Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयविकास देखाउने हुटहुटी

विकास देखाउने हुटहुटी


काठमाडौं ।
खासगरी प्रतिनिधिसभाको गैरसंवैधानिक विघटन गर्ने असफल प्रयासपछिका दिनहरूमा सरकार विकास निर्माणका काम देखाउने हतारोमा देखिएको छ । विकास निर्माणका काम तीव्र गतिमा हुनु वास्तवमा नै स्वागतयोग्य काम हो । तर त्यो प्रचारका लागि भन्दा पनि कामका लागि भए नागरिकले हार्दिक स्वागत गर्छन् नै ।

मेलम्चीको पानी धारामा आउन थालेको छ र त्यसले विकास आफैँ देखाइरहेको छ । यस्तो कामलाई धेरै पटक दोहो¥याइरहियो भने सरकारले यसमा अति प्रचार गर्न खोजेको जस्तो देखिन्छ । संसद् विघटन गर्दा प्रधानमन्त्रीले आफूलाई आफ्नै दलका नेताबाट काम गर्न नदिएको भन्ने आरोप लगाएका थिए । तर यही क्रममा प्रधानमन्त्रीले नै संसारै चकित हुनेगरी र यसअघि कहिल्यै नभएका स्तरमा काम भएको भनी भनिरहँदा उनका आफ्नै भनाइ बाझिएका छन् ।

खासगरी प्रतिनिधिसभा विघटनको घटना पुस ५ पछि शिलान्यास र उद्घाटनमा देखिएका निरन्तरतालाई हेर्दा विकास निर्माणले गति पाएको देखियो । तर ती काम के–कति भरपर्दा थिए भन्ने प्रश्न भने त्यतिबेलादेखि नै उठेका थिए । डिजाइन, सर्भेसम्म पनि हुन बाँकी रहँदा र साधन स्रोतको समेत निश्चित नभइकन गरिएका शिलान्यासहरू आाफैँमा विवादित रहेका छन् । यसअघि निश्चय नै सरकार चुनावमा गएको हुँदा ती घटनालाई कतिपयले चुनावी नाराका रूपमा पनि लिए ।

यो चुनावमा पनि सरकारले आफ्ना पक्षमा दुई तिहाइ मत मागेको थियो । दुई तिहाइको संसद् ढालेर फेरि दुई तिहाइको माग राख्नु सहजरूपले पत्याउने खालका थिएन । तर सरकारले भने त्यस्तो दाबी गरि नै रहेको थियो, त्यसलाई पुष्टि गर्न नयाँ–नयाँ आयोजनाहरू प्रस्तावित शिलान्यास भए ।

यस्ता आयोजनाहरू प्रस्तावित हुनु नराम्रो होइन । तिनको स्वागत गर्नैपर्छ तर ती आयोजना कसैलाई देखाउन र आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न मात्र प्रस्तावित थिए भनेचाहिँ आपत्तिको विषय हो । सरकार कामभन्दा बढी प्रचारमा गएकोे छ भन्ने नमानौँ तर विकास निर्माणलाई केवल प्रचारको विषय बनाइँदा सरकारको विश्वसनीयतामाथि नै प्रश्न उठ्ने हुन्छ जो सरकारकै लागि पनि राम्रो होइन ।

पछिल्लो समय विकास निर्माणका सन्दर्भमा प्रधानमन्त्रीले राजनीति छिराउन खोजेका विषयलाई धेरैले आपत्तियुक्त माने । सरकारको फेरबदल र विकास निर्माणका काम अलग कुरा हुन् । तर प्रधानमन्त्रीले त्यसलाई घुलाइदिए ।

प्रधानमन्त्रीका शब्दले नै त्यस्तो बताउँछन् । व्यसायीहरूको संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले उल्लेख्यरूपमा काम गरिरहेकोले हटाउन खोजेको आरोप लगाए । उनले भने, ‘सरकार किन परिवर्तन गर्नुप-यो ? पुनर्निर्माणका काम अघि बढिरहेकाले हो ? कि अरु केही कारण छन् ? एक हप्तामा आठ औद्योगिक क्षेत्र तथा एकैदिन तीन सय नौवटा अस्पताल, एक सय ६५ सडक शिलान्यास गरेको कारणले हटाउन खोजेको हो ?’

कुनै पनि राजनीतिक दल र नेता यो देशमा विकास निर्माणका काम हुन नदिने भनी लागेका हुँदैनन् । सरकार फेर्न लागेको र अस्थिरताको कुरा राजनीति हो । जब प्रधानमन्त्रीले यस्तो ठाउँमा पनि आफूले गरेका शिलान्यासका कुरा दोहो-याइरहेका छन् भने यसले प्रचारबाजीका लागि मात्र काम गरिएको रहेछ भन्ने शंका जन्माउँछ नै । जब विकास निर्माणमा राजनीति प्रवेश हुन्छ अनि देशले धोका पाउँछ । यस्तो अवस्था आउन नदिऔँ । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया