Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअक्सिजनको अभाव नरसंहारजस्तो अपराध

अक्सिजनको अभाव नरसंहारजस्तो अपराध


काठमाडौं ।
कोरोना संक्रमितको उपचारमा पहिले पनि सबैभन्दा अभाव भएको विषय थियो साधन सम्पन्नता । एउटा त अस्पतालमा शय्या पाउन मुस्किल र दोस्रो पाइहाले पनि त्यसमा अक्सिजनको अभाव हुनु । श्वासप्रश्वासमा सहयोग गर्ने भेल्टिलेटरको उपलब्धता पनि त्यस्तै थियो ।

सम्झना रहोस् पहिलो चरणको कोरोनाकालभरि यी दुई कुरा उपलब्ध हुनसकेकोे थिएन । कोरोनाको प्रारम्भिक उपचार भनेको अक्सिजन नै हो । त्यही कुराको अभाव यो दोस्रो चरणको महामारीमा पनि देखियो ।

यतिबेला कोरोना संक्रमितको उपचारमा सबैभन्दा बढी अभाव भएको वस्तु पनि यही देखियो र त्यसकै अभावमा अधकांशले ज्यान गुमाएका विवरण आइरहेका छन् । त्यसो हो भने भन्नैपर्छ बितेको पूरै एक वर्ष खासगरी कोरोना संक्रमणको उपचारमा चाहिने आधारभूत वस्तुको जोहो नै हुनसकेन ।

करिब एक करोडको लागतमा एउटा ठूला अस्पताललाई पनि पर्याप्त हुनेगरी अक्सिजन उत्पादन गर्न सकिने कुरा अहिले चार्चामा छ । तर त्यति पनि गरिएन । त्यसकारण यो भनेको सरकारले गरेको एउटा अपराधको कोटीमा गणना हुने काम भनी विज्ञहरूले बताएका छन् ।

छिमेकी देश भारतको एउटा उच्च अदालतले त यस्तो वस्तु उपलब्ध नगराउनु जानाजान नरसंहारको अपराध गरेको भनी फैसला नै सुनायो यही वैशाख २१ मा । भारतको इलाहावाद उच्च अदालतले यसै हप्ता अस्पतालहरूमा अक्सिजनको आपूर्ति हुन नसकेर कोभिड–१९ का बिरामीको मृत्यु हुनुलाई नरसंहारभन्दा कम मान्न नसकिने भनी फैसला सुनायो । यसले पनि बताउँछ यो अक्सिजन भनेको के रहेछ भन्ने कुरा ।

सार्वजनिक भएका समाचार विवरणअनुसार इलाहावाद उच्च अदालतले अक्सिजनको आपूर्ति नभएका कारणले मात्रै अस्पतालहरूमा कोभिडका बिरामीको मृत्यु हुनुलाई आपराधिक कार्य भनी किटान नै ग-यो । त्यस्तो आपराधिक कार्य अक्सिजनको नियमित आपूर्ति गर्ने जिम्मेवारी पाएका निकायहरूद्वारा भएको भन्ने पनि त्यो अदालतको ठहर रह्यो । यसका दोषी को हुन् त ? यो अदालतको त्यो फैसलाले यसको पनि जवाफ दिएको छ । त्यसमा भनिएको छ– ‘अस्पतालहरूमा अक्सिजनको आपूर्ति नभएका कारणले कोभिड बिरामीको मृत्यु हुनुलाई आपराधिक कार्यका रूपमा लिनुपर्छ ।

यो ती पदाधिकारीका लागि नरसंहारभन्दा कम होइन, जसलाई अक्सिजनको खरिद र आपूर्ति शृङ्खला सुनिश्चित गर्ने जिम्मेवारी दिइएको थियो । विज्ञानको क्षेत्रमा यति धेरै विकास भएर मुटु प्रत्यारोपण र मस्तिष्कको सर्जरीजस्ता जटिल उपचार सम्भव भएको अहिलेको समयमा हामी हाम्रा जनतालाई यसरी मर्न दिन कसरी सक्छौँ ?’

छिमेकी देश भारत यतिबेला संक्रमणबाट संसारकै सबैभन्दा बढी मृत्यदर भएको देशमा परेको छ । संक्रमणको विस्तार भन्ने हो भने प्रति १० लाखमा भारतमा भन्दा नेपालमा बढी हुनथालेको छ । स्वाभाविक छ त्यसले मृत्युदर पनि बढाउला नै । मृत्युदर एक्कासि बढ्नुको कारण अक्सिजनको आपूर्ति नहुँदाको अवस्था हो ।

भारतमा त्यस्तो अवस्था छ भने भारतबाट नेपलमा आयात हुने वा भइरहेको अक्सिजनको आपूर्ति कस्तो होला ? यो आफ्नै देशमा र जुनसुकै अस्पतालले उत्पादन गर्नसकने वस्तु हो । यसको कच्चापदार्थ भनेको हावा र पानी हो जो नेपालमै छ । यसको कारखाना खोल्न पनि करिब एक करोड जति भए पुग्नेरहेछ ।

यहीँनेर हो सरकार व्यवस्थापनमा चुकेको । त्यसै कारण पनि होला जुन देशको होस् अदालतले यति व्यवस्था नगर्नु नरसंहारलाई निम्त्याइएको भनी ठहर गरेको । यो ठाउँमा जसले पनि भन्नुपर्छ यस्तो नरसंहार बन्द गर । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया