Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोना विस्तारमा सरकारकै हात

कोरोना विस्तारमा सरकारकै हात


काठमाडौं ।
सरकारले कोरोनालाई कसरी निम्ता दिइरहेको छ भन्ने कुरा मन्त्रिपरिषद्को एउटा निर्णय हेरे पुग्छ । १९ वैशाखको मन्त्रिपरिषद्को बैठकले वैशाख २३ गते राति १२ बजेदेखि लागू हुनेगरी भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय ग-यो । त्यसमा हाल नेपाल र भारतबीच भइरहेको एयर बबल अवधारणाअनुसारको उडानलाई हप्ताको ७ दिनबाट घटाएर दुई दिनमा झारिएको थियो । निहुँ जे होस् संसारभरिका उडान बन्द हुँदा भारतबाट भइरहेका उडान भने यथावत राखिएको अवस्थाको सूचना हो यो ।

सरकारले यस्तो निर्णय गरेको दिन भारत कोराना संक्रमणको भयावह अवस्थामा पुगेको थियो । संसार एकातिर र भारत एकातिरको अवस्था भएको थियो । त्यसै हप्ता अमेरिकाले आफ्ना नागरिकलाई भारत भ्रमणमा रोक लगाएको थियो भने कतैबाट भारतीय नागरिकलाई आफ्नो देश प्रवेशमा समेत रोक लगाएको थियो ।

यसबीचमा भारतीय उडानहरू संसारभरिका धेरै देशले अल्पकालीन नै भए पनि प्रतिबन्ध लगाएका थिए । त्यस्तो बेला नेपालले भने अरु देशका उडान बन्द गरेर भारतीय उडानलाई कायम राख्यो । विशेषज्ञले भने भारतीय उडान अविलम्ब बन्द गर्न बारम्बार ताकेता गरिहेका थिए ।

अर्को मन्त्रीहरूले जथाभावी बोलिदिँदा त्यस दिन सरोकारवालाहरूमा एकप्रकारले हाहाकार नै मच्चियो । त्यस दिनको मन्त्रिपरिषद्को निर्णय भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार दिउँसो उडान रद्ध गरिएका दिन र समयका बारे थप प्रस्ट पारेको थियो । सोअनुसार नेपाली समयअनुसार २३ गते बिहीबार राति १२ बजेपछि नेपाल आउने र नेपालबाट हुने सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडानमा र २० गते सोमबार मध्यरातदेखि आन्तरिक उडानमा रोक लगाइएको हो ।

यसअघि आइतबारको यो मन्त्रिपरिषद्को बैठक सकिएपछि नेकपा एमालेका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले २२ गते रातिदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको जानकारी गराएका थिए । त्यसै दिन कृषि मन्त्री पद्मा कुमारीले भने भारतलगायतका अफ्रिका, ब्राजिल आदि केही देशका उडानमा मात्र प्रतिबन्ध लगाएको भनी जानकारी दिइन् । यो ठाउँमा एउटा विषय उडानका बारे तीन जना मन्त्रीका कुरा मिले तर प्रवक्तासम्मले दिएका जानकारी पछि झुटा साबित भयो ।

उड्डयनको नयाँ व्यवस्था गरिएको विषयले सरोकारवालाको ठूलो संख्या प्रभावित हुने भयो नै । साथै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यसले खैलाबैला मच्चायो । यी उडानहरूले अरु क्षेत्रमा पनि प्रभाव पार्ने हुन्छ । यतिबेलाको अवस्था कुनै पनि उडानमा सिट पाएर मात्र हुँदैन अरु मापदण्ड पनि पूरा गर्नुपर्छ । जस्तो ४८ घण्टाको पीसीआर रिपोर्ट । यस्तो रिपोर्ट जुनसुकै ठाउँमा गराएर पनि हुँदैन । तोकिएकै ठाउँ र तोकिएकै बेलाको चाहिन्छ  ।

अनुमान गरौँ उडानको २४ घण्टाको अन्तर प-यो भने यी सबै तारतम्य मिलाउन एउटा यात्रुले कस्तो हम्मे व्यहोर्नु प-यो होला तीन जना मन्त्रीले दिएको गलत जानकारीले ? २२ गते मध्यरात र २३ गते मध्यरात कुन हो भन्नेमा गलत सूचना प्रवाह गर्ने मन्त्रीहरूमा भने यस्तो गलत सूचना प्रवाह गरेकामा गल्तीको सामान्य बोध समेत भएको पाइएन । हेर्दा सानो कुरा लाग्ला तर यो शासकीय शैली वा शासन कसरी चलिरहेको छ भन्ने पछिल्लो पटकको यो उदाहरण उल्लेख्य छ । यस्ता कुरामा सरकार सच्चिनु जरुरी छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया