Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसरकार जोगाइदिन मन्त्रीको आह्वान

सरकार जोगाइदिन मन्त्रीको आह्वान


काठमाडौँ ।
पाँच वर्षका लागि स्थिर शासन चलाउने म्यान्डेट पाएको सरकार तेस्रो वर्ष प्रवेश नगर्दै आफैँले अस्थिरता निम्त्यायो । तर अरुलाई दोष दिँदै फेरि यो सरकारको स्थिरताका लागि प्रतिकारमा उत्रन नागरिकहरूलाई आह्वान गरिहेको छ । सरकार सञ्चालनको यस्तो लाजमर्दो अवस्था अहिलेसम्मको इतिहासमा देखिएको थाहा छैन । सरकारले आफ्ना जनतासँग मत माग्दा पनि पाँच वर्षका लागि स्थिर सरकार चलाउने भनेर वचन दिएको थियो । विगतका अस्थिरतालाई अन्त्य गर्न त्यस्तो स्थिर सरकारको कुरा गर्ने गठबन्धनलाई जनताले पाँच वर्ष सरकार चलाउन आदेश पनि दिए तर त्यो सरकार तीन वर्ष पूरा गर्दा नगर्दै अस्थिरताको बीउ रोपियो नेतृत्वतहबाट नै । दलहरू फुट्न सजिलो पार्ने कानुनको प्रस्ताव स्वयम् प्रधानमन्त्रीबाट नै भयो । दल फुटे भने के हुन्छ भन्ने कुरा विगतका थुप्र्रै उदाहरण छन् ।

यतिले नपुगेर प्रधानमन्त्रीबाट नै आफ्नो शक्तिको स्रोत संसद्लाई विघटन गरियो । दुई तिहाइको संसद् विघटन गरेपछि सरकार शक्तिहीन मात्र भएन शासन गर्ने नैतिक अधिकार समेत गुमायो । आफ्नै सांसदको संसद् पदमाथि कारबाहीका लागि प्रस्ताव भयो । जुनसुकै बेला सरकार जे पनि हुने अवस्थामा पुग्यो । यो भनेको सरकार आफैँले खडा गरेको राजनीतिक वातावरण हो तर सरकार भने यो अस्थिरताको दोष अरुमाथि थोपरेर आफ्नो सरकार जोगाइदिन ती जनतालाई अपिल गरिरहेको छ जो उनीहरूले दिएको मतको आफैँले अपमान गरेको थियो । उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकको राजनीति गलत दिशामा गइरहेको कारण देखाएर त्यसको प्रतिवादमा उत्रन सर्वसाधारणसमक्ष आह्वान गरे । एक सार्वजनिक कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले सरकार ढाल्ने खेल भइरहेको र यस्ता गलत क्रियाकलापविरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने भन्ने उनको भनाइ थियो । यसको अर्थ हो, यो सरकार जोगाइदिन अब नागरिक प्रतिकारका लागि सडकमा उत्रनुपर्छ ।

उनका अनुसार निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको हुन्छ, त्यसअघि नै सरकार ढाल्ने प्रयास भइरहेको छ, यो भनेको मुलुक र जनताका लागि ठूलो दुर्भाग्य हो । उनकै शब्दमा सरकार पाँच वर्षका लागि आएको हो निर्वाचित भएर । सधैँ बस्छु भनेर हुँदैन एउटा अवधिसम्म बस्ने हो । तर बीचमा नै अनेक खालको जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने, नयाँ खेलोमेलो गर्ने काम सुरु भयो भने यसले दुर्भाग्य निम्त्याउँछ ।

मन्त्रीका यी भनाइ स्वाभाविक छन् । देशमा उनले भनेजस्तै अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरू, विसंगतिहरू देखापर्न थालेको र असमयमा नै सरकार ढाल्ने खेल सुरु भएको हो भने यसले राजनीतिक र सामाजिक क्षेत्रमा नराम्रो प्रभाव पार्छ । तर प्रश्न उठ्छ देशमा सरकारलाई अस्थिर बनाउने काम अरु कोहीबाट भएको होइन । यसको कारक स्वयम् सरकार नै हो । सरकारको शक्ति भनेको संसद् नै हो । सरकार निर्माण र विस्थापन हुने ठाउँ त्यो संसद्लाई सरकारले नै असंवैधानिकरूपले भङ्ग गरिदिएपछि दुई तिहाइको सरकार आफँै सडकमा झरेको हो । अदालतले नै सरकारको काम गलत साबित गरिदियो । यो भनेको सरकारले संविधानमा नपाएको काम गरेको अवस्था हो । त्यसो हो भने त यो सरकार आफैँ देशमा अस्थिरता ल्याउने कारक बन्यो भन्ने आरोप पनि सहनुपर्छ । यस्तोबेला सरकारलाई जोगाइराख्न नागरिकलाई प्रतिकारमा उत्रन आह्वान गर्नु आफैँमा कति असुहाउँदो हो भन्ने प्रश्न उठ्छ नै ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया