Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमहामारीबारे प्रधानमन्त्रीको झुटो दाबी

महामारीबारे प्रधानमन्त्रीको झुटो दाबी


काठमाडौं ।
देशमा यतिबेला कोरोनाको महामारी दिन दुई गुना र रात चौगुनाका दरले फैलिरहेको छ । यो पछिल्लो समय संसारभरिको नमूनाका रूपमा रहेको छिमेकी देश भारतको भन्दा बढी हो । भारतमा परीक्षण भएका सय जनामा २५ को दर कायम छ भने नेपालमा करिब ५० को दर बसेको छ ।

भारतमा २० लाखको परीक्षण हुँदा चार लाख संक्रमित देखिएका छन् भने नेपालमा २० हजारमा परीक्षण हुँदा १० हजार । योे १० हजारको संक्रमणदरमा नै मृत्युदर पनि ५० भन्दा माथि र ६० को केही तल मात्रै छ । आपत्तिको विषय के हो भने यो झनै बढ्दै गएको छ । वैशाख महिनामा मात्रै यो संख्या यसरी बढ्यो कि सरकारले उपचार गर्न नसक्ने भनेर वक्तव्य नै निकालेको अवस्था छ ।

जब सरकारले उपचार गर्न सक्तिनँ भनी वक्तव्य निकाल्छ भने अनुमान गरौँ स्थिति कस्तो होला ? कुनै पनि देशको सरकारले आफ्ना नागरिकको उपचारबाट यसरी हात उठाउनु भनेको सामान्य अवस्था हुँदै होइन । तर नेपालमा त्यही भयो ।

यस्तै बेला देशमा संक्रमितहरूलाई अत्यावश्यक हुने वस्तु अक्सिजनको अभाव छ । प्रत्येक दिन ५० भन्दा बढी संख्याको मुत्यु भइरहेको अवस्थामा यो संख्याको आधाभन्दा बढीको मृत्यु प्रत्येक दिन अक्सिजनको अभावबाट भइरहेको छ । अक्सिजन भनेको आफ्नै देशमा उत्पादन हुने कुरा हो । त्यही वस्तुको अभावले दिनहुँ यतिठूलो संख्याका मान्छेको मृत्यु भइरहेको अवस्थालाई सरकारले महसुस गरेन भनी गम्भीर आरोप लागिरहेको बेला देशका कार्यकारी प्रमुख प्रधानमन्त्रीले एउटा अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई दिएका झुटो जानकारीले नागरिकको झनै अपमान भएको छ ।

प्रधानमन्त्रीले यो पटकको कोरोना संक्रमणको दोषी सर्वसाधारण नै भएको भनी राज्य दायित्वबाट पन्छिन खोजेको संकेत गरेका छन्, जो सर्वत्र आलोच्य भइरहेको छ ।

यही शनिबार मात्रै अमेरिकी नेटवर्क टेलिभिजन न्यूज च्यानल सीएनएनलाई दिइएको अन्तरवार्तामा प्रधानमन्त्रीले ‘पहिलो लहरको संक्रमण लगभग नियन्त्रणमा आएपछि सर्वसाधारणले सावधानी नअपनाउँदा दोस्रो लहर आएको’ भन्ने दाबी साथै यो चरणको कोरोना कुनै महामारीका रूपमा नरहेको, सरकारको नियन्त्रणमा नै रहेको भन्ने पनि उनको भनाइ थियो । तर न यो संक्रमण जनताले ल्याएको हो न अहिले यो सरकारी नियन्त्रणमा छ । आम नेपालीले नै महसुस गरेको कुरा हो प्रधानमन्त्रीको यो दाबी झुटो हो भन्ने ।

त्यो अन्तरवार्तामा प्रधानमन्त्रीका शब्द यस्ता थिए– गएको वर्ष हामीले संक्रमण नियन्त्रणमा लिएका थियौँ, मृत्युदर शून्यमा आएको थियो, संक्रमण पनि दैनिक ५० को हाराहारीमा झरेको थियो, तर मानिसहरूले महामारी सकिएको ठाने, लापरबाही गरे, त्यसकारण महामारीको दोस्रो लहर आयो, हामीले अहिले अवस्थलाई नियन्त्रणामा नै राखेका छौँ । प्रधानमन्त्रीका यी दुवै दाबी वास्तवमा गलत हुन् । सरकारले यतिबेलाको संक्रमणको अवस्थालाई नियन्त्रणमा राखेको छैन । संक्रमण विस्तारको काम पनि सरकारले नै गराएको हो ।

केही पहिले प्रधानमन्त्री आफैँले सडक प्रदर्शनीको होड चलाएको अवस्थालाई सबैले त्यसको कारक मानेका थिए । यदि भनेजस्तै नियन्त्रणमा थियो भने एक हप्ताअघि मात्रै स्वास्थ्य मन्त्रालयले संक्रमण तीव्र गतिमा फैलिएको र स्वास्थ्य सेवाले थेग्नसक्ने अवस्था नरहेको भनी विज्ञप्ति नै निकालेको अवस्था आउने थिएन होला ।

त्यसपछिका अवस्था पनि हेरौँ, जसमा सरकार आफैँले भयावहताको वकालत गरिरहेको पाइन्छ । पछिल्लो समय त यसैकारण होला सरकारले अक्सिजन समेत आफ्नो नियन्त्रणमा लिएको अवस्था छ । यी सबैको अर्थ हो प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय माध्यममा बोलिएका कुरा झुटा हुन् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया