Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयपरीक्षण गरिएका शत प्रतिशतमा कोराना

परीक्षण गरिएका शत प्रतिशतमा कोराना


काठमाडौं ।
देशमा कोरोना संक्रमणको ग्राफ बढिरहेको छ तर सरकार भने केही समूहको स्वार्थरक्षामै लागिरहेको छ । यसले अवस्था कस्तो आउला भन्ने चिन्ता बढाउँदै लगेको छ । यतिबेला एउटै सरकारका दुई मन्त्रालय दुईतिर लागेका छन् । शिक्षा र स्वास्थ्य मन्त्रालयबीचको विपरीत मान्यताले एकातिर सरकार स्वार्थसमूहका लागि लाचारी बनिरहेको देखाउँछ भने अर्कोतिर कोरोना संक्रमणको दरमा वृद्धि भइरहँदा पनि रोकथामप्रति सजगता अपनाउन आलटाल गरेको बुझ्न सकिन्छ ।

कोरोना वृद्धिको मंगलवारको डाटा हेर्ने हो भने यो ग्राफ खतरनाकरूपले बढेको छ । यो वृद्धि अघिल्लो वर्षभन्दा खतरनाकरूपले बढेका देखियो । गएको शुक्रबार मात्रै नौ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमा बालबालिकाको संख्या उल्लेख्य रहेको देखिन्छ । यसमा नौ महिने बालिकादेखि ९६ वर्षीय वृद्ध समेत परेका छन् । यो धेरै नै गम्भीर विषय हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो शुक्रबार देशभर पाँच हजार आठ जना सक्रिय संक्रमित भेटिए । पछिल्लो २४ घण्टामा एन्टिजेनसहित छ हजार पाँच सय ५८ जनाको परीक्षण गरिएको थियो । त्यसमा नौ सयको संख्यामा पोजेटिभ आयो । यो भनेको एक हजारमा एक सय ५० जनाको हाराहारीको वृद्धिदर हो जो अघिल्लो वर्ष पनि यसप्रकारको वृद्धि थिएन ।

यदि परीक्षणको दरलाई बढाइने हो भने अर्थात् परीक्षणलाई २५ हजारमा पु-याइने हो भने एक दिनमा चार हजारको संख्या पुग्नेरहेछ । यो संख्या भनेको अति संक्रमित रहेका भनिएका देशको तुलनामा पनि यो बढी हो । यसमा झन् डराउनुपर्ने पक्ष हो नौ महिनाका बालबालिका पनि संक्रमित हुनु । पहिले बालबालिकामा अपवादमा मात्र संक्रमण देखिने गथ्र्यो । अहिले त नियमित मात्र होइन यो वर्गमा झन् बढीको संख्या प्रकट हुनथाल्यो ।

पछिल्लो रिपोर्टमा आएअनुसार २० देखि २९ वर्ष उमेर समूहका सबैभन्दा बढी दुई सय पाँच जना संक्रमित भएका पाइए । यो दिनकोे संक्रमण दर पनि उच्च देखियो । यो दिनको प्रतिशत १४ दशमलव ७२ छ  । यो दर निरन्तर बढिरहेको अवस्था हो । यो संक्रमण दर बुधबार १२ दशमलव ७२, बिहीबार १२ दशमलव ८६ प्रतिशत थियो । शुक्रबार संक्रमित देखिएकामा नौ महिनादेखि १८ वर्षसम्मका मात्रै ६९ जना रहेका भन्ने जानकारीले त अत्यास नै लगाउँछ । बताइएअनुसार यसमा ३३ बालिका र ३६ बालक छन् । काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्रै ३२ जना बालबालिका संक्रमित भएका रिपोर्ट आएको छ ।

पछिल्लो समयको अर्को डरलाग्दो पक्ष हो, कतिपय ठाउँमा परीक्षण भएकामध्येमा शत प्रतिशत देखिनु । सार्वजनिक भएको विवरणअनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरको ल्याबमा पछिल्लो २४ घण्टामा ४५ जनाको स्वाब परीक्षण गरिँदा ४५ जनाकै रिपोर्ट पोजिटिभ देखियो । यी संक्रमितमध्ये २३ जना पुरुष र २२ जना महिला थिए । यसको अर्थ हो, शत प्रतिशतको दरमा कोरोना मान्छेका घरभित्र प्रवेश गरिसकेको छ । यो ठाउँमा उमेरसमूह २० देखि ४० वर्षका २४ जना थिए । यो एक दिनको मात्रै होइन त्यसको अघिल्लो दिन पनि ३५ जनाको परीक्षण गर्दा ३५ जनाकै रिपोर्ट पोजेटिभ देखियो । यो संख्या आपतको घण्टी हो तर सरकार भने कतै केही भएकै छैन जसरी मौन बसिरहेको छ । सबैभन्दा आपत्तिको विषय नै यही हो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया