Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसतर्कता अपनाऔं

सतर्कता अपनाऔं


काठमाडौं ।
विद्यालयमा पढ्ने बालबालिका अब कोरोना सार्ने माध्यम बन्ने भए भन्ने चिन्ता गम्भीररूपले खडा भएको छ । छिमेकी देश भारतमा कोरोनाको दोस्रो लहर फैलिएर भयावह अवस्था बन्दै गएको परिस्थितिमा हामीले यसैगरी विद्यालय र बाहिरी चहलपहललाई समयमै नियन्त्रण गरेनौँ भने त्यस्तै नहोला भन्न सकिन्न । त्यसै पनि सरकारका स्वास्थ्य प्रवक्ताले दिनैपिच्छे नागरिकले सतर्कता नअपनाएको भनी आरोप लगाउँदै आएका छन् । प्रधानमन्त्रीको समेत भनाइ त्यस्तै हुनेगरेको छ ।

सतर्कता नअपनाए लकडाउन गरिदिने भन्ने प्रधानमन्त्रीको धम्की पनि त्यतै लक्षित भएको बुझ्न सकिन्छ । यो भनेका वयस्क व्यक्तिका कुरा हुन् । उमेर पुगेका व्यक्तिको त अवस्था यस्तो छ भने बालबालिकाले कस्तो सतर्कता अपनाउलान् ? यो प्रश्न सामान्य होइन । अघिल्लो वर्ष यसरी नै खेलाची गर्दा लामो समयसम्म कोरोना नियन्त्रणमा नआएपछि बन्दी जीवन बिताउनु परेको थियो । पछिल्लो समय तुलनात्मक हिसाबले बालबालिकामा कोरोनाको संक्रमण बढी देखिनु झनै डरलाग्दो स्थितिको सङ्केत मानेका छन् विज्ञहरूले ।

कोरोनाको दोस्रो लहर बढ्न थालेको र त्यो अनियन्त्रित हुने भनी विज्ञहरूले बताइरहेका बेला निजी क्षेत्रका विद्यालय सञ्चालकहरूले केवल पैसाका लागि सरकारलाई तत्काल शिक्षण संस्था बन्द नगर्न सुझाव दिएका भन्ने विवरणहरू सार्वजनिक भइरहेका छन् । विवरणअनुसार सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको सरोकारवालासँगको छलफलमा उनीहरूको यस्तो सुझाव आएको बताइएको छ । विद्यालय चलाउने पक्षले नेपालको संविधानको व्यवस्थालाई निहुँ बनाएका छन् । त्यसमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको अवस्था छ । उनका सुझावमा त्यसै गर्न भनिएको छ ।

यो भनेको यस्तो अवस्थामा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहमा जानेछ र उसलाई सजिलै प्रभाव पार्न सकिने सत्ताचालकहरूको बुझाइ हो । तर यतिबेलाको संकट त्यस्तो संविधान मात्रै हेर्ने तहको होइन । सरकार आफ्नो पक्षमा देखिने जोसुकैलाई जस्तोसुकै शर्तमा पनि सुविधा दिने चरित्रको रहेको हुँदा यस्तो बेला पनि स्कुल चलाउन अनुमति दिइने हो कि भन्ने चिन्ता बढेको हो । जीवनको रक्षाभन्दा ठूलो विषय अहिले अर्को हुँदैन ।

कोरोना संक्रमणको सबैभन्दा अचुक औषधि भनेकै सतर्कता हो । यस्तो बेला विद्यालय चलाउन सरकारले अनुमति दियो भने सतर्कता पालना गरेको मान्ने कि निजी विद्यालयलाई पैसा कमाउन अवसर दिएको मान्ने ? यसको जवाफ सरकारले दिनुपर्छ । निजी विद्यालयलाई पोस्नकै लागि कोरोनाजस्तो विश्वव्यापी महामारीको रुपमा फैलिएको रोगलाई ठट्टाको रुपमा लिनु हुँदैन । विद्यार्थीलाई कोरोना सार्ने माध्यम बनाउनु हुन्न । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया