Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअर्थमन्त्री खतिवडाको निर्देशन र ओमप्रकाश हत्याको प्रसङ्ग

अर्थमन्त्री खतिवडाको निर्देशन र ओमप्रकाश हत्याको प्रसङ्ग


झन्डै एक महिनाअघिको एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले क्रसर व्यवसायीलाई नदी उत्खनन नगर्न निर्देशन दिएका मात्र थिएनन् कि पहाड फुटाएर गिटी, ढुंगा, बालुवा निकाल्न सुझाव पनि दिएका थिए । शक्तिशाली सरकारका अर्थमन्त्री डा. खतिवडाको उक्त निर्देशन त्यसै खेर नजाने आम बुझाइ थियो । तर, उक्त निर्देशन कसरी कार्यान्वयन हुने होला भन्ने शंकाचाहिँ सबैमा थियो, किनकी पहाड फुटाउन पैसा, प्रविधि र युवा जनशक्ति आवश्यक पर्दछ । हाम्रो मुलुकमा प्रविधिको त्यति धेरै विकास भइसकेको छैन, मुलुक पनि गरिब छ, पैसा प्रशस्त छैन, सहयोग मागेर खर्च चलाउनुपर्ने अवस्था छ । प्रविधिको विकास नभएकाले यहाँ विकास निर्माण हुन सकेका छैनन् ।

युवा जनशक्ति बेरोजगार छ र पचास लाखभन्दा बढी युवाहरू रोजगारीका लागि विदेश पलायन भएका छन् । मुलुकका लागि योभन्दा विकराल अवस्था अर्को नहुन सक्दछ । यस्तो मर्जर र विकराल अवस्थाबाट गुज्रिएको मुलुकका अर्थमन्त्री डा. खतिवडाले नदी उत्खनन गरेर बालुवा र गिटी झिक्न बन्द गरेर पहाड फुटाएर गिटी र बालुवा आपूर्ति गर्न दिएको निर्देशनलाई कसै–कसैले त पुस १६ गते पानीजहाज चढ्न आउनू भनेर प्रधानमन्त्री केपी ओलीले निम्ता गरेजस्तै भनेर उडाउने दुस्साहस पनि गरे । तर, यी दुई फरक कुरा हुन् । गिटी, ढुंगा र बालुवा पहाड फुटाएरै निकालिने चिज हुन् । तर, मुलुकले त्यसो गर्न सामर्थ्य राख्छ कि राख्दैन भनेर हेरिनु पर्ने थियो । त्यसका लागि आवश्यक चार कुरामध्ये पहाडबाहेक हामीसँग अरु केही छैन ।

त्यसकारण अर्थमन्त्री डा. खतिवडाको उक्त निर्देशन कार्यान्वयन हुने अवस्था छैन । अर्थमन्त्री खतिवडाको उक्त उद्घोषपछि धनुषाको मिथिला नगरपालिका ५ भीपुरका दिलिप भनिने ओमप्रकाश महतोले नदीबाट बालुवा र गिटी निकाल्ने कार्यको विरोधलाई झनै तेजिलो बनाए । अर्थमन्त्री डा. खतिवडाले त्यसरी नबोलेको भए ओमप्रकाश त्यसरी विरोधमा उत्रिने थिएनन् । विरोधमा उत्रिँदा बालुवा तस्करले उनलाई मारिदियो । मन्त्रीहरूले कार्यान्वयन गर्न नसक्ने कुरा यसरी बोल्नु हुँदैनथियो । तर, हाम्रा मन्त्रीहरूलाई माइकअगाडिको जनमानस हेरेर बोल्ने रोग नै लागेको छ भन्दा पनि हुन्छ । अर्थमन्त्री डा. खतिवडाले कार्यान्वयन गर्न नसक्ने भाषण खोक्दा एक जना होनाहार युवाको हत्या भएको छ । तर, पनि अर्थमन्त्री डा. खतिवडाले आफ्नो गल्ती स्वीकारेका छैनन् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया