Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयप्रदेश संसद्मा भ्रष्टाचार बहस

प्रदेश संसद्मा भ्रष्टाचार बहस


काठमाडौं ।
राज्य वा समाजमा सबैभन्दा बढी निन्दित विषय हो भ्रष्टाचार । कुनै पनि राजनीतिक दलका नेता र सार्वसाधारणले समेत यसको जहिले पनि निन्दा गरिरहेकै हुन्छन् तर यो भने आफैँ कहिल्यै रोकिएको अवस्था देख्न पाइँदैन बरु बढिरहेको हुन्छ । यसको कारण हो, सत्तामा रहेकाहरूले यसको विरोध गर्दागर्दै पनि त्यसको संरक्षण गर्नु । पछिल्लो समय त अन्तर्राष्ट्रिय संस्थाको अध्ययनले नै प्रधानमन्त्री स्वयम भ्रष्टाचारको संरक्षक रहेको भन्ने प्रतिवेदन दियो । यो प्रतिवेदन अन्तर्राष्ट्रिय भए पनि त्यस्तो महसुस गर्ने त नेपाली जनता नै थिए ।

एक हजार जनालाई सोधिएको प्रश्नमा करिब ६० प्रतिशतले प्रधानमन्त्रीले भ्रष्टाचारको संरक्षण गरेको भन्ने उत्तर दिएका थिए । यद्यपि यस्तो आरोप लागेका प्रधानमन्त्रीको मन्त्र भने भ्रष्टाचारीको मुखै नहेर्ने भन्ने रहँदै आएको छ । तर विडम्बना यिनै प्रधानमन्त्रीको कालमा भ्रष्टाचार बढेको बढ्यै अवस्थामा रहेको भन्ने प्रतिवेदन आइरहेका छन् ।

आजको सन्दर्भ हो, यस्तो जटिल बन्दै गएको भ्रष्टाचारविरुद्धको बहस यसअघि कतै हुनेगरेको थिएन । खासगरी संसद्मा त संस्थागतरूपले कहिलै बहस भएन । एउटा कुनै विषयगतरूपमा कुरा उठे पनि भ्रष्टाचारलाई कुन रूपमा लिने भन्ने क्रममा भने गण्डकी प्रदेशसभामा बहस सुरु भएको पाइयो । चैतको अन्तिम साता यो प्रदेशसभामा भ्रष्टाचारमाथि बहस चलिरहेको हो ।

चैत २५ गतेदेखि सुरु भएको विधान अधिवेसनमा सुरुकै दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेताबाट यस्तो बहस सुरु भएको थियो । उनले संघीय सरकारले भ्रष्टाचारको काण्डै काण्ड मच्चाएको आरोप लगाएपछि यो बहस एकप्रकारले सैद्धान्तिक हुनगएको हो । प्रदेश सरकार नै यस्ता काण्डमा मुछिनुले भ्रष्टाचार दलबाट हुन्छ कि व्यक्तिबाट भन्ने कुरामा दोधार उत्पन्न भएको छ । केन्द्रको भ्रष्टाचारको विषय प्रदेश संसद्भित्र यसरी बहस भएको सम्भवतः यो पहिलो घटना हुनुपर्छ । यो बहसले त्यसबेला उग्ररूप लियो जुनबेला मुख्यमन्त्रीले नै नेपाली कांग्रेस पार्टीलाई भ्रष्टाचारी भन्ने जवाफ दिए । उनले जब कांग्रेसलाई भ्रष्ट पार्टीको आरोप लगाए त्यसपछि भ्रष्टाचार पार्टीबाट हुन्छ कि व्यक्तिबाट भन्ने बहसले संसद्भित्र प्रवेश पाएको हो ।

यो प्रदेशसभामा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’माथि छलफलका क्रममा भ्रष्टाचारबारे यसरी कुरा उठेका हो । विषय अरु नै भए पनि बहसमा उत्रिएका सांसदले भ्रष्टाचारी पार्र्टी कि व्यक्ति भन्नेमा केन्द्रित गरेको पाइयो । वास्तवमा नै कुनै पनि पार्टी स्वयम भ्रष्टाचारी हुँदैन ।

भ्रष्टाचार गर्ने त व्यक्तिले नै हो । यही सभामा त्यसको उदाहरण पनि प्रस्तुत भयो केन्द्रीय अर्थमन्त्रीको नाम उच्चारण भएर । उनी अर्थमन्त्रीको नाम जोडिएको बालुवाटार जग्गा काण्ड केन्द्रबाट प्रदेशमा झरेको प्रसङ्ग भ्रष्टाचारका बारेमा बहस बढ्न थालेको अवस्थाको संकेत हुनुपर्छ, त्यो जोसुकैले उठाएका किन नहोस् । यही क्रममा हो भ्रष्टाचार पार्टीले नभई व्यक्तिले गर्ने भन्ने कुरा उठेको । जब पार्टीलाई भ्रष्टाचारी भनिन्छ भने व्यक्तिले उन्मुक्ति पाउँछन् । यदि व्यक्तिलाई किटियो भने त्यो कारबाहीको दायरामा पर्नसक्छ । त्यसकारण ढिलोचाँडो जे होस् यो बहसको एउटा अर्थ रहने नै छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया