विगतको भन्दा साढे २७ अर्बको अंकमा कमी आएको अवस्था हो ।

विभागका अनुसार कृषि तथा वन पैदावर, सूचना, सञ्चार तथा प्रविधि, उत्पादन, सेवा र पर्यटनमूलक उद्योगहरूमा गरिने लगानीमा त्यति रुचि देखिएन । लगानीकर्ताहरूले विभागबाट ऊर्जामा ६१ अर्ब ४८ करोड ७८ लाख, उत्पादनमा सात अर्ब दुई करोड ८१ लाख, कृषि तथा वन पैदावरमा तीन अर्ब ५५ करोड, पर्यटनमा चार अर्ब २६ करोड ५७ लाख लगानी गर्ने भन्दै विभागबाट लगानी स्वीकृत गराएका बताइएको छ । यी केही उदाहरण मात्र हुन् । स्वीकृत गराइएकामध्ये एक सय १९ वटा उद्योग र तिनबाट छ हजार नौ सय चार जनालाई रोजगारी प्राप्त हुनेछ । गत आवमा उनीहरूले स्वीकृत गराएको लगानी रकममा दुई सय १२ वटा उद्योग स्थापना हुने र १३ हजार छ सय १३ जनालाई रोजगारी दिने अवस्था थियो ।

लगानी घट्दा त्यसको मार प्रत्यक्षरूपमा रोजगारीमा परेको छ । विगतको यो समयमा १३ हजार छ सय १३ जनालाई रोजगारी दिने क्षमता बनेकोमा त्यो करिब पूरै आधाको संख्यामा झरेको छ । चालू वर्ष यस्तो लगानबाट करिब सात हजार जनालाई रोजगारी प्राप्त हुने अवस्था देखियो । यसले उत्पादन वा सेवा घट्ने र त्यसले दिने आत्मनिर्भरता पनि घटाउने अवस्था हुन्छ । त्यसकारण सरकारले यो स्थितिमा सुधार ल्याउनै पर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया