Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयशिलान्यास र शिलापत्र तोडफोड

शिलान्यास र शिलापत्र तोडफोड


काठमाडौं ।
केही समययता विकास निर्माणप्रति प्रधानमन्त्रीको धेरै नै रुचि देखिन थालेको छ । खासगरी प्रतिनिधिसभा विघटनको सिफारिसपछिका दिन त शिलान्यासको लहर नै चलेको छ । पछिल्लो शनिबार मात्रै आफ्नो निवास बालुवाटारबाट एक सय ६५ वटा सडक शिलान्यास भए प्रधानमन्त्रीको हातबाट । एकै पटक यति धेरै सडक आयोजनाको शिलान्यास हुनुले विकासप्रति प्रधानमन्त्री विशेष रुचिका साथ अघि बढेको देखाउँछ  ।

यस दिन प्रधानमन्त्रीले बालुवाटारस्थित आफ्नो सरकारी निवासबाटै यी सडकको शिलान्यास गरेका हुन् । यी सडकको महत्व के हो भने हरेक निर्वाचन क्षेत्रमा एक–एकवटा सडकको विस्तार हुनेछन् । यसको अर्थ हो यी आयोजना सम्पन्न भएपछि कुनै पनि निर्वाचन क्षेत्रमा एउटा राष्ट्रियस्तरको सडक हुनेछ । प्रधानमन्त्रीबाट नै केही समयअघि मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको एकै पटक शिलान्यास भएको थियो । चालू आर्थिक वर्षको बजेटमो एक निर्वाचन क्षेत्रमा एउटा सडक भन्ने उललेख थियो । यी एक सय ६५ वटा सडक तिनैअन्तगतका हुन् । त्यसका लागि लागि तीन अर्ब २० करोड बजेट विनियोजन भएको थियो ।

विकास निर्माणमा देखिएको तीव्रता एउटा सुखद पक्ष हो । त्यसले गति पाउनुपर्छ । प्रधानमन्त्रीको भनाइ छ देशमा विकास निर्माणले तीव्र गति लिइरहेको र त्यो यसरी नै अघि बढिरहेको छ । यतिसम्म ठीक हो तर यसरी शिलान्यास भएका आयोजनाको हविगत विगतमा कस्ता देखिए भन्नेले चाहि अर्कै पक्षको उजागर गर्छ जो स्वीकार्य नहुन सक्तछ । त्यसको उदाहरण एकै पटक शिलान्यास भएका यिनै सडक पनि हुन् ।

जानकारीमा आएअनुसार बहुवर्षीय ठेक्काअन्तर्गत बन्ने यी सडकको शिलान्यास भएको यो बेलासम्म अधिकांश सडकहरूको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्ययन हुन बाँकी नै छ । विस्तृत परियोजना प्रतिवेदन भनेको कुनै पनि कार्यको निर्माण प्रारम्भको अनिवार्य सर्त हो तर त्यो नै बनेको छैन भने त्यस्तो शिलान्यासको के अर्थ रहला ? यसको केही दिन अघि कमला डाइभर्सनको शिलान्यास पनि त्यस्तै भयो । कतै ठेक्कापट्टा लागेको छैन । त्यस्तो प्रारम्भिक काम सम्पन्न गर्न पनि एक वर्ष लाग्ने भनी प्राविधिकहरूले बताइरहेका बेला यसका पनि शिलान्यास भयो । त्यसबेला प्रकाशित समाचारअनुसार त्यो शिलान्यास कार्यक्रमको आयोजना प्रधानमन्त्री निवासको विशेष दबाबमा भएको थियो ।

यी सडक एकमुष्टरूपमा शिलान्यास गरेको दुई दिनअघि मात्रै प्रधानमन्त्रीले शिलान्यास गरेका एउटा आयोजनाको काम दुई वर्षसम्म पनि नथालिएको भनी शिलापत्र नै तोडफेड भएको थियो स्थानीयबाट । यो चैत्र १९ को कुरा हो । त्यसबारेको समाचार विवरण भन्छ झन्डै दुई वर्षअघि ठूलै तामझामका साथ प्रधानमन्त्रीले शिलान्यास गरेको एकीकृत नमूना सदरमुकाम निर्माणको कामले अहिलेसम्म पनि गति लिन सकेन । यो कावासोती नगरपालिका वडा नं ३ मा रहेको ज्योति कुञ्ज सामुदायिक वनभित्र रहेको एक सय ८६ बिघा चौर र वन क्षेत्रलाई नमूना सदरमुकाम बनाउने सन्दर्भको कुरा हो ।

यसको २०७६ वैशाख ७ गते प्रधानमन्त्रीबाटै शिलान्यास भएको थियो तर तर शिलान्यासबाहेक अरु अलिकति पनि काम अघि नबढेपछि स्थानीयले शिलालेख नै तोडफोड गरिदिएका हुन् । त्यसकारण शिलान्यास गरेर योजनाहरू अलपत्र पार्नुभन्दा नगर्नु नै बेस हुन्छ । त्यसैले कुनै पनि कामको शिलान्यास गरेर नाटकीय लोकप्रियताको पछि लाग्नुभन्दा आफैँले यसअघि गरेका थालनीको प्रगति विवरण लिएर जनतासामु जान सकेको भए कति लाम्रो हुनेथियो होला ?


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया