Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसंसद् नै अनिर्णयको बन्दी

संसद् नै अनिर्णयको बन्दी


रिक्त सभामुख पदमा चयन हुने व्यक्तिको नाम सिफारिस हुन नसक्दा यही पुस ४ गते सुरु भएको भनिएको प्रतिनिधिसभा संसद्को बैठक बस्न सकेको छैन । आइतबार तेस्रो पटक सूचना टाँसेर संसद्को बैठक अगामी माघ ६ गते सोमबार दिउँसो एक बजे बोलाइएको छ । प्रतिनिधिसभामा सत्तारुढ नेकपाको प्रचण्ड बहुमत छ ।

झण्डै तीन महिनाअघि यौन दुराचारको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका थिए । त्यस बेलादेखि प्रतिनिधिसभामा सभामुख पद खाली नै छ । प्रतिनिधिसभामा सत्तारुढ नेकपाको प्रचण्ड बहुमत छ । समाजवादी पार्टीले समर्थन फिर्ता लिनुअघिसम्म दुई तिहाइ बहुमत नै थियो । नेकपाबाहेक अन्य कुनै दलबाट सभामुख खोजिएको पनि छैन । सभामुख कसलाई बनाउने भनेर नेकपाले निर्णय गर्नेबित्तिकै यो समस्या समाधान हुन्छ । तर, नेकपाले नै निर्णय गर्न सकिरहेको छैन । नेकपाका दुई अध्यक्षबीच कसलाई सभामुख बनाउने भन्ने विषयमा शीतयुद्ध चलिरहेको छ । पार्टी एकता हुनुअघि माओवादी कोटामा महरा सभामुख भएका थिए । उनी बलात्कार काण्डमा फालिए ।

पूर्वमाओवादी खेमाले अहिले पनि आफ्नो कित्ताबाटै सभामुख छानिनुपर्ने मनसाय राखेको छ तर पूर्वएमाले अध्यक्षसमेत रहेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउन सहज हुनेगरी आफूले सभामुख छान्न पाउनुपर्ने दाबी गरेका छन् । यी दुई दाबीका बीचमा अहिलेकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू नै सभामुखको स्वाभाविक दाबेदार भएको अडान राख्दै आएकी छिन् । यी तीनतिरका अडानले नेकपाले सभामुख छान्न सकेको छैन ।

संसद्मा प्रचण्ड बहुमत रहेको नेकपाले सभामुख चयन गर्न नसक्नु लाजमर्दो अवस्था देखिएको छ । यसले दुई तिहाइ बहुमत नजिकको नेकपाको सत्तामा कसले कसलाई पछार्ने भन्ने गम्भीर विवाद रहेको स्पष्ट देखिन्छ । नेकपाको त्यही विवादले संसद्लाई नै अनिर्णयको बन्दी बनाएको छ । झण्डै एक महिनाअघि बोलाइएको संसद्को हिउँदे अधिवेसनको बैठक नै बस्न नसक्नुभन्दा अर्को लाजमर्दो अवस्था केही हुन सक्दैन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया