Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयभारतको संक्रमण नेपाल आउन कति लाग्ला ?

भारतको संक्रमण नेपाल आउन कति लाग्ला ?


काठमाडौं ।
एउटा छिमेकी देश चीनबाट सुरु भएको कोराना अघिल्लो वर्ष युरोप, अमेरिका आदि संसार घुम्दै अर्को छिमेकी देश भारतमा आएर सबैभन्दा ठूलो संख्यामा परिणत भएको थियो त्यो डरलाग्दो स्थितिलाई रोक्न त्यसबेला नेपालले आफ्नै नागरिकलाई पनि यता अर्थात् सीमा कट्न दिएन ।

अघिल्लो वर्षका चैत, वैशाख र जेठ महिनाको विवरण सम्झौँं । कतिसम्म भने सीमामा आइसकेका नेपालीहरू त्यहीँ बस्न बाध्य भए संक्रमण फैलने डरका कारणले । बाबुआमाको मृत्यु हुँदा समेत एउटा छोराले आशौच बस्न पाएन । सीमापारि बाबु बिते सीमावारि छोरो किरियापुत्री भएर बसेका त्यसबेलाका घटना आफैँमा नमूना थिए । कतिपयले त किरियापुत्री बस्नु भनेको एकप्रकारले क्वारेन्टाइन नै हो भनेर अनुरोध गर्दा समेत घर जान पाएनन् । त्यसबेला यस्तो कडिकडाउ देशमा एक जनाबाट दुई जनामा संक्रमण देखिएपछि थालिएको थियो ।

तर किन हो यो देस्रो वर्ष त्यही देश भारतमा संसारभरिकै बढी संक्रमण प्रकट हुनथाल्दा पनि सरकारले वास्ता गरेको पाइएन खासगरी सीमा नाकाहरूमा । यी पङ्क्ति लेखिएको दिन भारतीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक सञ्चार माध्यममा माफ्नै सार्वजनिक जानकारी दियो– पछिल्लो २४ घण्टामा संक्रमित विस्तारको क्रम एक लाख ४५ हजार तीन सय ८४ जनामा फैलिएको छ । कोभिड–१९ का कारण यो २४ घण्टामै सात सय ९४ जनाको ज्यान गएको । त्यही जानकारीमा बताइएअनुसार अहिलेसम्म भारतमा संक्रमितको संख्या एक करोड ३२ लाख पाँच हजार नौ सय २६ पुगेको छ ।

हालसम्म एक लाख ६८ हजार चार सय ३६ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ । यो कुल संख्याको विवरण हो । त्यो ठाउँमा संक्रमण विस्तार कसरी भइरहेको छ भने समाचारको एउटा विवरणको एउटा अंश पढे पुग्छ । भारतीय सञ्चार माध्यमको हवालामा नेपाली सञ्चार माध्यमले प्रकाशन गरेको समाचारमा सोमबार एक लाख तीन हजार पाँच सय ५८, बुधबार एक लाख १५ हजार सात सय ३६, बिहीबार एक लाख २६ हजार सात सय ८९ तथा शुक्रबार एक लाख ४० हजार नौ सय ६८ जनामा संक्रमण पुष्टि भएको भन्ने छ । यो भनेको संक्रमण विस्तार कसरी भइरहेको छ भन्ने उदाहरण हो ।

सीमापारिको यस्तो अवस्था छ भने त्यो संक्रमण कुनै दिन सीमावारि पनि यही रूपले विस्तार नहोला भन्ने कुनै आधार छ ? अर्को छिमेकी देश भारत उपचारपद्धतिमा नोपलभन्दा कयौँ गुना व्यवस्स्थित छ । जस्तोः भारतले दिएको अनुदानको खोपलाई आधार बनाएर सरकारले आफ्नो तयारी कस्तो छ भनी आत्मप्रचार गरिरहेका छ ।

सीमामा जस्तोसुकै भए पनि संक्रमित भेटिएका बेला तिनको समुचित सुरक्षा र अरुलाई सर्न नसक्ने व्यवस्था गरेको देखिएन । जानकारीमा आएअनुसार संक्रमित व्यक्तिलाई आधा/एक दर्जनजति मास्क थमाएर छोडिरहिएको छ । तिनीहरू कहाँ जान्छन्, जाने माध्यम को हो, तिनले प्रयोग गर्ने सार्वजनिक यातायातका कारण संक्रमणको विस्तार कस्तो हुन्छ भन्ने हेक्का राखिएको नपाइएको भन्ने समाचारमा आइरहेका छन् । त्यसो हो भने के सरकार वास्तवमा नै छिमेकमा देखिएको भयावह अवस्थाबाट आफ्नो देशलाई जोगाउन चाहेको छ कि छैन भन्ने प्रश्न उठ्ने भयो नै । सरकार सतर्क बन्न जरुरी ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया