Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसरकार किन लुकाउँछ तथ्य विवरण ?

सरकार किन लुकाउँछ तथ्य विवरण ?


काठमाडौं ।
देशमा कोरोना महामारीको दोस्रो लहर चलेर ठूलो क्षति पु-याइसकेको छ । यसबाट सुरक्षित रहनका लागि सतर्कताको पहिलो सर्त थियो, सकेसम्म बढीभन्दा बढीको परीक्षण गर्नु । सतर्क हुने संसारभरिको यो पहिलो सूत्र अहिले पनि प्रभावी छ । तर नेपालमा यस्तो परीक्षणक्षमताको चार भागको एक भाग पनि उपयोग नगरेको बताउँछन् विज्ञहरू ।

देशमा पुगनपुग ६० हजारको हाराहारीमा दैनिक परीक्षण गर्ने क्षमता छ । यस्तो क्षमतावृद्धिलाई प्रधानमन्त्रीले पटक–पटक आफ्नो कामको प्रगतिका रूपमा प्रस्तुत गरिरहेको अवस्था छ । तर यता परीक्षणको संख्या भने सरदरमा १५ देखि २० हजारको छेउछाउमै छ । यो परीक्षणले नै प्रतिदुई जनामा एक जना संक्रमित देखाउँदै आएको छ । यसले पनि बताउँछ जति बढी परीक्षण भयो त्यसले संक्रमितसँगको घुलमिल पनि घटाउँछ । त्यसकारण पनि परीक्षणको दर बढाउन भनिएको हो ।

सरकारी प्रयास भने यता केही दिन कुनै पनि रेकर्ड हुने खालको काम भएको देखिएन । संक्रमणको धेरै वृद्धि देखिन थालेको वैशाखबाट हो भन्ने मान्ने हो भने वृद्धिदरको क्रम निरन्तर रहेको महिनादिन बित्दै छ । झन् पछिल्ला दिन हाहाकार बढिरहेको छ । यसमा कतिपय व्यवस्थापकीय कुरा पनि छन् ।

यसमा कताकता सरकार तथ्यांक लुकाएर संक्रमणलाई कम आक्न थालेको पनि देखियो । पछिल्लो समय होम आइसोलेसनमा ज्यान गुमाएकाहरूको संख्या दिनहुँ बढिरहेको छ । सरकार होम आइसोलेसनमा बस्न प्रोत्साहन गर्छ । एकप्रकारले यो राम्रो पनि हो ।

अस्पतालका सैयाहरू आवश्यकता पर्नेहरूका लागि पुग्छन् भन्ने मान्यताबाट पनि होम आइसोलेसनको अवधारणा अघि आएको हुनुपर्छ । तर सवाल हो त्यसको पनि सरकारले व्यवस्थापन गर्न सक्नुपर्छ । आफ्नै घरमा बसेकाहरूले कम्तीमा टेलिफोनबाट मात्र भए पनि आवश्यक परेका बेला परामर्श पाउने हो भने धेरै ठूलो राहत मिल्छ । तर सरकारले घरमा बस्नेहरूलाई अक्सिजन समेत नदिने भयो ।

आफ्नो घरमा बस्दा ज्यान गुमाएकाहरूको त लास समेत उठ्न छाडेका भन्ने समाचार आइरहेका छन् । कोरोना संक्रमितको शव व्यवस्थापन गरिरहेको नेपाली सेनाका अनुसार पछिल्लो पाँच दिनमा मात्र काठमाडौँ उपत्यकामा १८ जनाले होम आइसोलेसनमा ज्यान गुमाए । शनिबार एकै दिन छ जनाले ज्यान गुमाएका विवरण आएको छ ।

यो भनेको धेरै जोखिमको अवस्था हो । मृतककै कुरा गर्ने हो भने सरकार यो ठाउँमा पनि या विवरण छोप्दै छ या जानकारी लिइरहेको छैन भन्ने देखाउँछ । लासको व्यवस्थापन गर्ने नेपाली सेना र सरकारले दिएका मृतकका संख्याको गणनामा धेरै अन्तर छ ।

अवस्था कस्तो भने होम आइसोलेसनमा ज्यान गुमाउनेका लास उठ्न नसकेकातिर सरकारको ध्यानै नगएको गुनासो छ । अर्कोतर्फ मृतकको तथ्यांक कस्तो छ भने सरकार जुन दिन देशभर ५३ जनाको ज्यान गएको भनिरहेको छ नेपाली सेनाले त्यसैदिन उपत्यकामै ७६ जनाको लासको व्यवस्थापन गरेको बताइरहेको छ । कहाँ उपत्यकामा ७६ जना र कहाँ देशभरि ५३ जना ।

यो यही शनिबारको कुरा हो । सरकारले भनेअनुसार जे–जति भए पनि मानिसको जीवनको क्षति कम देखिएको अवस्था एकप्रकारले राम्रो हो । त्यो पनि सत्य हुनुपर्छ । यो महामारी हो । संक्रमित र मृतकको सख्या लुकाएर वा कम परीक्षण गरेर, कम संख्या निकालेर महामारीको विस्तारलाई रोक्न खोज्नु झन् ठूलो मूर्खता हुन्छ । ध्यान जाओस् । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया