Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयराम्रा कामको प्रचार गरिरहनु पर्दैन

राम्रा कामको प्रचार गरिरहनु पर्दैन


काठमाडौं ।
सरकारमाथि कुबेलामा चुनाव लादिएको र असंवैधानिक काम गरेको भनी व्यापक रूपको आरोप लागिरहेको बेला सरकार भने आफ्ना काम देखाउनमा व्यस्त छ । सरकार यतिबेला सानासाना कामलाई पनि प्रचारमा ठूलाठूला बनाइरहेको छ । उपप्रधानमन्त्रीले आफ्नो चुनाव क्षेत्रमा एउटा धार्मिक कार्यक्रम, भीमसेनको मूर्ति अनावरण गर्दा यसलाई यतिठूलो समाचार बनाइयो यो एतिहासिक परिवर्तनकारी नै काम काम भएको देखाइयो ।

यस्ता काम गर्न मन्त्रीहरूलाई भ्याइनभ्याइ छ । मन्त्रीहरू मात्र होइन प्रधानमन्त्रीको समेत अवस्था त्यस्तै देखिएको छ । सानाभन्दा साना कार्यक्रममा पनि उनको उपस्थिति र लम्बेतानका भाषण अनि त्यसमा सरकारले गरेका कामका लामालामा फेहरिस्त आउने गरेका छन् । सरकारले गरेका राम्रा काम प्रचारमा आउनुपर्छ, जनताले पनि थाहा पाउनुपर्छ । तर राम्रो काम गरेको छ भने त्यसमा सरकार प्रशंसित हुन्छ र आफैँ जनतामा लोकप्रिय हुन्छन् । त्यस्ता कुरालाई आफैँ प्रचार गरिरहनु जरुरत छैन ।

बढीभन्दा बढी काम गरेर उदाहरण कायम गर्नुपर्ने समयमा सरकार बढी प्रचारमा लागिरहेको छ । प्रजातन्दत्र दिवस र त्यसको भोलिपल्ट पार्टीले आयोजना गरेको आमसभासहित भर्खरै प्रधानमन्त्रीले दुईवटा कार्यक्रममा सहभागी भई आफ्नो भनाइ प्रस्तुत गरे । त्यसमा प्रधानमन्त्रीले भने– ‘यो सरकारले लोकतन्त्रको बाटो बिराउँदैन संविधान मिच्दैन, मिच्न दिँदैन जनताको मतभन्दा विपरीत जाँदैन र जान दिँदैन, भ्रष्टाचार गर्दैन र गर्न दिँदैन सुशासन कायम गरेरै छोड्छ, अपराधलाई नियन्त्रण गर्छ, म आम दाजुभाइ दिदीबहिनीहरूलाई आस्वस्त पार्न चाहन्छु ।’

कुनै पनि सरकारकारको कर्तव्य हुन्छ संविधान नमिच्नु र मिच्न पनि नदिनु । भ्रष्टाचार नगर्नु र गर्न पनि नदिनु, सुशासन कायम गर्नु अपराधलाई नियन्त्रण गर्नु । यो प्रचार गरेर हुने कुरा होइन । यसमा आम नागरिकले कस्तो महसुस गरिरहेका छन् भन्नेमा भर पर्छ । त्यसकारण यी कुरामा प्रचार मात्र भयो भने सन्देश अपेक्षा गरेअनुसारको जाँदैन । त्यसमाथि विकास निर्माणको काम त नागरिकले उपभोग गर्ने हो । धारामा खानेपानी आएन भने सरकारी कामका जतिसुकै बखान गरे पनि नागरिकले कम्तीमा खानेपानीका बारेमा चाहिँ पत्याउने स्थिति बन्दैन ।

भ्रष्टाचारीमाथि कारबाही भयो भने त्यसले सुशासनको सन्देश आफैँ दिन्छ । यो वा त्यो बहानामा भ्रष्टाचारी छुटे भने वा पाउनुपर्ने दण्ड पाएनन् भने मुखले जति फलाके पनि जनताको मनमा त्यसले ठाउँ पाउँदैन । के यतिबेला कुनै एउटा मात्र त्यस्तो अड्डा छ जहाँ भ्रष्टाचार नहोस् ? प्रधानमन्त्री एक जनाले भ्रष्टाचार गरे÷नगरेको भन्दा आम नागरिकले आफ्ना दैनिक काममा कस्तो अनुभव व्यहोरिरहेका छन्, सरकारी कामकुरामा भन्ने अर्थ रहन्छ । आफूले कुनै सेवा लिँदा घुस खुवाउनु परेन भने त्यो स्वतः प्रचार भइहाल्छ सरकारले राम्रो काम गरेको भनेर । विकास निर्माणका काम पनि त्यस्तै हो ।

प्रधानमन्त्रीबाट बारम्बार दोहोरिहेको विषय हो पूर्वाधार र विकासका क्षेत्रमा अभूतपूर्व काम भएका छन् । त्यस्तो हो भने निश्चय नै स्वागतयोग्य काम हो । यसले देशको आर्थिक समृद्धिमा महत्वपूर्ण उपलब्धिहरू प्राप्त भएको मान्ने हो भने त्यो पनि त नागरिकले अनुभूति गर्नपर्छ । सरकाले विकास भयो भनेर मात्र पुग्दैन र यसमा अरु कसैलाई दोष देखाएर पनि हुँदैन । अवस्था यस्तो आओस् जनताले सरकारले गरेको कामको आफैँ प्रशंसा गरुन् जसरी कोभिडविरुद्धको खोपमा भइरहेको छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया