Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयखोपमा क्रियाशीलता सह्राहनीय

खोपमा क्रियाशीलता सह्राहनीय


काठमाडौं ।
(कोरोना रोकथामको काममा धेरै असफलता र बदनामीबसमेत कमाएको सरकारले पछिल्लो समय त्यही कोरोनाको रोकथामका लागि गरेको कामबाट सह्राहना पाउन थालेको छ । खासगरी कोरोना खोपका लागि जे–जस्ता तत्परता देखाइए त्यसमा केही कमीकमजोरी भए पनि यति छिटै सरकारले यस्तो काम गर्ला भन्ने कसैले अपेक्षा गरेका थिएनन् ।

पछिल्लो कालखण्डमा सरकार सबैभन्दा बढी बदनाम पनि यही कोरोनाका कारण भयो भने समयमै खोपको बन्दोबस्त गरेर प्रशंसा पनि यही कोरोनाको कामबाट कमाएको पाइयो । त्यसकारण सरकारले आफूले राम्रो गरेको तर जनताले नदेखेको भनी तिनका आँखामा फुलो परेका भन्नेसम्मका भनाइहरू आए तर खोपको कारण अहिले जनताले सरकारक प्रशंसा गरिरहेका छन् । यसमा आफूले गरेका काम नदेख्ने भनी जनतालाई गाली गर्नेहरूले माफी माग्नुपर्छ ।

विभिन्न रिपोर्टमा आएअनुसार खोपका सन्दर्भमा यतिबेला नेपाल दक्षिण एसियाली राष्ट्रमध्ये निकै अगाडि देखियो । आजको मितिसम्म विश्वका एक सय ३० राष्ट्रले आफ्ना नागरिकलाई अहिलेसम्म एक डोज पनि खोप दिन सकिरहेका छैनन् भने यहीबेला नेपालले तेस्रो र चौथो चरणको अभियान सुरु गर्दै छ । खोपका लागि यो क्रियाशीलता त्यसकारण सह्राहनीय भएको हो ।

नेपालको आफ्नो क्षेत्र दक्षिण एसियाली राष्ट्रमध्येमा त खोप उत्पादन गर्ने भारत चीनजस्ता मुलुकका हाराहारीमा रहेको वा परेको अवस्था प्रकट हुनु वास्तवमा नै सुखद कुरा हो । यो बेलासम्म दक्षिण एसियाकै पाकिस्तान, भुटान, अफगानिस्तान बर्माजस्ता देशमा खोपको अभियान सुरुसमेत हुनसकेका छैनन्, यता चौथोचरणमा पुग्दासम्म । जबकि यी देशहरू यातायातको सुगमताले नेपालभन्दा पनि सहज आपूर्ति हुने देशमा पर्छन् । एउटा रिपोर्टले भनेको छ, दक्षिण एसियामा अहिलेसम्म नेपालसहित बंगलादेश, भारत र श्रीलंकाले मात्रै खोप अभियान सुरु गर्न सफलता पाएका छन् ।

नेपालका सरकारी अधिकारीका अनुसार पनि तीव्र तयारीकै कारण खोप अभियान समयमै चलाउन सफल भएको हो । पुस महिनामा केही कम्पनीका खोपको टुंगो लाग्यो र माघ महिनामा तर त्यसको उपलाब्धतादेखि खोप दिने काम नै सुरु भयो । कोरोनाको रोकथाममा कठोर प्रकारको लकडाउन गर्नुबाहेक अन्यत्र त्यस्तो क्रियाशीलता देखाउन नसकेको भनी आरोप लागेको सरकारका लागि त्यसकारण यो नाक फुलाउने काम हुन गएको मानिएको हो ।

छिमेकी देश भारतबाट प्राप्त भएको अनुदानको १० लाख डोज सकिँदा नसकिँदै भारतबाटै अर्को २० लाख डोज खोप खरिद गरियो । खरिद गरिएको त्यो २० लाख डोजमध्ये त्यसको आधा नेपाल झारिसकियो । अर्का आउन बाँकी डोज पनि आउने क्रममा रहेको बताइएको छ । यही क्रममा विश्व स्वास्थ्य संगठनको पहलमा आउने करिव २० डोज पनि नेपालमा छिटोभन्दा छिटो झर्ने क्रममा नै छ ।

यी मात्राका खोपहरूको प्रयोग भइरहँदा विश्वका खोप उत्पादक अरु कम्पनीले पनि बजार लिन थाल्नेछन् । नेपाललाई तीन/चार करोड डोज भए पर्याप्त हुन्छ । अहिले कोरोनाको संक्रमण दर घटिरहको छ । यो फेरि फर्किन्छ कि भन्ने डर छ । त्यहीबीचमा सरकारले यस्तो क्रियाशीलता कायम राख्न सक्यो भने त्यो प्रकोपबाट नेपालीहरू मुक्त हुनेछन् र सरकार झन् प्रशंसित हुनेछ यो महामारी रोक्न सफल भएको सन्दर्भमा । सरकारको थप ध्यान जाओस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया