Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोनाभन्दा अस्पताल नपाउने अवस्था कठोर

कोरोनाभन्दा अस्पताल नपाउने अवस्था कठोर


काठमाडौं ।
देशमा यतिबेला कोरोनाको जस्तो विस्तार भइरहेको छ र उपचारमा रहेकाहरूका लागि जति कठोर छ त्योभन्दा कयौँ गुना बढी अव्यवस्थाको आतङ्क फैलिएको छ । यसको कारण हो सरकारको व्यवहार भरपर्दो नहुनु र यसप्रति संवेदनशील नरहनु । सरकारले कोरोनाका बारेमा धेरै झुट बोल्दै आएको छ विगतदेखि नै । गएको माघ १४ गते प्रधानमन्त्रीले तीन महिनाभित्र सबैलाई खोप दिइसक्ने घोषणा गरेका थिए । त्यो पूरा भएन । छिमेकी देश भारतले र चीनले दिएको अनुदानको खोपबाहेक सरकारले कतै नयाँ व्यवस्थापन गरेको देखिएन ।

प्रधानमन्त्रीले पछिल्लो सम्बोधनमा त्यो खोप निःशुल्क दिएको भनी आफूमाथि आफैँले गर्व गरे तर जनताले पत्याउन सकेनन् । तीन महिनाअघि गरिएको घोषणाअनुसार भएको थियो भने उनले सम्बोधन गरेको दिन सबै नागरिकले खोप लगाइसकेको एक हप्ता बितेको हुनेथियो तर तीन महिनामा थालनी मात्र भयो र दोस्रो चरणको खोप आउने/नआउने भन्ने अन्यौल रहेकै बेला खोप लगाउनेमा दक्षिण एसियाको पहिलो देश भनी परिचय गराए । त्यही क्रममा प्रधानमन्त्रीले एक हजार बेडको अस्पताल बनाउन सेनालाई निर्देशन दिएको पनि जानकारी गराए ।

खासगरी कोरोनापीडितहरूको लागि प्रधानमन्त्रीको यस्तो निर्देशन कागलाई बेल पाकेको जस्तो थियो । ती अस्पताल कहिले बन्ने र त्यसमा उपचार गरेर कहिले स्वास्थ्यलाभ गर्ने भन्ने कल्पनाको कुरा मात्र हुनेभयो । अहिलेसम्म उपचारको व्यवस्थापन बेहाल छ । अस्पतालको शय्या होइन अब त लास जलाउने ठाउँको समेत अभाव देखिएको छ ।

प्रधानमन्त्रीले उपचार नपाएर कसैले ज्यान त्याग्नुपर्ने अवस्था आउन दिइनेछैन भनी प्रतिबद्धता जनाएकै दिन देशमा आजसम्मको सबैभन्दा बढी, करिब ४० जना मान्छेको ज्यान गयो । यीमध्ये धेरै उपचारको अभावमा मृत्यको मुखमा पुग्न बाध्य भएका भन्ने समाचार आइरहे । प्रधानमन्त्रीले उपचारको ग्यारेण्टी गरेकै दिन धनुषामा एक कोरोना संक्रमित बिरामीको उपचार अभावले मृत्यु भएको हो । यो मृत्युको विवरण मृत्युभन्दा पनि दर्दनाक छ ।

यो घटना धनुषा जिल्लाको हो । पाँच दिनदेखि रुघाखोकी र ज्वरो लागेका बटेश्वर गाउँपालिका वडा नम्बर ४ मा बस्दै आएका ४५ वर्षीय लोकबहादुर परियारको उपचारको अभावमा ज्यान गयो । उनलाई जनकपुरको प्रादेशिक अस्पतालमा लग्दा भर्ना लिइएन । त्यही क्रम अन्य अस्पतालहरूमा पनि दोहोरियो । जहाँसुकै पनि पहिला पैसा नै डिपोजिट गर्नुपर्ने भनेपछि भर्नाका लागि समस्या आएको थियो । यो ठाउँमा ध्यान दिनुपर्ने कुरा के छ भने शय्याभन्दा पैसा ठूलो भयो बिरामीका लागि । पछि घरछेउको मेडिकलमा राखियो तर ढिलो भइसकेको रहेछ । उनको जीवन सकियो ।

यो घटनाका साक्षी छन् उनलाई धेरै अस्पताल घुमाउने एम्बुलेन्स चालक । उनका अनुसार त्यसदिन राति ८ बजे श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि जनकपुर लगिएको थियो । पहिले प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारको लागि पुग्दा बेड खाली नरहेको भन्दै फर्काइयो त्यहाँबाट जनकपुरको अन्य केही अस्पताल चहारिए । तर कतै भर्ना लिइएन र उनको मृत्यु अक्सिजनकै अभावमा भएको चिकित्सकको ठहर रह्यो ।

उल्लिखित प्रकृतिका यस्ता घटना एक दिनमा एक दर्जनजति आइरहेका हुन्छन् । प्रधानमन्त्री आफैँले कुनै एक दिनका समाचार पढे हुन्छ । त्यसकारण पनि आजको आतङ्क भनेको घरछेउमै अस्पताल भए पनि उपचार नपाउनु हो । आजसम्मको उदाहरण छ ठूलाबडा कसैले पनि अस्पतालमा बेड नभएर उपचार नपाएका भन्ने ? छैन र अर्कोतिर सर्वसाधारणले सहजै उपचार पाइरहेका भन्ने पनि छैन । यो अव्यवस्था सरकार भामषणमा मात्र सीमित रहेका कारण भएको हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया